छुवाछूत उत्पत्तिको मूल आधार के हो ?

राजकिशोर रजक
फरक बिचार

प्रख्यात समाजशास्त्री एवं प्रशिद्ध लेखक स्टैनली राईसको अनुुसार अस्पृश्यता दुई विचारबाट उत्पन्न हुन्छ एउटा नश्ल र अर्को पेशा । यी दुवै कुरामाथि छुट्टाछुट्टै विचार गर्दा समाजशास्त्रि राईसका अनुसार अछूतहरु अनार्य (गैर आर्य) तथा अद्रविड हुन र वहाँहरु द्रविडद्धारा पराजित गरिएका हुन् । राईसको भनाई अनुसार भारतमाथि दुई आक्रमण भएका थिए । पहिलो आक्रमण द्रविडले गरेका थिए जसले वर्तमान अछूतको पूर्वजमाथि बिजय प्राप्त गरेका थिए र अर्को आक्रमण आर्यवाट भएको थियो । जसले द्रविडलाई जितेका थिए । भारतका चर्चित विद्धान डा.भीमराव अम्बेडरले आफ्नो पुस्तक “शुद्र हू दे आर एण्ड हाउ दे केम टु बि दि फोर्थ बर्ण अफ इंडो आर्यन सोसाइटी” माथी उल्लेखित बिचार अबैज्ञानिक र अपरिपक्व छन् र यसले कुनै समाधान दिन सकेको छैन् । प्राचीन इतिहासलाई अध्ययन गर्दा चार प्रकारका नाम फेला पर्छन्– आर्य, द्रविड, दास र नाग । यी चार नाम अलग अलग प्रजाति हो वा एउटै प्रजातिका चार नाम हुन ? तर लेखक राईसका अनुसार यी चार नाम भिन्न नश्लका हुन् । यो तथ्यलाई स्वीकार्नु भन्दा पहिला तथ्य पत्ता लगाउन परीक्षण गर्न जरुरी देखिन्छ ।

हिन्दू धर्म शास्त्रलाई अध्ययन गर्दा यो कुरा निर्विवाद थियो कि आर्य दुई फरक संस्कृतिमा विभक्त थियो– ऋगवेदी र अथर्ववेदी । पहिलो यज्ञमा विश्वास राख्थ्यो भने दोस्रो समुदायले जादु टुनामा । ऋगवेदीहरुले ब्राह्मण वा आरण्यको रचना ग¥यो र अथर्ववेदीहरुले उपनिषद्को रचना ग¥यो । यो वैचारिक संघर्ष यति गहिरो थियो कि ऋगवेदीहरुले अथर्ववेदको वाङ्मय र उपनिषद्लाई मान्दैन्थ्यो । डा.अम्बेडकरका अनुसार आर्यको यी दुई विभाग दुई नश्ल थियो कि थिएन ? आर्य शब्द कुनै नश्ल कै नाम हो कि होईन ? यसवाट के स्पष्ट हुन्छ भने आर्य कुनै नश्लको नाम होइन ।

यस भन्दा ठूलो गल्ति दासलाई नाग भन्दा अलग गर्नु थियो । दास ईरानी शब्द दाहकको तत्सम रुप हो । नागको राजाको नाम दाहक थियो । त्यसकारण सवै नागहरुलाई साझा रुपमा दास भनिन्थ्यो । तर त्यो नाग को थियो त ? उनीहरु गैरआर्य थिए । ऋगवेदमा वृत्तको वर्णन गरिएको छ र आर्यहरु उसलाई पूजा गर्दैनथ्यो ।  उनीहरु वृत्तलाई असुर वृत्तिका शक्तिशाली देवता मान्थे र उनीलाई परास्त गर्नु आफ्नो लक्ष्य । ऋगवेदमा नागको उल्लेख हुनुको कारण उनीहरु प्राचीन मानिस थिए । उनीहरु न त आदिवासी थिए न त असभ्य । राजपरिवार र नागको बीचमा विवाह सम्बन्धको अनगिन्ति उदाहरणहरु पाउन सकिन्छ । प्राचीन कालदेखि नवौँ तथा दशौँ शताब्दी तिरका शिलालेखमा नागहरुको विवाहको चर्चा गरिएका छन् । नागहरुको संस्कृति उच्च थियो र उनीहरु वृहत भौगोलिक क्षेत्रमा राज्य गर्थे । यी सव कुरा पुराण, प्राचीन लेख तथा सिक्कावाट प्रमाणित हुन्छ । यसवाट के स्पष्ट हुन्छ भने इतिहासको विभिन्न कालखण्डमा नागहरुको प्रभुत्व सिद्ध हुन्छ ।

