कमलु सदाले मागेको भूमि

राजेन्द्र महर्जन

ए मेरो देशवासीहरू हो/ए मेरो देशका राष्ट्र–कविहरू हो/ए मेरा देशका सम्माननीय नेताहरू हो/भन्न मन लाग्छ भने भन मलाई/स्वदेश निन्दक वा घृणा चिन्तक/तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो/अंशबन्डा गर्ने हो भने पनि यो देशका एक करोड/टुक्राहरूमध्ये एउटा टुक्रामाथि/मेरो पनि छाप्रो हुनेछ । –भूपी शेरचन
साउन ३१ गते ‘कान्तिपुर’को मुखपृष्ठमा छापिएका थिए, कम्बल ओढाइएका मृत बालक कमलु सदालाई कोशीमा बगाइएका हृदयविदारक चार तस्बिर । फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका तस्बिरसँगै ‘बाढीले मृत्यु, बाढीमै सद्गत’को मुख्य समाचार छापिएको थियो । मनै हल्लाउने शब्द र शब्दलाई समेत माथ गर्ने मार्मिक तस्बिर एकाएक भाइरल भयो । कोशीमा बगाइएका कमलु सदाको तस्बिर २०७४ सालको संहारकारी बाढी–पहिरोको प्रतीकको रूपमा स्थापित भयो । सदाका काका देवकुमार सदाको भाषामा भन्दा त्यसको मुख्य सन्देश थियो, ‘निमुखालाई सरकारले त हेर्दैन–हेर्दैन, भगवानले समेत नहेर्दा रहेछन् ।’
देवकुमार सदा र अधिकांश मुसहरको नजरमा भूमि र सबै स्रोत, साधन, सम्पत्तिमाथि छोटेबडे सरकारको प्रभुत्व छ । उनीहरूका आस्था, विश्वास, पूजा–अर्चना र धर्ममाथि ‘भगवान’को एकाधिकार छ । उनीहरूको जीवनको त कुरै छाडौँ, जन्म र मृत्युमाथि समेत आफ्नो अधिकार छैन, कहिले सरकारले खोस्छ त कहिले ‘भगवान’ले । यस्तै बुझाइसाथ बाँचिरहेका मुसहरहरूका लागि बाढीका कारण मोहभंग भएको हुनसक्छ । बालबालिका मरेपछि गाड्ने प्रचलन भएकोमा बाढीको प्रकोपबीच एक बच्चालाई एक टुक्रा जमिनसमेत नपाएपछि ‘माथिको सरकार’सँग पनि विश्वास भंग भएको हुनसक्छ ।
फुदन सदाका ५ वर्षीय छोरा कमलु सदाजस्ता मरेका बालबालिकालाई गाड्ने जमिनसमेत नपाइएको विषयमा दुइटा भाष्य देखिएको छ । एक, बाढीका कारण जमिन ओभानो नै नभएकाले गाड्ने ठाउँको अभाव भएको । दुई, बाढी पीडितलाई सरकारले मात्रै होइन, ‘भगवान’ले नहेर्ने भएकाले निमुखाहरूको दु:ख बढेको । निमुखाहरूको मन राख्न बनाइएको ‘भगवान’ले नहेर्नु अनौठो होइन, ‘भगवान’जस्तै बनाइएको सरकार पनि निमुखाहरूप्रति जवाफदेही हुने कुनै संकेत छैन । गाडीजस्तै सरकार फेर्ने ठूला दलहरूले नयाँ संविधानमा भूमिहीन दलितका लागि एकपटक जग्गा उपलब्ध गराउने वाचा गरेका त छन्, तर ‘कानुन बनाएर’ भन्ने सर्तसहित । कानुन कसले कसरी कहिले बनाउँछ, भूमिपतिहरूको बर्चस्व रहेका राजनीतिक दल र तिनकै प्रभावमा रहेका दलका पतिहरूलाई राम्ररी थाहा छ ।
भूमि अधिकारबारे संविधान र कानुनको मायाजालबाट मुक्त भएर तल भुइँमा हेरियो भने भाष्य होइन, सत्य–तथ्य देखिन्छ । सन् २०१०/११ को जीवनस्तर सर्वेक्षण अनुसार २१ प्रतिशत नेपाली भूमिहीन छन् । साढे दुई दशक अघिको तथ्यांक अनुसार ५.१ प्रतिशत धनाढ्य किसानको हातमा २३ प्रतिशत जमिन थियो भने ५५ प्रतिशत किसानको नाममा १९ प्रतिशतमात्रै भूमि थियो । तराईको अवस्था हेरियो भने सय जनामा ७४ जना खेतीपातीमा संलग्न छन्, तर उनीहरूमध्ये ४ जनासँग एकटुक्रा पनि जमिन छैन । तथ्यांकशास्त्रीय भाषामा तराईमा कृषिमा संलग्न ७४.१ प्रतिशत मानिसमध्ये ४.१ प्रतिशतसँग आफ्नो नाममा जमिन छैन । २००६ को रिपोर्टमा सप्तरी, सिरहा र धनुषामा ६० हजार घरपरिवार र ३ लाख हरूवा–चरुवा रहेको देखिन्छ । जमिनमाथि स्वामित्व र स्वामित्वहीनताको तथ्यांक–जञ्जालमा मुसहरहरूचाहिँ कतै पुछारमै अड्किएको पाइन्छ, अन्य मधेसी दलितजस्तै । त्यसैले ‘मुसहर अफ नेपाल’मा एक मुसहर प्रश्न गर्छन्, ‘हामी मुसहरलाई कसले दिन्छ, जमिन र घर ? ...हामी सपनाविहीन, भविष्यविहीन र विगतविहीन छौँ ।’ 
