जातिप्रथाः संरचना र रहस्य

हिन्दु समाज आदिम र आधुनिक विचारको अन्तरविरोधमा फसेका छन् । हिन्दु समाज एक साथ १६औँ शताब्दि र २२औँ शताब्दिमा बाँचिरहेका छन् । आदिम सोँच अनुसार परम्परा, जातपात, सजातिय विवाह, धर्म संस्कार, उच नीचको भावना र व्यवहारलाई संरक्षण गर्नुलाई कर्तब्य ठान्छन् । परम्परालाई बचाएर राख्नु पर्छ । परम्परा नै पहिचान हो । आधुनिक काल भन्छ परम्परालाई समयक्रमसँगै रुपान्तरण गर्नु पर्छ । जातपातको बंधनवाट मूक्त हुनु पर्छ । प्रेमको आधारमा विवाह संस्कार हुनु पर्छ । अन्धविश्वासवाट मुक्त भई विज्ञान, प्रविधिमा विश्वास गर्नु पर्छ । समता भावको विकास हुनु पर्छ । यसो गहिरिएर हेर्दा वैचारिक रुपमा आदिम र आधुनिककाल विचमा निरन्तर संघर्ष भैरहेका छन् ।

जातिप्रथा जटिल र रहस्यमय विषय हो । यस विषयमा आवश्यक चर्चा हुन पाएको छैन् । समाजमा जातिप्रथाको विषयमा ज्ञान र जानकारिको कमि छ । यो विषय त्यति जटिल पनि होईन जसलाई अध्ययन गर्न सकिदैन् । जातिप्रथाको समस्या सैद्धान्तिक र व्यवहारिक दुवै छन् । जति व्यवहारिक रुपमा अल्झेको छ, त्यति नै सैद्धान्तिक पक्ष पनि इन्द्रजाल जस्तै बेरिएको छ । जातिप्रथालाई स्थानिय समस्या भने पनि हिन्दु पृथ्वीको जुन भागमा गए पनि आफुसँग जातको मनोविज्ञान र व्यवहार सँगै लिएर जाने भएको हुनाले आज यो विश्वको समस्या भैसकेको छ ।

सैद्धान्तिक रुपमा संसारका अनेकौ विद्धानहरुले जातिप्रथालाई श्रम विभाजनको दृष्टिकोणवाट विश्लेषण गरेको पाईन्छ तर आज आएर हेर्दा उनीहरु निराश भएका छन् । जातिप्रथाले श्रमको मात्र विभाज गरेन श्रमिकहरुलाई पनि सधैको लागि विभाजन गरे । जाति प्रथाको विषयमा नृजाति विज्ञानको केहि विद्धानहरुको परिभाषालाई अध्ययन र समिक्षा गरौ ।

जातिको सन्दर्भमा फ्रांसको विद्धान सेनारको अनुसार ः तिब्र वंशानुगत आधारमा घनिष्ठ सहयोग, विशिष्ठ परम्परा र स्वतन्त्र संगठन जहाँ एक जना मुखिया अथवा पंचायत जसको समय समयमा बैठक हुन्छ, केहि खास उत्सवमा मेला हुन्छ, एक नाशको व्यवसाय हुन्छ, रोटी बेटीको विशिष्ठ सम्बन्ध अपमिश्रणमा आधारित हुन्छ, यसको सदस्य अधिकार क्षेत्रवाट विनियमित हुन्छ , प्रभाव लचिला हुन्छ , सम्बन्ध समुदाय माथि प्रतिबन्ध र दण्ड लागु गर्नमा सक्षम र सबभन्दा महत्वपूर्ण समुहवाट अपरिवर्तनिय हुन्छ ।

नेसफील्डको अनुसार ः समुदायको एउटा वर्ग जसले अर्को वर्गसँगको सम्बन्धलाई बहिष्कार गर्छ र आफनो समुदायलाई छाडेर अर्को समुदायसँग विवाह सम्बन्ध र खान पिनमा परहेज गर्छ ।

सर एच. रिजलेको अनुसार ः जातिको अर्थ परिवार र परिवार सदस्यहरुको संगठन, जसको साझा नाम हुन्छ र खास पेशासँग सम्बन्धित हुन्छ । पौराणिक पुर्वज–पितरोको बंशज भएको दावा गर्छन् । सजातिय समुदायको भावना हुन्छ ।

डा. केतकरको अनुसार ः दुई लक्षण भएको सामाजिक समुह, (क) समुहको सदस्यता एउटा खास जात समुदायमा जन्मको आधारमा सुनिश्चित हुन्छ ; (ख) कठोर सामाजिक कानुनद्धारा सदस्य आफनो जातिभन्दा वाहिर बिवाह वर्जित हुन्छ ।

नृजाति विज्ञानको चार जना विद्धानहरुको परिभाषालाई समिक्षा गर्नु पर्छ । पहिलो तीन जना विद्धानको परिभाषालाई छुट्टा छुट्टै हेर्दा जातिप्रथाको मुल तत्व समेटेको देखिदैन् । जातिप्रथाका केहि विषेसताहरु सवै परिभाषामा छन् । सबै जनाले जाति प्रथालाई एउटा स्वतन्त्र तत्वको रुपमा लिएका छन् जुन ठूलो भुल गरेका छन् । जातिप्रथा स्वतन्त्र तत्व नभई समग्र तन्त्रको मुल अङ्ग हो ।

सेनारको परिभाषालाई समिक्षा गर्दा अपमिश्रणलाई जातिय प्रकृति मानेको छ । डा. भिमराव अम्बेडकरको अनुसार अपमिश्रण जाति भन्दा पनि पुजा–समारोह र शुद्धताको पोषक तत्वसँग सम्बन्धित छ । अपमिश्रणलाई जातिय सर्वोच्चतासँग जोड्नुको पछाडि पुरोहित हिन्दु समाजमा सर्वोच्च जाति हो । पुरोहित र पवित्रताको विचमा पुरानो सम्बन्ध छ । हिन्दु जातिप्रथामा धार्मिक स्वरुपको प्रभाव भएको हुनाले अपमिश्रणको सिद्धान्त लागु भएको हो ।

नेशफिल्डको अनुसार जातिप्रथा आफ्नै प्रकृति अनुसार आफुभन्दा फरक जात समुदायसँगको खान पिनमा परहेज राख्छन् । जाति अफैमा सिमित सँस्था हो जसले सामाजिक अन्तरघुलनलाई अस्वीकार गर्छ । परिधि बाहिरको जात समुदायसँगको खान पानको परहेज जातिप्रथाको परिणाम हो । जात–जातिको विचमा हुने भिन्नताको गुरुमन्त्र नै जातिप्रथा हो जुन धार्मिक ब्यवस्थासँग जोडिएको छ ।

डा. केतकरको परिभाषा विचार गर्ने योग्यको छ । वहाँले आफ्नो अध्ययनमा जातितन्त्रको विश्लेषण जातिप्रथाको आधारमा गरेको छ । केतकरले सटिक ढङ्गवाट जातिप्रथालाई रोटी र वेटी सम्बन्धको आधारमा परिभाषित गरेको छ । रोटी र वेटीलाई एउटै सिक्काको दुई पाटाको रुपमा ब्याख्या गरेको छ । रोटीको मतलव खान पानमा परहेज र वेटीको मतलव रक्त शुद्धतासँग जोडिएर सजातिय विवाह सँग जोडिएको छ । सजातिय विवाह नै जातप्रथाको मुल हो । हिन्दु समाजमा जातिप्रथाको अर्थ समाजलाई कृत्रिम रुपमा विभाजन गर्नु हो जहाँ रीतिरिवाज, विवाह, संस्कारको भिन्नतमा बाँधिएको हुन्छ । जातिप्रथाको मुल विषेसता भनेको सजातिय विवाह नै हो ।

हिन्दु समाजको धर्म आदिम छ । आदिम धर्मको प्रभाव आधुनिक समयमा पनि हावि छ । डा. भिमराव अम्बेडकरले सजातिय विवाह प्रथालाई विदेशि प्रथा मान्छ । वहाँले बहिर्गोत्री विवाहको उल्लेख गरेको छ । आदिम समयमा पनि बहिर्गोत्र विवाहको प्रचलन थियो । युग परिवर्तनको साथ साथ गोत्र शब्दको सार्थकता जाति थियो र रक्तको घनिष्टतम सम्बन्धलाई छाडेर विवाह प्रथाको कुनै प्रतिबन्ध थिएन् । हाम्रो समाजमा आज पनि बहिर्गोत्री विवाह प्रथा प्रचलित छ । हिन्दु समाजमा सपिंड विवाह प्रथामा मात्र प्रतिबन्ध छैन् सगोत्र विवाह पनि अपवित्र मानिन्छ ।

बहिर्गोत्र विवाह सामाजिक विधान छ र यसको उल्लंघन संभव छैन् । गोत्र बाहिर विवाहको प्रथालाई उल्लंघन गरेको खण्डमा अन्तरजातिय विवाहको तुलनामा कठोर दण्ड सजायको विधान छ । बहिर्गोत्री विवाहको नियम बनाई दियो भने जातिप्रथाको आधार समाप्त भैहाल्छ । बहिर्गोत्रको अर्थ परस्पर विलय हो । हिन्दु समाजमा बहिर्गोत्र विधान सँग सँगै सजातिय विवाह विधान पनि जोडिएको छ । बहिर्गोत्र समाजमा सजातिय विवाहको विधानलाई सजिलै पालन गर्न सकिन्छ जुन जातिप्रथाको मुल पनि हो र एउटा गंभीर समस्या पनि हो ।

बिवाहको गोत्र र जात माथिको राजनीतिलाई बुझ्न जरुरी छ । समाजमा सजातिय बिवाहलाई स्वीकृति दिनु र गोत्र भित्रको विवाहलाई बंधेज गर्नुमा जातितन्त्रको भुमिका प्रमुख हो । जातप्रथामा आधारित जातितन्त्र निर्णायक मनोविज्ञान हो । बहिर्गोत्र बिवाहको मुल उदेश्य सामाजिक अन्तरघुलन कायम गर्ने हो तर सजातिय बिवाहले सामाजिक अन्तरघुलनलाई निशेध गर्छ । हिन्दुसमाजको जातिप्रथा सैद्धान्तिक र व्यवहारिक रुपमा यसरि जेलिएका छन् कि यसवाट सहजै समाजमा अन्तरघुलन वा परस्पर विलय हुन दिदैन् ।

जातपातको उत्पतिको सन्दर्भमा आजसम्म कुनै ठोस अध्ययन बाहिर आएको छैन् । यसको उत्पती काहाँवाट भयो ? जातपातको मुल सजातिय विवाह प्रथाको कार्यविधिको मुलसँग सम्बन्धित हो । समाज व्यत्ति मिलेर बनेको हुदैन समाज सधै वर्गवाट बन्छ । समाजमा विभिन्न वर्गहरु हुन्छन । वर्ग आर्थिक पनि हुन सक्छ, समाजिक तथा अध्यात्मिक पनि हुन सक्छ । समाजको कुनै न कुनै व्यत्ति कुनै वर्ग वा समुदायसँग जोडिएको हुन्छ । समाज विकासको सन्दर्भमा ब्राद्मण वर्गले नै सबभन्दा पहिला जातपात प्रथाको विकास गरेका छन् र वाँकि गैर–ब्राद्मण केवल जातप्रथालाई अनुसरण मात्र गरेका छन् । इतिहास साक्षि छ वर्ग जो आफैमा तरल हुन्छ त्यसलाई जातिप्रथावाट सदा सदाको लागि ठोस बनाइदियो । हिन्दु समाजमा जातजाति नै ठोस वर्ग हो ।
राजकिशोर रजक
लेखक सामाजिक अभियानकर्ता हुन् ।

Comments

Popular posts from this blog

चम्चा युग

तीज

Why Student’s Day Celebrations Don’t Make Sense