धर्मले देशभक्ति होइन, राजभक्ति सिकाउँछ : सिके लाल

CK LAL 
From Naya Patrika_(22 Bhadau, 2075)
भर्खरै मात्र भारतीय मिडियामा नेपाल प्रसंग आएको छ, किनकि राहुल गान्धी यही बाटो मानसरोवर यात्रामा गएका छन् । गान्धीले काठमाडाैं शाकाहारी भोजन गरे कि मांसाहारी ? भारतीय मिडियाका लागि यक्ष प्रश्न बनेको छ । त्यसलाई भारतीय समाजले पनि बडो गम्भीरतापूर्वक हेरेको छ । विश्वका एकचौथाइ अति गरिब भारतसहित दक्षिण एसियामा बस्छन्, तिनको जीवनस्तर कसरी सुधार्ने ? तिनका छोराछोरीलाई कसरी उन्नत शिक्षा दिने र बिरामी हुँदा उपचारको प्रत्याभूति कसरी गराउने भन्नेमा बहस हुनुपर्ने हो । तर, मान्छेका सारा आधारभूत आवश्यकता बिर्सिएर बहस राहुल गान्धीको ‘डिनर टेबुल’मा संकुचित भएको छ । यो मनोविज्ञान किन र कसरी विकास भइरहेको छ ? विश्लेषक सिके लालसँग नयाँ पत्रिकाकर्मी उमेश चौहान, सुजित महत र नरेश ज्ञवालीले संवाद गरेका छन् :

विज्ञान, प्रविधिले मान्छे आर्टिफिसियल इन्टलिजेन्सको युगमा प्रवेश गरिसकेको छ, तर सँगैसँगै धर्म, जात, नश्लका आधारमा विभाजन बढेको छ । मान्छेले आफू कुन धर्म, कुन जात, कुन नश्लको हुँ भन्ने सम्झन थालेको छ र त्यसैका आधारमा न्याय–अन्याय छुट्याउन थालेको छ । यस अर्थमा दुनियाँ अगाडि गइरहेको छ कि पछाडि फर्किरहेको छ ?
इतिहास जहिले पनि बांगोटिंगो रेखामा अघि बढ्छ । सरल रेखामा अघि बढ्थ्यो भने सभ्यताको उत्कर्षमा पुगेको जर्मनीमा हिटलर, अनि अश्वेत बाराक ओबामापछि अमेरिकामा डोनाल्ड ट्रम्पको उदय हुँदैनथ्यो । अहिले मानिसमा अनिश्चितता बेपत्ताले बढेको छ । जिसस क्राइस्टको उदयपछि धर्मले नै सबै कुराको व्याख्या गर्छ भनिन्थ्यो । जब पछि मोहम्मद आए, धर्म अर्को पनि छ है भन्ने भयो । धर्म–धर्मबीच द्वन्द्व भयो । द्वन्द्व चर्कंदै गएपछि १६आैँ र १७आैँ शताब्दीमा सबै कुराको व्याख्या राज्यले गर्छ भनियो । त्यसपछि राज्यले पनि होइन, आधुनिकताले सबै कुराको व्याख्या गर्छ भनियो । १९औँ र २०औँ शताब्दीमा दुईवटा विषद व्याख्या आए ।
पहिलो, माक्र्सको विषद व्याख्यामा समाजमा धनी र गरिब दुई वर्ग छन्, यस्तो समाजमा श्रमको शोषणले संर्घष निम्त्याउँछ र त्यो संघर्षमा शोषकहरूले जित्छन्, किनभने उनीहरू संगठित छन् । त्यसको तुलनामा शोषितहरू छरिएर रहेका छन् । त्यसैले शोषितलाई कम्युनिस्ट पार्टीमा संगठित गरिनुपर्छ । त्यस्तो संगठनले जब संघर्ष गर्छ, अनि एउटा भूस्वर्ग निर्माण हुन्छ भनियो ।
दोस्रो– मानिसमा स्वार्थको टक्कर बढी भयो, त्यसैले त्यसबाट मुक्त हुन व्यक्तिवादमा जानुपर्छ भनियो । उनीहरूले व्यक्तिका लागि महत्वपूर्ण विषय स्वतन्त्रता हो, न कि समुदाय र संगठन भने । यसरी राजनीतिमा स्वतन्त्रता र प्रजातन्त्र तथा अर्थतन्त्रमा खुला बजार अर्थनीति स्थापित गर्दै अगाडि बढ्नुपर्छ भनियो । यी दुवै बहसको संघर्ष सन् १९८९ मा चल्यो, जबसम्म सोभियत संघ थियो । सोभियत संघको पतनले माक्र्सवादी विषद व्याख्या पराजितजस्तो भयो ।