मुसहर लगायत अधिकांश मधेसी दलितसँग भूमिको नाममा दुईहाते जग्गा पनि नहुने तितो सत्य जगजाहेर छ । पूर्वी नेपालको तराई भूभागमा मुसहरलाई तराईको भूमिमाथि रजाइँ गर्ने मधेसी र पहाडी भूमिपतिका ‘हली’का पर्याय बनाइएको छ । अन्यत्र कमैया भनेकै थारु भनेझैँ हलिया भनेकै दलित भनेझैँ, मुसहरहरूको सामाजिक पहिचान नै हली र हरूवा–चरुवा बनाइएको छ । उनीहरूको भागमा अरूका खेतमा काम गर्ने अधिकारमात्रै हुन्छ, उनीहरूको नाममा खेत वा भूमि हुँदैन । कवि आहुतिको भाषामा उनीहरू भूमिपतिहरूका गोरूसँगै माटोमा पौडिने हली हुन् । मधेसीमध्ये भूमि, खेतीपाती र त्यससँग जोडिएको श्रममा सबैभन्दा बेसी योगदान मुसहरकै होला । भूमिबाट उत्पादनका लागि पसिना, आँसु र रगत बगाउनेमध्ये पर्छन्, ती मधेसी दलित । तर खेतीपाती हुने भूमि र घडेरीमा खासै स्वामित्व नभएको समुदाय खोज्नुपर्‍यो भने उनीहरू अघिल्लो श्रेणीमै पर्छन् । यसरी आफ्ना पसिना, आँसु र रगतले सिँचेको जमिनबाट बञ्चित समुदायको पीडाबीच बाढीको कहर पनि छाएको हो । त्यही कहर र पीडाको जीवित प्रतीक हो, कमलु सदाको मृत शरीर, जुन सद्गतबिना नै नदीमा बगाइयो । 
बाढीको सिकार हुनेमा पनि कमलु सदाकै परिवारजन जस्ता भूमिहीन गरिब दलित बेसी छन्, किनभने सुरक्षित ठाउँमा उनीहरूका पक्की घर छैनन् । जमिनबाट बेदखल वा बञ्चितहरूलाई नै बाढीसँगै शीतलहर, लू, हावाहुरी र आगलागीले पनि नराम्ररी गाँज्ने गर्छ । सामाजिक संरचनाले थोपरेका प्रत्यक्ष र अप्रत्यक्ष हिंसाबाट पीडितहरूमाथि नै प्राकृतिक वा दैवी प्रकोपले पनि हिंसा लाद्ने त हो । यस अर्थमा, आफ्नो छाप्रो ठड्याउने वा खनीखोस्री गर्ने आफ्नै भूमि नहुनुको खास अर्थ हो : अनागरिक हुनु, राज्यविहीन हुनु, देशविहीन हुनु । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले बाढी पीडित मुसहर बालबालिकाको दुरवस्थाबारे चित्रण गर्दै ‘नो फुड, नो क्लोथस् एन्ड नो बुक्स’ लेखेकी थिइन् । यो पीडा भूमि नहुँदाको पीडा हो । किनभने जोसँग भूमि हुँदैन, उनीहरूसँग न लालपुर्जा हुन्छ, नत नागरिकता नै । उनीहरूसँग त अनागरिक हुनु वा राज्य र देशविहीन हुनुको ‘पीडा’मात्रै हुन्छ । 
लज्जाको कुरा, मधेसका धेरैजसो बासिन्दा बाढीका कारण प्रकोप र मृत्युको पीडा भोगिरहेको बेला राज्य र देश हाँक्ने बडा नागरिकहरू देश–विदेशको सयर गर्दै थिए । उनीहरूलाई मुसहर र अधिकांश मधेसबासीका लागि कहर भएको बाढीको चिन्ता थिएन, नत शिक्षा, स्वास्थ्य, नागरिकता, भूमि र अन्य अधिकारकै वास्ता थियो । जबकि कमलु सदाको जीवित परिवार लगायत दलितजन सामाजिक, आर्थिक र राजनीतिक जीवनको तल्लो सिँढीमै रहेकै कारण मृत्युसँग संघर्ष गर्दैछन् । मुहसरहरू पहिलेदेखि नै शिक्षा र स्वास्थ्य लगायत सोसल डाइमेन्सन इन्डेक्समा डोमजस्तै सबैभन्दा तल रहेको पाटोलाई बेवास्ता गर्न सकिँदैन । शिक्षा र स्वास्थ्यमा सबैभन्दा तल हुनुको अर्थ स्रोत, साधन, शक्तिमाथि पहुँचहीनताको इन्डेक्समा सबैभन्दा अगाडि हुनु हो, यो यथार्थलाई कतिन्जेल नजरअन्दाज गर्ने ? 
बाढी–पहिरोसँग जोडिएको वर्गीय असमानता र संरचनागत हिंसाको पाटो हेर्दा अर्काे बेवास्ता गर्न नै नमिल्ने कहालीलाग्दो तस्बिर पनि देखिन्छ । त्यो कुरूप पक्ष हो– वर्ण/जात/कुल/वंशको कोढ, छूत/अछूत, पवित्र/अपवित्र, शुद्धता/अशुद्धताको अन्धताको कडी । प्राकृतिक प्रकोप वा मानवीय विपत्तिका बेला पनि उच्च जात भनाउँदाहरूले दलित समुदायमाथि विभेद जारी राखे, दलितहरू मृत्युको मुखमा पुग्ने अवस्थामा पनि आफ्नो जातीय उच्चता, शुद्धता, पवित्रता र अहंकारको बचाउ गरे, यो पक्षलाई बाढीसँगै बगाउन सकिने अवस्था छैन । हिन्दु वर्णव्यवस्था, जातभात, छुवाछूत र विभेदको सनातनी बाढीमा दिनदिनै डुब्दै आएका मुसहर र आम मधेसी दलित समुदायको जीवनमा नदीको बाढी गाउँ, सहर, बस्ती र खेतखलिहानमा पसेसँगै जातीय छुवाछूत र विभेदको सकस पनि मिसिएर आएको हुनसक्छ, साँप–बिच्छी र रोगव्याधि जस्तै । 
गाउँमा बाढी पस्दा अछूत/दलित भएकै कारण जनाएर सवर्ण साहु–महाजन र अन्य ठूला जात भनाउँदाहरूले आफूहरूलाई डुंगासमेत चढ्न नदिई विभेद गरेको गुनासो सार्वजनिक भइसकेको छ । त्यस्तै कमलु सदाको सद्गतका लागि पनि सवर्णहरूले ओभानो भूमि प्रयोग गर्न नदिएको वा सार्वजनिक स्थान उपयोग गर्न नदिएको हुनसक्ने सम्भावना पनि प्रबल छ । फोटो पत्रकार श्रेष्ठले खिचेको तस्बिरमा पनि देवकुमार सदा आफ्ना भान्जा कमलु सदाको लास बोकेर ओभानो भूमिमै टेक्दै कोशीतिर गएको दृश्य देखिन्छ, जुन नहरको डिल बताइएको छ । तिलाठी, कोइलाडीमा ओभानो जमिन हुँदाहुँदै पनि कथित उच्च जातको भुइँहार समुदायले आफ्नो जमिन अपवित्र हुने त्रासले भूमिहीन मुसहर परिवारलाई बच्चा गाड्न सानो टुक्रा जमिनसमेत दिन नमानेको हुनसक्छ । त्यसैले बाध्यतावश मृत बच्चालाई नदीमा बगाइएको दाबीलाई पनि बेवास्ता गर्न सकिँदैन । यसको अर्थ ती गरिब मुसहर समुदायका बालक मृत्युपछि समेत जातीय भेदभावको सिकार भएको हुनसक्छ । 
जे होस्, भूमिहीनताको कहरबीच बाँचिरहेका मुसहर र अधिकांश मधेसी दलितसँगै सबैजसो मधेसका जनतालाई बाढीले ज्यानै जानेगरी सकस थोपरेकोमा शंका छैन, जसको दीर्घकालीन उपायको खोजी जरुरी छ । तर मधेसी दलितले भोगिरहेको विशिष्ट समस्याको समाधान भुइँफुट्टे भइसकेका समाजवादी र साम्यवादी बडा नागरिकबाट पनि सम्भव छैन, यसमा पनि सन्देह छैन । किनभने बाढी पीडित मधेसी दलितबीच उपचार कर्ममा लागिरहेका डा. गोविन्द केसीको अनुभवजन्य खरो भाषामा भन्दा, ‘गाँस, बास र कपाससँगै शिक्षा तथा स्वास्थ्यजस्ता जनताका आधारभूत आवश्यकतालाई चरम व्यावसायीकरण गर्नेहरू कहिल्यै पनि साम्यवादी र समाजवादी हुन सक्दैनन् ।’

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार