बुद्धि, अस्पृश्यता र सामाजिक न्याय

राजकिशोर रजक
सामाजिक न्यायको विषय आज पनि मानव अधिकारको विषय हुन सकेको छैन । छुवाछुत जन्य अमानवीय व्यवहार, महिला हिँसा, उँचनीचको भावना, रङ्गभेद, दाइजो प्रथा, अस्पृश्यता आदि आधारभुत मानव अधिकार हननका घटनाहरुले बेला बेलामा समाजलाई प्रभावित गरी नै रहेका छन् ।
सामाजिक आदर्शवादले समाजमा न्याय र समानता कायम गर्न दुई मुख्य विचार माथि भरोसा गर्छ — एउटा बुद्धि र अर्को धर्म । बुद्धि मुलतः ऐतिहासिक भौतिकवादी शक्तिसँग जोडिएको हुन्छ भने धर्म अध्यात्मिक शक्तिसँग जोडिन्छ । धर्मपरायण समाजमा निर्धन यो आशमा बाँचेका हुन्छन् कि अध्यात्मिक शक्तिले सामाजिक न्याय प्रदान गरोस् । धर्मनिरपेक्ष समाजमा एतिहासिक भौतिकवादी शक्ति पुजिवादी शत्तिलाई बलपुर्वक हटाएर सर्वहाराको सर्वोच्चता कायम गर्ने कुरा गर्छ । यी दुई विचारमा संसार आज पनि ध्रुवीकृत छन् ।
हिन्दु समाज–ब्यवस्थामा सामाजिक न्यायको सन्दर्भमा यी विचार असफल सावित भएका छन् । हिन्दु समाज–ब्यवस्थाको मुल मनोविज्ञानलाई न त अध्यात्मिक शक्ति न त एतिहासिक शक्तिले सहि रुपमा पक्रन सकेका छन् । यसले के विश्वास गर्छन् भने शिक्षाको समान्य प्रचार प्रसारबाट हिन्दुहरुले आफ्नो व्यवहार र आचरणमा परिवर्तन ल्याउन सक्छन् । अस्पृश्यले आफ्नो मुक्तिको लागि हिन्दु माथि निर्भर होस् । अस्पृश्यताको विरुद्ध जनचेतना, आर्दवादको स्थापनावाट हिन्दुमा नैतिकताको विकास हुने । हिन्दुको सदभावना र कर्तव्य–परायनतामाथि अस्पृश्यले विश्वास गर्ने । यी सवै विचार व्यवहारतः असफल भैसकेका छन् । केवल कोरा आदर्शवाट समाज परिवर्तन हुनसक्दैन । समाज परिवर्तनको व्यवहारिक मापदण्ड हुन्छ । व्यवहारिक मापदण्ड र क्रियाकलापवाट अदर्शलाई मापन गर्न सक्नु पर्छ ।
बुद्धिको सम्बन्धमा बाबासाहेव डा. भिमराव अम्बेडकरको विचार महत्वपूर्ण छ । बुद्धिलाई आफनो मिशन ठान्ने बुद्धिवादिको अनुसार बौद्धिक शक्तिलाई बढाएर समाजमा विदमान विसमता र अन्यायलाई अन्त्य गर्न सकिन्छ । मध्य–युगमा समाजिक न्याय र अंधविश्वासको विचमा गहिरो सम्बन्ध थियो । समाजमा रहेका अंधविश्वास हटाएर अन्यायलाई हटाउन सक्ने विश्वास थियो । शिक्षाविद, दार्शनिक, मनोवैज्ञानिक र समाज वैज्ञानिकले समाजमा व्यापक शिक्षा र संचारको विकासवाट एउटा आदर्श समाजको निर्माण गर्न सकिन्छ । यस प्रक्रियावाट मनुष्य जागृत भई समाजमा न्याय स्थापनामा वल पुग्छ भने विश्वास छ ।