अब हामी द्रविडमाथि चर्चा गराँै । द्रविड को थिए ? के द्रविड र नाग अलग अलग मानव समूह थिए कि एउटै प्रजातिका दुई नाम थिए ? यस विषयमा दक्षिण भारतका विद्वान दीक्षितय्यरले आफ्नो रामायणको दक्षिण भारत भन्ने लेखमा लेखेका छन् । “उत्तर पश्चिममा तक्षशिला, उत्तर पूर्वमा आसाम र दक्षिणमा श्रीलंकासम्म सर्पको चिन्ह भएको देवतुल्य नाग फैलिएको थियो । एक समयमा उनीहरु एकदमै शक्तिशाली थिए र श्रीलंका र मलाबार उनीहरुको कब्जामा थियो । मलाबारमा आज पनि नाग पूजाको चलन छ । यसवाट के अन्दाज गर्न सकिन्छ भने ईसवी संवत आउदा आउदै नाग चेरोँसँग अन्तरघुलन भयो ।”

यो विषयमाथि सी.एफ.ओल्ढमको भनाई प्राचीनकालदेखि नै द्रविडहरु तीन भागमा विभाजित छन्–चेर, चोल र पान्ड्य । तमिल भाषामा चेर नागको पर्यायवाची शब्द हो । गंगाको घाटिमा चेरु तथा सिओरी भनिने प्राचीन प्रजाति बस्दै आइरहेका छन् । एक समय गंगाको घाटिको भूभागमाथि उनीहरुको अर्थात् नागहरुको आधिपत्य रहिआएको थियो । यसवाट के भन्न सकिन्छ भने चेरु आफ्नो बन्धु चेरोसँग सम्बन्धित थियो । कहिलेकाहि नाम बीचको समानता सधै सत्य नहुन सक्छ तर उनीहरु जसको नाम एक आपसमा मिल्छ ती सवै सूर्यवंशी थिए । सवै मनियर नागलाई मान्छन् र सवै नाग देवतालाई आफ्नो पूर्वज मानेर पूजा गर्छन् । यसवाट के प्रष्ट हुन्छ भने नाग र द्रविड एउटै व्यक्ति हो ।

तर यो कुरा स्वीकार्न किन गाहे भएको छ भने दक्षिणको मानिस नाग हो भने द्रविड किन भन्छन् ? भाषासँग सम्बन्धित विषयको बारेमा सी.एफ.ओल्डमको भनाईः संस्कृतको व्याकरण अनुसार द्रविड भाषालाई उत्तर भारत र मधेशमा लोक भाषासंग सम्बन्धित मान्छन् । सवै लोक बोलीमा संस्कृतको सवभन्दा कम अंश छ । ऋगवेद साक्ष्यको अनुसार आर्यलाई असुरको भाषा बुझ्न गाहे हुन्थ्यो । मनुको समयमा आर्य भाषाको सँगसँगै म्लेच्छ वा असुरको भाषा पनि बोल्ने गरिन्थ्यो । पछिल्लो समयमा आएर व्याकरणले नाग भाषा बोलेको कुराको जिकिर गरेको छ । यसवाट के प्रष्ट हुन्छ भने केहीले आफ्नो पूर्वजको भाषा बोल्न छाडे पनि केहीले त्यो भाषा र संस्कृतिको व्यवहार गरिरह्यो । दोस्रो ध्यान दिनु पर्ने कुरा के हो भने द्रविड संस्कृतको मूल शब्द होइन । यो तमिलवाट दमित, फेरि दमिल्ल र त्यसपछि द्रविड भएको पाइन्छ । तमिलको अर्थ कुनै प्रजाति नभई एउटा भाषा समुदाय मात्र हो । तेस्रो ध्यान दिनु पर्ने कुरा तमिल भाषा भारत वर्षमा आर्यको प्रवेश हुनुभन्दा अगाडि बोल्ने गरिन्थ्यो । उत्तरतिरका नागहरुले आफ्नो द्रविड भाषा बोल्न छाडी संस्कृतलाई अपनायो तर दक्षिण भारतकाले बोलि नै रहे । कारण थियो उत्तरका नागहरु आफ्नो भाषा बिर्सि सकेका थिए र द्रविड बोल्नेहरु दक्षिणतिर केन्द्रित भैसकेका थिए । यसवाट के प्रष्ट हुन्छ भन्ने नाग र द्रविड एउटै प्रजातिका दुई फरक नाम हुन । नाग साँस्कृतिक नाम हो भने द्रविड भाषिक । नाग र द्रविड नै दास हुन् र सम्पूर्ण भारत वर्षमा दुई मात्र नश्ल द्रविड र आर्य रहिआएका छन् ।

मानव शरीर शास्त्रका विद्वान डा. धुरेले आफ्नो पुस्तक “भारतमा जाति र नश्ल”मा पंजावको अछूत चुहडे र उत्तर प्रदेशको ब्राह्मणका नासिक माप एउटै थियो । त्यसरी नै विहार तथा मधेशका चमार र ब्राहमणका नासिक माप एउटै हो । भारतको कर्नाटक राज्यका अछूत होलेयको नासिक माप कर्नाटकका ब्राह्मण भन्दा उच्च देखिन्छ । यसवाट के प्रमाणित हुन्छ भने ब्राह्मण र अछूतको नश्ल एउटै हो । यदि ब्राह्मण आर्य हो भन्ने अछूत पनि आर्य हो, ब्राह्मण द्रविड हो भने अछूत पनि द्रविड हो र ब्राह्मण नाग हो भने अछूत पनि नाग नै हो । यस अवस्थामा  लेखक राईसको छुवाछूत सम्बन्धी नश्लको आधार निराधार सावित हुन्छ ।

छुवाछूतको व्यवसायजन्य उत्पत्तिको बारेमा राईसको भनाई अछूतपन अपवित्र पेशावाट उत्पन्न हुन्छ र यसो विचार गर्दा तार्किक जस्तो लाग्छ । तर यस्तो किसिमको पेशा संसारका अरु ठाउँमा पनि पाइन्छ त्यहाँ उनीहरुलाई अछूत किन मानिदैन् । नारद स्मृतिबाट थाहा पाउन सकिन्छ कि आर्यहरु आफै यस्तो किसिमको काम गर्ने गर्थे । नारद स्मृतिको अध्याय पाँचमा पवित्र काम गर्नको लागि अन्य सेवकलाई प्रयोग गर्ने र अशुद्ध काम जस्तै सरसफाई, जुठो स्याहार्नु, मसाज आदि काम दासको भागमा वा जिम्मेवारीमा आउँछन् । यही कुरालाई विज्ञानेश्वरले मिताक्षरीमा भनेका छन् कि शुद्रको दास केवल शुद्र हुन सक्छन् तर एउटा ब्राह्मणले शुद्र, वैश्य, क्षेत्री तथा ब्राह्मणलाई पनि दास बनाउन सक्छन् । जब यो काम ब्राह्मणको लागि घृणित हुन सकेन भने कसरी भन्न सकिन्छ कि छुवाछूतको आधार व्यवसाय जन्य हो ?

प्रतिक्रियाका लागी rajak.raj62@gmail.com
लेखक सामाजिक अभियानकर्ता हुनुहुन्छ
यो लेख लेखकको ब्यक्तिगत बिचार हो । 

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।