विनाशकारी भूकम्पपछि नेपालको बौद्धिक समाजमा नयाँ बहस सुरु भएको छ, नेपाललाई अब पुनःनिर्माण गर्नुपर्छ भन्दै । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा र दोलखाआदिलाई बढी प्रभाव पारेको छ । यी जिल्लामा नौ हजारको हराहारीमा मानिसको मृत्यु भएको छ । बाइस हजारभन्दा बढी घाइते भएका छन् । लगभग पाँच लाख घर ध्वस्त भएका छन् । हजारौंको संख्यामा बस्तुभाउको मारिएका छन् । नेपाल सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट राहत, उद्धार, पुनःस्थापना, पुनःनिर्माणका कार्य अगाडि बढिरहेका छन् । भूकम्प प्राकृतिक भए पनि क्षति सामाजिक हुन्छ । भूकम्पले सबैलाई उही स्तरमा हल्लायो तर क्षति मानवीय क्षमता, संकट अभिमुखता र जोखिमअनुसारको भयो । घर भत्कियो तर वर्ग भत्केन । बस्ती भत्कियो तर जात भत्केन । मान्छेको मृत्यु भयो तर सामाजिक सम्बन्धलाई हेर्ने दृष्टिकोणमा रुपान्तरण भएन । भूकम्पपछिको राहत तथा उद्धार कार्यमा जातिवादी गन्ध देखिएको कुरा विभिन्न समाचारबाट पुष्टि हुन्छ । भूकम्पले मानिसको भौतिक संरचनालाई मात्र भत्कायो तर मानवीय सम्बन्ध, जातिवादी ...