संसारको ईतिहासलाई मसिनोसँग केलाएर हेर्दा यो सिद्धन्त हरेक समाजमा पुर्णतः लागु हुन सकेका छैन् । यूरोपको १८औँ शताब्दिमा परम्परा, अन्धविश्वास अन्यायको मुल आधार थियो तर आज पनि समाजिक न्यायको प्रश्न टडकारो रुपमा उठी नै रहेको छ । अमरिकामा व्यापक शिक्षा र संचारको विकास भए पनि धार्मिक कट्टरता, रङ्गभेदको घटना दिनदिनै सुनिन्छ । समाजिक अन्याय र फँसिवादको वोलवाला छन् । हामी कहाँ नै सम्पूर्ण ब्राद्मण जाति, ब्राद्मण महिला पुरुष र उनहिरुको बच्चाहरु सबभन्दा बढि शिक्षित छन् । राज्यका सम्पूर्ण संसाधनमा उनीहरुको कब्जा छन् । उनीहरुमध्ये कति ब्राद्मण छन् जसले अस्पृश्यताको धारणावाट मुक्त छन् ? उनीहरु मध्ये कति छन् जसले अस्पृश्यताको विरुद्धमा अवाज उठाएका छन् ? कति जना ब्राद्मण छन् जसले जातव्यवस्था जसले अस्पृश्यतालाई जन्म दिएका छन् खारेज गर्न तयार छन् ? संख्या भेटाउन गाह्राे छ । भए पनि नगण्य होला ।
किन बुद्धिले सामाजिक न्याय स्थापना गर्न सक्दैन ? यस सम्बन्धमा बाबासाहेव डा. अम्बेडकर भन्छ, “बुद्धि त्यति वेला मात्र काम गर्न सक्छ जतिवेला कसैको निहित स्वार्थसँग उसको टकराव हुदैन् ।” बुद्धि जब निहित स्वार्थसँग जोडिन्छ त्यसवेला काम गर्न छोड्छ । अस्पृश्यताको विचारमा हिन्दुको निहित स्वार्थ लुकेको हुन्छ । अस्पृश्यताको कारण समाजमा हिन्दुको स्थान उच्च रहेको छ । अस्पृश्यताको कारण दलितले अमानुस जीवन बाच्न बाध्य छन् । अस्पृश्यताको कारण हिन्दुको समाजिक, राजनीतिक र आर्थिक हैसियत निर्धारण भएका छन् । अस्पृश्यले बुझ्नु पर्ने कुरा के हो भने बुद्धिको पनि सिमितता हुन्छ । यो कुरा सत्य छ कि निहित स्वार्थ बुद्धिको आदेशलाई मान्दैन् ।
जुन समाजमा ठूला ठालुलाई एक ठाँउवाट अर्को ठाँउ लागनको लागि कहार जाति उपलब्ध छ भने, त्यो समाजमा अटो मोवाईलको अविश्कार किन गर्नु पर्यो ? खाना पकाउनको लागि महिला तयार छन् भने आधुनिक स्टोभ, ओभन, प्रेसर कुकर आदिको अविश्कार किन गर्नु पर्यो ? लुगा धुनको लागि धोवि जात उपलब्ध छ भने वासिङ्ग मसिनको अविश्कार किन गर्नु पर्यो ? शौचालय सफा गर्ने जात उपलब्ध छ भने आधुनिक शौचालय निर्माण गर्न ज्ञानको अविश्कार किन गर्नु पर्यो ? जातब्यवस्थाले ज्ञान निर्माणका सवै ढोका बन्द गरिदिए । हिन्दु समाज ज्ञान र प्रविधिको क्षेत्रमा पछाडि पर्नुको कारण जातप्रथा नै हो । सितैमा काम गरिदिने जात उपलब्ध भए पछि ज्ञानको अविश्कार गर्ने आवश्यकता नै महशुस हुदैन् । जसको अवश्यकता थियो त्यसलाई ज्ञान निर्माणवाट टाढाँ राखियो र जो सँग ज्ञान थियो उसलाई अविश्कार गर्ने आवश्यकता थिएन् ।
नैतिकतावादिको अनुसार मानवको मस्तिष्कमा धर्मले नैतिक अन्तरदृष्टि रोपे पछि व्यत्तिगत कर्ममा पाप–भावको साथ साथै आफनो जात प्रतिको कर्तब्यको बोधको विकास हुन्छ । धर्मले नैतिक रुपमा अस्पृश्यताको विजारोपन गर्नमा प्रमुख भुमिका खेल्छ । धर्मको पनि निहित स्वार्थ हुन्छ र एक समुदाय भित्र मात्र न्याय भावको विकास गर्छ । विभिन्न समुदायको विचमा न्याय–भावको विकास गर्न सक्दैन् । दलित वर्गले के बुझ्न जरुरि छ भने हिन्दु धर्म सामाजिक न्यायको स्थापना गर्न सक्दैन् । हिन्दु धर्म दलित, महिला प्रति विसमता, सामाजिक अन्याय र विभेदको जीता जागता नमुना छन् । हिन्दु समाजमा न्यायको वकालत गर्नु कोरा कल्पना नै हो । हिन्दु समाजको जन्म नै विसमता, अस्पृश्यतावाट भएको हो ।