अनि फ्रान्सिस फुकोयामाले ‘इतिहासको अन्त्य भयो’ भनिदिए । अब, भूमण्डलीकरणको मारमा मान्छेहरू अताल्लिएका छन् । धेरै नै संकट पर्दा मान्छे के गर्छ ? जसरी व्यक्ति आत्तिँदा आमाको काख सम्झन्छ, त्यसैगरी समूहले संकटका वेला आफ्नो संस्कृति सम्झन्छ । संस्कृति भनेको आफ्नो भाषा, धर्म, समुदाय हो । त्यतातर्फ फर्कनु भनेको ऊ सुरक्षित हुन चाहनु हो । प्राथमिक पहिचानतर्फ फर्कन चाहने मानव प्रवृत्ति अहिले मात्र होइन । तर, अहिले हामीलाई अचम्म किन लाग्छ भने विज्ञानको चमत्कार देखिरहेका छौँ ।
अमेरिकी पहिचान र धर्म संकटमा छ भनेर डोनाल्ड ट्रम्पको उदय भएको छ, उनको यो विश्लेषणमा अमेरिकी जनसमुदाय सहमत भए, त्यसैले उनी निर्वाचित भए । इस्लाममाथि चुनौती छ भनेर अरब, अफगानिस्तान–पाकिस्तानमा जनतालाई उद्वेलित बनाइएको छ । यता भारत तथा नेपालमा हिन्दूधर्ममाथि षड्यन्त्र भइरहेको छ भन्ने भय छ । आफ्नो धर्म डुब्न लाग्यो, अर्काको धर्म भयानक भयो भन्ने मनोविज्ञान एकैपटक संसारभरि कसरी परेको होला ? आफ्नो धर्म संकटमा पर्‍यो र अरूको धर्म भयानक भयो भन्ने मान्छेलाई किन लागिरहेको छ ?
फ्रेन्चहरू यसका लागि ‘लङ ड्युही’ भन्ने शब्द प्रयोग गर्छन्, लामो सिकाइको प्रक्रिया हो । हाम्रो सोच्ने क्षमता भनेको आफ्नो अनुभव हो । कुरा बुझ्न थालेदेखि बाजेबजैले सुनाएको कुरा, पढेको कुरा अनि पढाइसँगै बढेको परिकल्पना नै तपाईंको अनुभव हो ।
विगत ५ हजार वर्षको इतिहास हेर्नुभयो भने सम्भवतः सबैभन्दा चामत्कारिक अविष्कार हो, भाषा । दोस्रो, आगो । तेस्रो, औजारहरू बनाउने क्षमता । तर, २०आैँ शताब्दीमा जस्ता चामत्कारिक आविष्कार पहिले निकै कम भए । २०औँ शताब्दीमा विश्व नै ध्वस्त पार्ने अणुबमदेखि रातलाई दिन बनाउने बिजुली, बिजुलीको गतिका सुपरसोनिक विमानलगायत मानिसको क्षमताले नभ्याउने प्रविधिको विकास भएको छ ।
जब क्षमताले नभ्याउने गरी प्रविधि बढ्छ, असहज महसुस हुन थाल्छ । चारैतिर विविधता मान्छेले कल्पना गरेभन्दा धेरै भएको छ । पहिले तपाईं बिहान उठ्नासाथ चिनेको मान्छे भेट्नुहुन्थ्यो, अहिले आधा नचिनेका मान्छे हुन्छन् । त्यही गाउँ, समाज, सहर, देशमा भएको छ । अंग्रेजीमा भनिने ‘अस एन्ड देम’को प्रभाव बढ्दै गएको छ ।
एउटा भारतीय हिन्दू मानवशास्त्रीको दृष्टिकोणमा प्रविधिको हिसाबले क्रिस्चियन अगाडि छ भने सम्पत्ति र तेलको हिसाबले मुसलमान अगाडि । चिनियाँ ‘अधर्मी’ अर्थतन्त्रमा अगाडि छन् । नानो टेक्नोलोजीमा बौद्ध कोरियन र जापानिज अगाडि छन् । अनि हामी कहाँ छौँ त ? भन्दा असहज हुन्छ । ट्रम्पलाई लाग्दो हो– कोलम्बसले पत्ता लगाएको अमेरिकामा ल्याटिन, मेक्सिकन र पूर्वी युरोपका मान्छे हाबी भए ।
अश्वेतहरू, जो हाम्रा दास थिए, आज उनीहरू मालिक हुन लागिसके । यस भावले सबैलाई असुरक्षा भएको छ । त्यसैगरी काठमाडौंको सत्ताधारी खस–आर्यलाई ३०–४० वर्षअघि एउटा सिके लाल आउँदा क्या मज्जा थियो, तर अहिले यस्ता सैकडौँ आए भन्ने लागेको छ । सजावटका लागि बैठककोठामा एक–दुईजना मधेसी देखाएर यी पनि हाम्रै देशका हुन् भन्नु र १० जनामध्ये चारजना मधेसी, चार जनजाति र दुई खसआर्य देखिन थालेपछि त आतंकित हुने भए । अनि सुरक्षा नखोज्नु त ?
अनि त्यसको सामान्यीकरण गरेर आतंकवाद किन हाबी भयो भन्दा मुसलमानले गर्दा भन्न थालियो । यस्तो खाले असुरक्षा भाव बढ्दै जान थालेपछि मान्छे पुरानो कुरातर्फ फर्कन्छ । प्रगतिशील राजनीतिको मूल आधार के हो भने हामी जनावर थियौँ, मान्छे छाैँ र देवत्वतर्फ बढ्दै छौँ । तर, त्यसको ठीक उल्टो अनुदारवादी राजनीतिको मूल आधार भनेको हामी देउता थियौँ, त्यहाँबाट हामीलाई मान्छेमा परिणत गरियो, अब यस्तै रहने हो भने हामीलाई दास बनाएर जनावरमा परिणत गर्छन् भन्छ । अहिले यस्तै खाले अनुदारवादी राजनीतिको बोलवाला हु“दै गएको छ ।
हिन्दूधर्मकै प्रसंगमा भारतीय हिन्दूभन्दा नेपाली र अझ पहाडका हिन्दू झनै उदार छन् भन्ने मान्यता थियो, त्यो आफैँमा सही हो कि होइन ? भारतमा मोदीको उदयपछि हिन्दूहरूको मनोविज्ञानमा कस्तो परिवर्तन आएको देख्नुहुन्छ ?
नेपाली, त्यसमा पहाडिया हिन्दू उदार भन्ने मान्यता नै सत्य होइन । किनकि धर्म आफैँमा उदार हुँदैन । धर्म अर्थात् ‘रिलिजन’ ल्याटिन भाषाको ‘रेलिगेरे’बाट आएको हो, जसको अर्थ बाँध्नु हो । बन्धन भनेको खुकुलो होइन । त्यसैले जहाँ बन्धन हुँदैन, त्यहाँ धर्म भएन । धर्म भएन भने अधर्म भयो । अब पहाडको हिन्दू कसरी उदार ?
उदाहरणका लागि, मधेसमा अथवा सीमापारि भारतमा एकजना जेठो छोरो किरिया बसे पुग्छ, तर खस–आर्यमा सबै छोरा किरिया बस्नुपर्छ । मधेसमा र भारतमा १३ दिनमा सबै किरियाकर्म सकिन्छ, तर खसआर्यमा वर्ष दिनसम्म सेतो कपडा लगाएर बरखी बार्नुपर्छ । महिलाले चार दिन नछुने बार्नुपर्ने नियम अरू कुनै हिन्दू समुदायमा छैन, पहाडमा मात्र छ । महिला अशुद्ध हुने, खाना पकाउनु नहुने, अझ छुनै हुँदैन भन्ने विश्वास त पहाडकै हो । अनि कसरी उदार भन्न मिल्ला र ?
