भूकम्पपछि जातिवादी समाजकै पुनःनिर्माण गर्ने हो र ?

विनाशकारी भूकम्पपछि नेपालको बौद्धिक समाजमा नयाँ बहस सुरु भएको छ, नेपाललाई अब पुनःनिर्माण गर्नुपर्छ भन्दै । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा र दोलखाआदिलाई बढी प्रभाव पारेको छ । यी जिल्लामा नौ हजारको हराहारीमा मानिसको मृत्यु भएको छ । बाइस हजारभन्दा बढी घाइते भएका छन् । लगभग पाँच लाख घर ध्वस्त भएका छन् । हजारौंको संख्यामा बस्तुभाउको मारिएका छन् । नेपाल सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट राहत, उद्धार, पुनःस्थापना, पुनःनिर्माणका कार्य अगाडि बढिरहेका छन् ।
भूकम्प प्राकृतिक भए पनि क्षति सामाजिक हुन्छ । भूकम्पले सबैलाई उही स्तरमा हल्लायो तर क्षति मानवीय क्षमता, संकट अभिमुखता र जोखिमअनुसारको भयो । घर भत्कियो तर वर्ग भत्केन । बस्ती भत्कियो तर जात भत्केन । मान्छेको मृत्यु भयो तर सामाजिक सम्बन्धलाई हेर्ने दृष्टिकोणमा रुपान्तरण भएन । भूकम्पपछिको राहत तथा उद्धार कार्यमा जातिवादी गन्ध देखिएको कुरा विभिन्न समाचारबाट पुष्टि हुन्छ । भूकम्पले मानिसको भौतिक संरचनालाई मात्र भत्कायो तर मानवीय सम्बन्ध, जातिवादी सोच र चिन्तनलाई भत्काउन सकेन । जातिवादी सोच र चिन्तन मानवनिर्मित भएकाले मानवकै सचेत प्रयासबाट मात्र सम्भव उन्मूलन छ, भूकम्पबाट सम्भव हुँदैन । यसको लागि भूकम्प आइराख्नु पर्दैन । 
पुनःनिर्माण भनेको के हो ? यसले सामाजिक सम्बन्धहरुलाई लोकतन्त्रीकरण गर्छ कि गर्दैन ? जात वा जन्मको आधारमा निर्माण हुने सामाजिक स्थान वा हैसियतलाई रुपान्तरण गर्छ कि गर्दैन ?
सत्य के हो भने जातिवादी सोच, उचनीचको भावना, शुद्ध अशुद्धको भावनाआदिको कारण बहुसंख्यक समुदाय सीमान्त हुन बाध्य छन् । मानवअधिकारबाट बञ्चित हुन विवश छन् । भूमिहीन हुन बाध्य छन् । अन्ततः सबभन्दा बढी जोखिममा जीवन बाच्न बाध्य छन् । भूकम्पलगायतको प्रकोपको असर पनि तिनै समुदायलाई बढी हुन्छ जो सीमान्तमा छन् । भूकम्प आफैमा प्राकृतिक भए पनि असर राजनीतिक आर्थिक र सांस्कृतिक हुन्छ । भूकम्पको प्राकृतिक पक्षलाई हेरेर दृष्टिकोण निर्माण गर्ने कि असरलाई हेरेर पुनःनिर्माणको दृष्टिकोण निर्माण गर्ने ? केन्द्रीय प्रश्न यही हो ।
pal-11
नेपाली समाजको सामाजिक बनौट जातिवादी छ । जातिवादले केवल जातीयता पाल्दैन उचनीचको भावना पनि पाल्छ । लोक भावनालाई गला निमोठ्छ । लोक विचारलाई निरुत्साहित गर्छ ।
भूकम्पको असर समुदायपिच्छे फरक भएकाले पुनःनिर्माणको कार्य पनि सोही बमोजिम हुनुपर्छ । समाजमा हुने घटना परिघटनाबाट सिकाइ हासिल गरी अगाडीको बाटो तय गर्नुपर्छ । तर घटनाबाट सिक्नको लागि बौद्धिकताको निस्पक्षता अनिवार्य हुन्छ । सिकाइलाई केवल वैशाख १२ गतेको प्राविधिक घटनालाई मात्र आधार बनाएर पुनःनिर्माणको बाटो तय गर्न सकिँदैन । सिकाइलाई समाजको ऐतिहासिक विकासक्रमसँग जोड्नुपर्छ । आज गर्ने पुनःनिर्माण हिजोको भन्दा के मानेमा पृथक वा फरक हो ?
मानिस र उनीहरुको समुदायलाई सामाजिक संरचनाले सीमान्त बनाएको छ । पितृसत्तावादी सोचले महिलालाई अनागरिक बनाएको छ । जातिवादी सोच र चिन्तनले दलितहरुलाई किनारीकरण गरेका छन्, अमानुष बनाएका छन् । महिला, दलित, अतिसीमान्तकृत आदिवासी जनजातिको अवस्था तुलनात्मक रुपमा हिजो पनि नाजुक थियो र भूकम्पपछि झन् नाजुक र दयनीय बनेको छ । यस्तो अवस्थामा गरिने पुनःनिर्माणका लागि कस्तो ज्ञान र बौद्धिकता चाहिन्छ ? 
महिला, दलित, अतिसीमान्तकृत आदिवासी जनजातिको अवस्था तुलनात्मक रुपमा हिजो पनि नाजुक थियो र भूकम्पपछि झन् नाजुक र दयनीय बनेको छ । यस्तो अवस्थामा गरिने पुनःनिर्माणका लागि कस्तो ज्ञान र बौद्धिकता चाहिन्छ ?
पुनःनिर्माण भनेको के हो ? यसले सामाजिक सम्बन्धहरुलाई लोकतन्त्रीकरण गर्छ कि गर्दैन ? जात वा जन्मको आधारमा निर्माण हुने सामाजिक स्थान वा हैसियतलाई रुपान्तरण गर्छ कि गर्दैन ? सम्बन्धहरुलाई मानवीयकरण गर्छ कि गर्दैन ? समाजमा स्थापित रहेका शक्ति सम्बन्धहरुलाई रुपान्तरण गर्छ कि गर्दैन ? यस्ता प्रश्नको उत्तर खोज्नु जरुरी छ ।
प्रकोप र विकास एक अर्कामा अन्तरसम्बन्धित छ । प्रकोपले नवनिर्माणका लागि अवसर प्रदान गर्छ । समाजलाई नयाँ ढङ्गबाट पुनःनिर्माण गर्न अवसर त प्रदान गर्छ तर त्यसका लागि राष्ट्रिय संकल्पको आवश्यकता हुन्छ । राष्ट्रिय एकताको जरुरत हुन्छ । यहाँ राष्ट्रिय एकता कसरी हुन्छ, जहाँ जन्मिँदै विभेद हुन्छ, छुट्टै छिमेकको निर्माण हुन्छ, छुट्टै मनोविज्ञानको निर्माण हुन्छ ? यहाँ सुरुदेखि नै सामाजिक अलगावपन सिर्जना गरिन्छ । आफ्ना र पराया भन्ने सोचले जरा गाडेका छन् । आफ्नो जातमात्रै आफ्नो, श्रेष्ठ र उन्नत अरु त पराया, कमसल र खत्तम भन्ने संस्कृति छ । आफ्नो छोरा मात्र राम्रो अरुको छोरा बदमास ।
यस्तो मनोविज्ञान कुन शिक्षाले निर्माण गर्‍यो ? घरको शिक्षाले गर्‍यो कि स्कुलको शिक्षाले ? ज्ञान वा शिक्षाले मनुष्यलाई अन्यायबाट, विभेदबाट, अत्याचारबाट मूक्त गर्नुपर्ने हो तर किन गरेन ? शिक्षाले मनुष्यलाई स्वतन्त्र बनाउनुको सट्टा दास पो बनाइरहेका छन् । यसरी दास बनाउने शिक्षा प्रणालीमा ज्ञानको निस्पक्षताको आशा कसरी गर्ने ? ज्ञानको निस्पक्षता नभएको समाजमा सामाजिक रुपान्तरणसहितको पुनःनिर्माण कसरी सम्भव हुन्छ ?
दलितको राजनीतिक, सामाजिक तथा आर्थिक हैसियत गैरदलितको भन्दा कमजोर छ । महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक हैसियत पुरुषको तुलनामा कमजोर छ । गाउँको बनोट पनि जातिवादी छ । शासक जातिको बसोवास बाटोको छेउमा हुनु तर सीमान्तको बसोवास भीरपाखामा हुनुले मात्रै पनि राहत र उद्धारमा फरक पर्छ भन्ने कुरा यही भूकम्पले सिकाइसकेको छ । शक्ति र निर्णय गर्ने ठाउँमा एकल समुदायको वर्चस्व हुँदा आफ्नोलाई बढी माया गर्नु जातिवादी दृष्टिकोणले स्वाभाविक नै हो ।
हिन्दु समाजको मान्यताले मनुष्यलाई मानवतावादी हुनु भन्दा जातिवादी हुनु राम्रो ठान्छ । विद्धताको ठेक्का शासक जातिमा मात्रै सीमित हुन्छ । हिन्दु समाजमा श्रेष्ठताको निर्धारण अप्राकृतिक छ । जन्मिँदै श्रेष्ठ हुने, ज्ञानी हुने कुरा आज पनि कायम छ । हिन्दु समाजका बौद्धिकहरुमा ज्ञानको निस्पक्षताको खडेरी नै छ ।
आज पनि एक प्रसिद्ध नजिर कायमै छ कि हिन्दु समाजमा एक जना पनि वोल्टेयरको स्थान ग्रहण गर्न सकेन जसले बौद्धिकताको निस्पक्षता देखायो । वोल्टेयरले आफ्नै केथोलिक सिद्धान्तको विरुद्धमा विद्रोह ग¥यो, जुन विचारबाट पालनपोषण भएको थियो । उनीहरुमा पंडिताउपन हुन्छ बुद्धि हुँदैन । प्रत्येकले आफ्नो जातिको श्रेष्ठता कायम राख्न चाहन्छ । जातिवादी समाजमा आचरणको स्वतन्त्रता हुँदैन बरु ब्राह्मणद्वारा लादिएको आदेश पालन गर्ने विधान हुन्छ । यहाँ विचारको कुनै स्थान हुँदैन बरु आदेशको पालन गर्नु नै उपदेश हो । जुन संहिता बनेको छ, त्यो पथ्थरको लकिर नै हो ।
यस अर्थमा भूकम्पपश्चात बहसमा आएको पुनःनिर्माण सामाजिक रुपान्तरणको दिशामा अगाडि बढ्नुपर्छ । त्यसका लागि बुद्धिजीवीको मस्तिष्कले मात्र सम्भव हुँदैन किनभने बुद्धिजीवीले लक्षणमा आधारित ज्ञान निर्माणको कार्य गर्छ । साँचो अर्थमा सामाजिक रुपान्तरण वा सुधारसहितको पुनःनिर्माणको एजेण्डालाई अगुवाइ बौद्धिकले मात्र गर्न सक्छ । तर विडम्बनाको कुरा, जातिवादी समाजमा बौद्धिक भेट्टाउन असम्भव त होइन तर गाह्रोचाहिँ छ ।
Rajkishor Rajak
Rights Activist

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।