हिन्दु सर्वहाराको विचार पनि कहिले काँही कथित माक्र्सवादिले पनि गर्ने गरेको सुनिन्छ । नेपाली समाजको प्रधान अन्तरविरोध वर्ग नभएर हिन्दु जात–व्यवस्था हो । वर्गिय अन्तरविरोध भएको भए वर्गिय क्रान्ति भैसकेको हुन्थ्यो । जातिय चेतनाले वर्गिय चेतनालाई उठ्न दिएको छैन् । हिन्दु सर्वहाराको एकत्व हिन्दु चेतनाको कारण सम्भव छैन् । हिन्दु सर्वहारा वर्गिय भन्दा वर्णिय छ । जहाँ जात–व्यवस्था सम्पूर्ण कुराको निर्धारक हुन्छ त्यहाँ सामाजिक न्यायको प्रस्थान विन्दु नै जातव्यवस्थाको खारेजीबाट हुनु पर्छ ।
सामाजिक न्याय र लोकतन्त्रको लागि पूर्वसर्तको रुपमा जातव्यवस्थाको खारेजि पहिलो कार्य हुनु पर्छ । जात–ब्यवस्था र लोकतन्त्र हिन्दु चेतनावाट सँग सँगै जान सकिदैन् । जातिय विविधता विचको अमानुस मनोविज्ञानलाई रुपान्तरण गर्नको लागि बुद्धिलाई निहित स्वार्थवाट मुक्त गर्नु पर्छ । समाजमा आमुल परिवर्तनको कार्यक्रम निर्धारण गरि अभियानको रुपमा संचालन गर्नु पर्छ । सिमान्तको स्वयतताः (अप्रेष्ट अटोनमि) निर्माण गरि राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नु पर्छ । समाजमा भाईचरा, समानता र न्यायलाई व्यवहारिक रुपमा कायान्वयण गर्नु पर्छ यसको लागि सवभन्दा बढि त्याग हिन्दु सवर्णले गर्नु पर्छ । सामाजिक न्यायको सवभन्दा बाधक हिन्दु सवर्ण नै हो ।
सामाजिक न्यायको लागि सवर्णसँग आश गरेर हुदैन् । अस्पृश्यले अधिक भन्दा अधिक राजनीतिक शक्ति निर्माणमा ध्यान दिनु पर्छ । आर्थिक रुपमा कमजोर अस्पृश्यले शक्ति निर्माणको प्रमुख पक्ष राजनीति नै हो । यसको लागि पृथक निर्वाचनको प्रक्रियावाट राजनीतिक प्रतिनिधित्वलाई सुनिश्चित गर्नु पर्छ । विदमान सवर्ण नेतृत्वको राजनीतिक दलवाट अस्पृश्यको प्रतिनिधित्व व्यवहारतः असफल भैसकेको छ । त्यसैले सिमान्तको संगठन (अप्रेष्ट यूनिटी) विकास गरि स्वयतताको निर्माण गर्ने र पृथक निर्वाचन मण्डलको प्रक्रियावाट राजनीतिक शक्ति आर्जन गर्नु पर्छ । अनि मात्र सामाजिक न्यायको वाटो खुल्छ ।

http://esamata.com/insight/%E0%A4%AC%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BF-%E0%A4%85%E0%A4%B8%E0%A5%8D%E0%A4%AA%E0%A5%83%E0%A4%B6%E0%A5%8D%E0%A4%AF%E0%A4%A4%E0%A4%BE-%E0%A4%B0-%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE/

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।