बरु पहाडी हिन्दू झनै कट्टर र पुरातन छन् । कट्टर र पुरातन हुनुको कारण के हो भने उनीहरूमध्येको ठूलो संख्या भागेर आएको हो । अमेरिकामा पुगेका हिन्दू झट्ट हेर्दा उदार देखिएलान् किनकि गाईको मासु खान सक्छन् । तर, तिनको घरमा गएर हेर्नुभयो भने सबैभन्दा धेरै पूजापाठ गर्छन् । सबैभन्दा धेरै मन्दिर बनाउन खर्च गर्छन् । मोदीजस्ता शासकको सबैभन्दा भव्य स्वागत उनीहरू नै गर्छन् । आरएसएसका ठूला चन्दादाता उनै हुन्छन् ।
भारतका प्रख्यात समाजशास्त्रीले यसलाई ब्राह्मणीकरणको नाम दिएका छन् । जब तथाकथित तल्लो जातको मान्छेले अलिकति सम्पत्ति जोड्छ, उसले पहिलो काम सत्यनारायण कथा लगाउँछ । दोस्रो, भागवतपुराण लगाउँछ । तेस्रो, मन्दिरलाई चन्दा दिन्छ र चौथो, हवन गराएर मिल्ने पुरोहित फेला पार्‍यो भने यथोचित दक्षिणा दिएर जनै धारण गर्छ ।
बाहुन हुनलाई त बाहुन परिवारमै जन्मन पर्छ । तर, यसरी जनै धारण गरेको नयाँ जनैधारीलाई बाहुन भएर जन्मनु पर्दैन । अब क्षेत्रीको कुरा पनि त्यस्तै हो । जसलाई क्षेत्री भनिन्छ, उनीहरूमध्ये धेरै कि जनजाति बिहे गरेर कि सेनाको पदवी पाएर यो जातका भएका हुन् । दुईचार राजारजौटालाई छाडेर पहाडमा मूल क्षेत्री कहाँबाट आउनु ?
शास्त्रले नै जसले गौ र ब्राह्मणको रक्षा गर्छ ऊ क्षेत्री हुन पाउँछ भनेको छ । तर, पछि क्षेत्री भएकाले पनि त्यो सावित गर्न धेरै मिहिनेत गर्छ । अनि जति–जति मध्यमवर्गको जनसंख्या बढ्छ, उति नै टोलमा मन्दिरको संख्या बढ्छ । उति नै रातभरि कीर्तन हुुन्छ । तिरुपति तथा पशुपतिमा लाम बढ्छ । किनभने उसले नयाँ सम्मान खोजिरहेको हुन्छ । यसलाई राजनीतिक शब्दमा ‘एरिभिस्ते’ भन्ने गरिन्छ । ‘एरिभिस्ते’ भन्नुको अर्थ ‘म पनि आइपुगेँ है’ भनेर सन्देश दिनु हो । त्यस्तो समूहले उच्चवर्गको सामाजिक सांस्कृतिक बानीको नक्कल गर्ने हो । क्षेत्री बनेका नयाँ ‘एरिभिस्ते’हरूले भने बाहुनकै नक्कल गर्ने हो, बाहुन ‘एरिभिस्ते’हरूले युरोपियनको नक्कल गर्ने हो । अनि उनीहरूले आफ्नो समुदायको अझ बढी नै चिन्ता गर्छन्, त्यसैको प्रतिबिम्ब अहिले देखिएको छ ।
यो त आफ्नो आस्था र विश्वासको मात्र कुरा भएन, अरूको इमानलाई अविश्वास गर्ने र अरूको आस्थालाई अस्वीकार गर्ने प्रवृत्ति पनि हाबी भएको छ । अरूभन्दा म बढी धर्मरक्षक र अरूभन्दा म बढी देशभक्त भनेर घोषणा गर्ने प्रतिस्पर्धा किन चलेको होला ?
यो प्रश्नको जवाफ धेरै दिनदेखि खोजिरहेको छु । किनकि हिन्दूधर्ममा देशभक्ति भन्ने अवधारणा छैन । त्यहाँ राजभक्ति छ । भीष्म पितामहको प्रतिज्ञा देशप्रति होइन, शासकप्रति हो । रामायणमा रामको प्रतिज्ञा अयोध्याप्रति होइन, राजसत्ता र दशरथ राजाप्रति हो ।
तर, शासक र देश यति धेरै जोडिएको छ कि देशभक्ति र राजभक्तिबीचमा हिन्दूधर्मले कुनै फरक छुट्याउँदैन । राजसंस्थाको पुरातन अवधारणा राजाको दीप्ति फैलिने ठाउँसम्म नै देश हो । इस्लाममा पनि त्यही हो । इस्लाम पनि के भन्छ भने धर्म पहिलो हो । खासमा, हिन्दूहरू मातृभूमि मात्र होइन, पितृभूमिप्रति पनि बफादार हुन्छन् ।
पितृभूमि भनेको पिता वा पुर्खाको भूमि । अमेरिका पुगेको हिन्दूको छोराछोरी अमेरिकामा जन्मियो भने उसका लागि मातृभूमि अमेरिका नै हो नि । तर, उसले पुर्खाको धर्म, भारतको धर्म, हिन्दूधर्म बचाउने दायित्व सकिनसकी बोक्न चाहन्छ । हाम्रो राज्य नै युरोपियन अवधारणाको ‘वेस्टफालियन सेटेलमेन्ट’को सन् १६४८ बाट आएको हो । त्यहाँ धर्मको सञ्चालक पादरी हुन्छ भने भौतिक राज्यको सञ्चालक राजा हुन्छ । यी सबै कुराले गर्दा के भयो भने देशभक्तिको निर्धारण धर्मले गर्ने हो ।
त्यस्तो समाजमा नागरिक–राज्य सम्बन्ध नै रहँदैन । देश भनेको जनताले, मानवले आफ्नो सेवा, सुविधा र सुरक्षाका लागि सिर्जना गरेको संस्था हो भन्नुपर्नेमा देश भनेको आमा वा बाबु हो भन्ने बनाइयो । आफू सुपुत्र भनेपछि बाउको आशीर्वाद लिँदै अर्कोलाई कुपुत्र घोषणा गर्न मिल्यो । यसमा धेरै अवयव जोडिएको छ । यो मध्यमवर्गको विकाससँग पनि जोडिएको छ । निम्नवर्गको धर्म र देश दुवै परिवर्तनशील हुन्छ । त्यसैगरी उच्च वर्गलाई पनि फरक पर्दैन ।
निम्नवर्ग बाँच्नैका लागि आफ्नो संघर्षमा । उच्चवर्ग सत्ता र शक्ति एकीकृत गर्ने ध्याउन्नमा हुन्छ । नेपाल, अमेरिका, रुस, जापान, भारतको उच्चवर्गले एउटै खाले जीवनशैली अपनाइरहेको हुन्छ । । तल्लो वर्गलाई तल झर्ने डर हुँदैन किनभने त्योभन्दा तल जाने अर्को ठाउँ छैन । उपल्लो वर्ग यति निश्चिन्त छ कि जे भए पनि शासन हाम्रै चल्ने हो भन्नेमा छ । तर, मध्यमवर्ग क्षमता, महत्वकांक्षाका साथ भयभीत अवस्थामा छ । मध्यमवर्गमा माथि जाऔँला कि भन्ने अलिकति आश छ, धेरै डर छ । अनि तल नझर्नबाट रोक्नका लागि उसलाई धर्म, राष्ट्रियता नै तिम्रो अन्तिम आधार हो भनेर सिकाइएको छ ।
धर्म र नश्लको बहस चर्कंदै जाँदा शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता मान्छेका आधारभूत आवश्यकताका विषय छायामा परेका छन् । खासमा देश, धर्म वा आफ्नो नश्ल संकटमा छ भनेर मान्छे डराएको छ र आफ्ना दुःखमाथिका प्रश्न बिर्सिएको छ । यो मनोविज्ञान स्वतः निर्माण भइरहेको छ कि कुनै योजनास्वरूप ? आधारभूत प्रश्नहरू नै शासकलाई नगरिसकेपछि शासकलाई त सुविधा भयो नि, होइन र ?

शासकलाई आधारभूत प्रश्न गर्‍यो भने पनि सुविधा नै हुन्छ । किनभने शासक भनेको बडो सिर्जनशील, कल्पानाशील हुन्छ । आपसमा जति झगडा गरे पनि शासितसँगको प्रश्नमा ती एक हुन्छन् । उनीहरूको अन्तर्राष्ट्रिय सम्पर्क पनि बेपत्ताको बलियो हुन्छ ।
वादको आविष्कार भएदेखि सबैभन्दा बलियो पुँजीवाद भएको एउटै कारण के हो भने यो विश्वव्यापी छ । एउटा शासक जोखिममा आयो भने अर्काले टेको दिन्छन् । त्यसैले त शासक शासक छन् । कार्ल माक्र्सको विश्लेषण यहाँ सही हुन आउँछ– शासकहरू संगठित हुन्छन् । एकले अर्कोलाई टेको दिइहाल्छ ।
समाजवाद र साम्यवादमा त्यो सुविधा कहिल्यै उपलब्ध भएन । पुँजीवाद विजयी हुनु र समाजवाद ध्वस्त हुनुको मुख्य कारण यही अन्तर्राष्ट्रिय सञ्जाल हो । के कुरा उठाउने भन्नेसमेत शासककै हितमा हुन्छ । क्रान्ति गरेपछि सबै कुरा बदलिन्छ भन्ने नहुँदो रहेछ । संघर्ष गर्दै जाने हो । मानव इतिहासले यही कुरा देखाएको छ । फ्रान्सेली क्रान्ति, अमेरिकी क्रान्ति, भारतीय क्रान्ति, चिनियाँ क्रान्तिजस्ता जति नै क्रान्ति भए पनि शासकवर्ग ढिलो–चाँडो त्यहीँ आइपुग्छ ।
धर्म अफिम हो भन्ने राजनीतिक विचारधाराबाट आएका नेताहरू आजभोलि मन्दिर र पूजाआजामा आकर्षित भएका मात्र होइनन् कि नानाथरीका बाबाजीहरूको कुटीमा धाउन थालेका छन् । क्रान्तिकारी नेतामा आएको यो परिवर्तनलाई सकारात्मक मान्ने कि नकारात्मक ? उनीहरू हिजो गलत थिए, आज सही ठाउँमा आएका हुन् वा हिजो सही थिए, आज गलततिर पुगे ?
उनीहरू न सही ठाउँमा आएका, न बिग्रेका हुन् । मैथलीमा एउटा उखान छ– हारे को हरिनाम । युद्धमा जित्नेले विषयघोष गर्दै उत्सव गर्छ । हार्नेले गर्ने कीर्तन हो । अहिले जेजस्तो क्रान्तिका कुरा गरे पनि तिनीहरू हारेकै हुन् । तिनले अर्कै गन्तव्य सोेचेका थिए, बीचमै सम्झौता गर्न बाध्य भए । हुन सक्छ, उनीहरू अझै पनि भौतिकवादी कुरा गर्न सक्छन्, तर तिनीहरू हारेकै हुन् । गणतन्त्र ल्याएँ भनेर गम्किनुपर्ने केही आधार छैन । किनभने उनले भनेको सामाजिक, सांस्कृतिक, आर्थिक कुनै पनि कार्यसूची लागू भएन । समतामुखी बाटो समात्छु भने पनि त्यो बाटो अंगीकार गर्न सकेनन् । हारेपछि के गर्ने ? हरिनाम ।
अर्को समुदायको मान्छे असहिष्णु भयो भन्ने आममान्यता भयो, तर किन असहिष्णु भयो भन्ने विश्लेषण गर्ने र त्यसलाई सम्बोधन गर्ने प्रयास देखिँदैन । समुदायको अधिकार र जिम्मेवारीको बहसमा पनि मधेसले पहाडलाई जे बुझाउन खोजेको छ, तर संवादको शैली नै उदार र रचानात्मक भएन भन्नेजस्तो लाग्छ । तपार्इंलाई कस्तो लाग्छ ?
यो कुरा भारतमा मुसलमान, अमेरिकामा अफ्रिकन अमेरिकन अश्वेत अथवा ल्याटिन, युरोपमा एसियन–अफ्रिकाका शरणार्थी अथवा पूर्वी युरोपका शरणार्थी सबैमा लागू हुन्छ । एउटा समूह, जसलाई संरचनागत लाभ प्राप्त छ र अर्को समूह जो संरचनागत रूपले नै शोषित छ, तिनमा लाभ पाएको समूहभित्र अहंकारको पहाड असाध्यै ठूलो हुन्छ ।
तिनले तर्कको भाषा बुझ्दैनन् । त्यसलाई सुन्दैनन् । सगरमाथाको चुचुरोमा बसेकालाई फेदबाट कराएर केही सुनाउन सकिँदैन । संरचनागत लाभ पाएकामा अहंकार अर्कोतिर संरचनागत शोषणमा परेकामा हीनताबोध र ग्लानिभावका बीच संवाद हुनुपर्छ भन्नु आदर्शपूर्ण कुरा हो । तर, वास्तविकतामा त्यस्तो हुँदैन । ग्लानि र हीनताबोधको इनारमा पुगेकामा आत्मविश्वास जगाउन अलिकति चर्को कुरा गर्नैपर्ने हुन्छ ।
माओले भनेको सम्झन्छु– क्रान्ति भनेको कुनै चिया पार्टी होइन । संरचनागत विभेदमा परेकाहरूले अलिकति चिच्याउनुपर्ने बाध्यता हुन्छ । त्यसका लागि संघर्ष गर्नैपर्छ । अफ्रिकन अमेरिकनको मुक्ति संघर्ष बगेर भएको होइन । राणा, शाह संघर्षविना हटेका होइनन् । त्यसैले संघर्ष बैठक कोठामा बसेर, चिया, कफी खाएर हुन्छ भन्नु आदर्श कुरा हो, जुन सम्भव हुँदैन ।
मधेसको संघर्षको प्रसंगमा कुरा गर्ने हो भने त्यसको अगुवा उपेन्द्र यादव, राजेन्द्र महतो नै हुन् । उनीहरूले आन्दोलनबाटै पहिचान बनाएका हुन्, जुन आन्दोलन सकिएको छैन । तर, जब सरकारमा जान्छन्, कालो झन्डा देखाएको आरोपमा त्यही समुदायका जनता जेल जानुपर्छ, मृत्युवरण गर्नुपर्छ । उपेन्द्र यादव र राजेन्द्र महतो अब मधेसका आन्दोलनकारी कि देशका शासक ?
अलिक फरक ढंगले हेर्ने प्रयास गरौँ, राज्य त हामीले बनायौँ तर शासन गर्ने वैधानिकता कहाँबाट आउँछ ? पहिलो, पुरातन सोचमा शासनको वैधानिकताको स्रोत मोहनशमशेरले बिपीलाई भनेजस्तै ललाटमा लेखेर ल्याउनुपथ्र्यो । यसलाई दैविक वैधानिकता भनिन्छ ।
दैविक वैधानिकताका आधारमा इरानमा क्रान्ति सम्पन्न भयो । तर, शासन गर्न फ्रान्सबाट जहाज चढेर इरान ओर्लनुभयो आयतुल्लाह खोमेनी । जननिर्वाचित प्रतिनिधिभन्दा माथि खुमेनीहरू सधैँ बहाल हुन्छन् ।
दोस्रो, तरबारको वैधानिकता हो । जंगबहादुरले पहिल्यै भनेका हुन्, जसको तरबार उसको दरबार । क्रिमिया, अफगानिस्तान, लिबियामा जे भयो, त्यो तरबारको वैधानिकता हो । २१औँ शताब्दीमा यस्तो वैधानिकता अझै कायम छ ।
तेस्रो, क्रान्तिको वैधानिकता । यसमा राजनीतिले कानुन बनाउँछ । ‘पोलिटिक्स मेक्स लज’ त्यसै भनिएको होइन ।
चौथो, मतपेटिकाको वैधानिकता, जसलाई धेरैले पत्याए त्यो नै सत्तामा स्थापित हुने र उसमा शासनको वैधानिकता पनि कायम हुन्छ ।
पाँचौँ, कार्य सम्पादनको वैधानिकता । यो अवधारणालाई चीनले मान्ने गरेको छ । तर, हाम्रो शासनको वैधानिकता के हो त ? नेपाल सत्तालाई अलिकति दैविक वैधानिकता प्राप्त छ । यसले क्रान्तिको वैधानिकता पनि दाबी गर्छ । यसले मतपेटिकाको वैधानिकताको कुरा पनि गर्छ । तर, हाम्रोमा कार्य सम्पादनको वैधानिकता छैन । कार्य सम्पादनको वैधानिकता नभएपछि उसले कानुनको वैधानिकता खोज्छ ।
लेखेको अक्षरको वैधानिकता खोज्छ । त्यो भनेको झन्डै–झन्डै दैविक वैधानिकताजस्तै हो । जसरी गीता–कुरान छ, त्यस्तै संविधान छ । उनीहरू त्यो किन लेखिएको भन्नेतर्फ जाँदैनन् । जसरी धर्मले बाँध्छ, त्यसैगरी संविधान पनि बाँध्नका लागि हो भन्ने बुझ्छन् । जबकि कानुन बलियोलाई बाँध्न र निर्धोलाई सुरक्षा दिन हुनुपर्ने थियो ।
तर, यहाँ त्यसको अभ्यास उल्टो भएको छ । राजनीतिमा एउटा– ‘रुल अफ ल’ हुन्छ । अर्को– ‘रुल बाई ल’ हुन्छ । ‘रुल अफ ल’मा कमजोरले शंकाको लाभ पाउँछ भने ‘रुल बाई ल’मा बलियाले शंकाको लाभ लिन्छ ।
अब उपेन्द्रहरू हारेका आन्दोलनकारी हुन् । शासक कसरी हुनु र ? शासकको सपना त उनीहरूले नदेखे पनि हुन्छ । त्यसैले उनलाई कालो झन्डा देखाउने राममनोहर यादवलाई उनले समाउन लगाएका होइनन्, स्थायी सत्ता छ नि, त्यसैले समातेको हो ।
विजय गच्छदार मन्त्री हुँदाको कुरा सम्झन्छु, उनले भन्थे– मैले भनेको मेरै पियन र सिडिओले मान्दैन । त्यसैले उपेन्द्र यादवले भनेको पनि यो राज्यसत्ताले सुन्छ भन्नेमा मलाई शंकै छ । जसरी प्रचण्ड–बाबुराम संघर्षमा हारेका हुन्, त्यसैगरी उपेन्द्र यादव र राजेन्द्र महतो हारेका हुन् ।
बरु के हुन सक्छ भने मौकामा राम्रो मोटर चढ्लान्, घर बनाउलान्, तर उनीहरूको हातमा सत्ता छैन । त्यसैले सामाजिक परिवर्तनको संघर्ष निरन्तर चल्ने संघर्ष हो । पात्रहरू फेरिँदै जान्छन्, संघर्ष चलिरहन्छ । समाज रूपान्तरणले ऊर्जा पाउने नै निरन्तर संघर्षबाट हो । त्यसैले क्रान्ति भनेको घटना होइन, निरन्तरता हो ।
अब अन्त्यमा तपार्इंकै कुरा गरौँ, ट्रम्पले नेतृत्व गरेको अनुदार राजनीति मानवतामाथिको चुनौती हो भनेर प्रखर आलोचना गर्ने तपाईंलाई नेपाली समाजमा डलरवादी भनिन्छ । त्यस्तै भारतीय उन्मादी सत्ताको आडमा गौरी लंकेशजस्ता पत्रकारको हत्या भयो भनेर माइतीघर मण्डलामा भाषण गर्ने तपाईंलाई नै भारत निकट भनेर चिनिन्छ । तपाईंको वास्तविक पहिचान के हो ?
यसमा अलिक असन्तुलित भाषा प्रयोग गर्नुपर्ने हुन्छ । जसलाई नेपालको बुद्धिजीवी भनिन्छ, त्यसमा पुरेत प्रवर्गको बाहुल्य छ । कसैको पूजा गराउने, हवन गराउने, ग्रह कटाउने वर्गले यो सबका लागि दक्षिणा लिन्छ ।
काका–मामाको किरिया गर्दा पनि दक्षिणा लिने समूहको मानोवृत्ति पनि त्यहीअनुसार विकसित भएको हुन्छ । त्यस्तो समूहले कोही आफ्नै आस्थाका लागि पनि ठूलो मूल्य र जोखिम उठाएर न्यायका लागि बोल्छन् भन्ने कल्पनासमेत गर्न सक्दैन ।
दक्षिणा त पाएकै होला भन्ने अनुमान गर्छन्, आफ्नै अनुभवका आधारमा । अर्को कुरा मूलतः ‘असामाजिक’ सञ्जालको विकासले हामी जस्तालाई निकै गाह्रो भएको छ । त्यहाँ जे भने पनि त्यसको पुष्टि गर्नु पर्दैन । तर, कुनै मान्छे पार्टी, धर्म, राज्यसत्ता, व्यापारी, मिडियासँग जोडिन्छ भने उसको प्रतिरक्षा त्यहीँबाट हुन्छ ।
तर, मजस्तो नितान्त एक्लो मान्छे हुन्छ भने त्यसको प्रतिरक्षा आफैँले गर्नुपर्ने हुन्छ । खासमा मजस्ता मान्छेको पहिचान संकटमा छ ।
फाेटाे : अमुल थापा / नयाँ पत्रिका 

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।