भूकम्पपछि जातिवादी समाजकै पुनःनिर्माण गर्ने हो र ?

विनाशकारी भूकम्पपछि नेपालको बौद्धिक समाजमा नयाँ बहस सुरु भएको छ, नेपाललाई अब पुनःनिर्माण गर्नुपर्छ भन्दै । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा र दोलखाआदिलाई बढी प्रभाव पारेको छ । यी जिल्लामा नौ हजारको हराहारीमा मानिसको मृत्यु भएको छ । बाइस हजारभन्दा बढी घाइते भएका छन् । लगभग पाँच लाख घर ध्वस्त भएका छन् । हजारौंको संख्यामा बस्तुभाउको मारिएका छन् । नेपाल सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट राहत, उद्धार, पुनःस्थापना, पुनःनिर्माणका कार्य अगाडि बढिरहेका छन् ।
भूकम्प प्राकृतिक भए पनि क्षति सामाजिक हुन्छ । भूकम्पले सबैलाई उही स्तरमा हल्लायो तर क्षति मानवीय क्षमता, संकट अभिमुखता र जोखिमअनुसारको भयो । घर भत्कियो तर वर्ग भत्केन । बस्ती भत्कियो तर जात भत्केन । मान्छेको मृत्यु भयो तर सामाजिक सम्बन्धलाई हेर्ने दृष्टिकोणमा रुपान्तरण भएन । भूकम्पपछिको राहत तथा उद्धार कार्यमा जातिवादी गन्ध देखिएको कुरा विभिन्न समाचारबाट पुष्टि हुन्छ । भूकम्पले मानिसको भौतिक संरचनालाई मात्र भत्कायो तर मानवीय सम्बन्ध, जातिवादी सोच र चिन्तनलाई भत्काउन सकेन । जातिवादी सोच र चिन्तन मानवनिर्मित भएकाले मानवकै सचेत प्रयासबाट मात्र सम्भव उन्मूलन छ, भूकम्पबाट सम्भव हुँदैन । यसको लागि भूकम्प आइराख्नु पर्दैन । 
पुनःनिर्माण भनेको के हो ? यसले सामाजिक सम्बन्धहरुलाई लोकतन्त्रीकरण गर्छ कि गर्दैन ? जात वा जन्मको आधारमा निर्माण हुने सामाजिक स्थान वा हैसियतलाई रुपान्तरण गर्छ कि गर्दैन ?
सत्य के हो भने जातिवादी सोच, उचनीचको भावना, शुद्ध अशुद्धको भावनाआदिको कारण बहुसंख्यक समुदाय सीमान्त हुन बाध्य छन् । मानवअधिकारबाट बञ्चित हुन विवश छन् । भूमिहीन हुन बाध्य छन् । अन्ततः सबभन्दा बढी जोखिममा जीवन बाच्न बाध्य छन् । भूकम्पलगायतको प्रकोपको असर पनि तिनै समुदायलाई बढी हुन्छ जो सीमान्तमा छन् । भूकम्प आफैमा प्राकृतिक भए पनि असर राजनीतिक आर्थिक र सांस्कृतिक हुन्छ । भूकम्पको प्राकृतिक पक्षलाई हेरेर दृष्टिकोण निर्माण गर्ने कि असरलाई हेरेर पुनःनिर्माणको दृष्टिकोण निर्माण गर्ने ? केन्द्रीय प्रश्न यही हो ।
pal-11
नेपाली समाजको सामाजिक बनौट जातिवादी छ । जातिवादले केवल जातीयता पाल्दैन उचनीचको भावना पनि पाल्छ । लोक भावनालाई गला निमोठ्छ । लोक विचारलाई निरुत्साहित गर्छ ।
भूकम्पको असर समुदायपिच्छे फरक भएकाले पुनःनिर्माणको कार्य पनि सोही बमोजिम हुनुपर्छ । समाजमा हुने घटना परिघटनाबाट सिकाइ हासिल गरी अगाडीको बाटो तय गर्नुपर्छ । तर घटनाबाट सिक्नको लागि बौद्धिकताको निस्पक्षता अनिवार्य हुन्छ । सिकाइलाई केवल वैशाख १२ गतेको प्राविधिक घटनालाई मात्र आधार बनाएर पुनःनिर्माणको बाटो तय गर्न सकिँदैन । सिकाइलाई समाजको ऐतिहासिक विकासक्रमसँग जोड्नुपर्छ । आज गर्ने पुनःनिर्माण हिजोको भन्दा के मानेमा पृथक वा फरक हो ?
मानिस र उनीहरुको समुदायलाई सामाजिक संरचनाले सीमान्त बनाएको छ । पितृसत्तावादी सोचले महिलालाई अनागरिक बनाएको छ । जातिवादी सोच र चिन्तनले दलितहरुलाई किनारीकरण गरेका छन्, अमानुष बनाएका छन् । महिला, दलित, अतिसीमान्तकृत आदिवासी जनजातिको अवस्था तुलनात्मक रुपमा हिजो पनि नाजुक थियो र भूकम्पपछि झन् नाजुक र दयनीय बनेको छ । यस्तो अवस्थामा गरिने पुनःनिर्माणका लागि कस्तो ज्ञान र बौद्धिकता चाहिन्छ ? 
महिला, दलित, अतिसीमान्तकृत आदिवासी जनजातिको अवस्था तुलनात्मक रुपमा हिजो पनि नाजुक थियो र भूकम्पपछि झन् नाजुक र दयनीय बनेको छ । यस्तो अवस्थामा गरिने पुनःनिर्माणका लागि कस्तो ज्ञान र बौद्धिकता चाहिन्छ ?
पुनःनिर्माण भनेको के हो ? यसले सामाजिक सम्बन्धहरुलाई लोकतन्त्रीकरण गर्छ कि गर्दैन ? जात वा जन्मको आधारमा निर्माण हुने सामाजिक स्थान वा हैसियतलाई रुपान्तरण गर्छ कि गर्दैन ? सम्बन्धहरुलाई मानवीयकरण गर्छ कि गर्दैन ? समाजमा स्थापित रहेका शक्ति सम्बन्धहरुलाई रुपान्तरण गर्छ कि गर्दैन ? यस्ता प्रश्नको उत्तर खोज्नु जरुरी छ ।
प्रकोप र विकास एक अर्कामा अन्तरसम्बन्धित छ । प्रकोपले नवनिर्माणका लागि अवसर प्रदान गर्छ । समाजलाई नयाँ ढङ्गबाट पुनःनिर्माण गर्न अवसर त प्रदान गर्छ तर त्यसका लागि राष्ट्रिय संकल्पको आवश्यकता हुन्छ । राष्ट्रिय एकताको जरुरत हुन्छ । यहाँ राष्ट्रिय एकता कसरी हुन्छ, जहाँ जन्मिँदै विभेद हुन्छ, छुट्टै छिमेकको निर्माण हुन्छ, छुट्टै मनोविज्ञानको निर्माण हुन्छ ? यहाँ सुरुदेखि नै सामाजिक अलगावपन सिर्जना गरिन्छ । आफ्ना र पराया भन्ने सोचले जरा गाडेका छन् । आफ्नो जातमात्रै आफ्नो, श्रेष्ठ र उन्नत अरु त पराया, कमसल र खत्तम भन्ने संस्कृति छ । आफ्नो छोरा मात्र राम्रो अरुको छोरा बदमास ।
यस्तो मनोविज्ञान कुन शिक्षाले निर्माण गर्‍यो ? घरको शिक्षाले गर्‍यो कि स्कुलको शिक्षाले ? ज्ञान वा शिक्षाले मनुष्यलाई अन्यायबाट, विभेदबाट, अत्याचारबाट मूक्त गर्नुपर्ने हो तर किन गरेन ? शिक्षाले मनुष्यलाई स्वतन्त्र बनाउनुको सट्टा दास पो बनाइरहेका छन् । यसरी दास बनाउने शिक्षा प्रणालीमा ज्ञानको निस्पक्षताको आशा कसरी गर्ने ? ज्ञानको निस्पक्षता नभएको समाजमा सामाजिक रुपान्तरणसहितको पुनःनिर्माण कसरी सम्भव हुन्छ ?
दलितको राजनीतिक, सामाजिक तथा आर्थिक हैसियत गैरदलितको भन्दा कमजोर छ । महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक हैसियत पुरुषको तुलनामा कमजोर छ । गाउँको बनोट पनि जातिवादी छ । शासक जातिको बसोवास बाटोको छेउमा हुनु तर सीमान्तको बसोवास भीरपाखामा हुनुले मात्रै पनि राहत र उद्धारमा फरक पर्छ भन्ने कुरा यही भूकम्पले सिकाइसकेको छ । शक्ति र निर्णय गर्ने ठाउँमा एकल समुदायको वर्चस्व हुँदा आफ्नोलाई बढी माया गर्नु जातिवादी दृष्टिकोणले स्वाभाविक नै हो ।
हिन्दु समाजको मान्यताले मनुष्यलाई मानवतावादी हुनु भन्दा जातिवादी हुनु राम्रो ठान्छ । विद्धताको ठेक्का शासक जातिमा मात्रै सीमित हुन्छ । हिन्दु समाजमा श्रेष्ठताको निर्धारण अप्राकृतिक छ । जन्मिँदै श्रेष्ठ हुने, ज्ञानी हुने कुरा आज पनि कायम छ । हिन्दु समाजका बौद्धिकहरुमा ज्ञानको निस्पक्षताको खडेरी नै छ ।
आज पनि एक प्रसिद्ध नजिर कायमै छ कि हिन्दु समाजमा एक जना पनि वोल्टेयरको स्थान ग्रहण गर्न सकेन जसले बौद्धिकताको निस्पक्षता देखायो । वोल्टेयरले आफ्नै केथोलिक सिद्धान्तको विरुद्धमा विद्रोह ग¥यो, जुन विचारबाट पालनपोषण भएको थियो । उनीहरुमा पंडिताउपन हुन्छ बुद्धि हुँदैन । प्रत्येकले आफ्नो जातिको श्रेष्ठता कायम राख्न चाहन्छ । जातिवादी समाजमा आचरणको स्वतन्त्रता हुँदैन बरु ब्राह्मणद्वारा लादिएको आदेश पालन गर्ने विधान हुन्छ । यहाँ विचारको कुनै स्थान हुँदैन बरु आदेशको पालन गर्नु नै उपदेश हो । जुन संहिता बनेको छ, त्यो पथ्थरको लकिर नै हो ।
यस अर्थमा भूकम्पपश्चात बहसमा आएको पुनःनिर्माण सामाजिक रुपान्तरणको दिशामा अगाडि बढ्नुपर्छ । त्यसका लागि बुद्धिजीवीको मस्तिष्कले मात्र सम्भव हुँदैन किनभने बुद्धिजीवीले लक्षणमा आधारित ज्ञान निर्माणको कार्य गर्छ । साँचो अर्थमा सामाजिक रुपान्तरण वा सुधारसहितको पुनःनिर्माणको एजेण्डालाई अगुवाइ बौद्धिकले मात्र गर्न सक्छ । तर विडम्बनाको कुरा, जातिवादी समाजमा बौद्धिक भेट्टाउन असम्भव त होइन तर गाह्रोचाहिँ छ ।
Rajkishor Rajak
Rights Activist

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार