नारी–मुक्तिको धर्मशास्त्र

बुधबार, १० असोज २०७५, ०९ : ३९ |  राजकिशोर रजक

कार्य–आधारित लैंगिक भेदभाव दुनियाँभर छ तर हिन्दू ब्राह्मण व्यवस्थाले आफ्नो खास ‘आध्यात्मिक फासीवादी’ विचारधाराबाट लैंगिक विभेदलाई संस्थागत गरेको छ । उक्त विचारधाराले सामाजिक चेतनालाई गहिरो रूपमा प्रभावित गरेको छ । कार्यस्थललाई वि–लैंगिकीकरण महिला आजादीको मूल उद्देश्य हुनुपर्ने हो तर वि–लैंगिकरणका लागि वि–हिन्दूकरण जरुरी छ । वि–हिन्दूकरण नारी विरोधी हिन्दूशास्त्रको व्यावहारिक बहिस्कारबाट सम्भव छ । नारी उत्पीडन व्यावहारिक रूपमा हिन्दू–ब्राह्मण विचारधारासँग जोडिएको छ । सतिप्रथा, कन्यादान, बालविवाह, दहेज प्रथा, नारी अशिक्षा, महिलाको सम्पत्तिबाट वञ्चित, भयको निर्माण आदि मनुवादी विचार हुन्।
हिन्दू ब्राह्मण समाज वैज्ञानिक र आध्यात्मिक विचारधाराको बीचमा पुल बनाउन असफल भएको कारण हिन्दूत्वको मृत्यु भइरहेको छ । हिन्दूत्व विचारधारा आफ्नै कारणले दिन प्रतिदिन कमजोर हुँदैछ । तर्क र विश्वासबीच संवाद बनाउन सकिरहेको छैन । संसारलाई मुख्य चार आध्यात्मिक संसारका रूपमा विभाजन गर्न सकिन्छ : क) इसाई जगत्, ख) बौद्ध जगत्, ग) इस्लामी जगत् र घ) हिन्दू जगत् । यसका अतिरिक्त अरु पनि ससाना धार्मिक जगत् छन् तर तिनको आध्यात्मिक संसार बनिसकेको अवस्था छैन।
संसारका चारै ठूला धर्ममध्ये हिन्दू धर्म सबभन्दा सानो र गरिब छ जोसँग समाज रूपान्तरणको कुनै आध्यात्मिक सूत्र छैन । हिन्दू व्याख्याकार आदि शंकराचार्यदेखि सर्वपल्ली राधाकृष्णनसम्म ब्राह्मणवादी रुढिवाद, जाति–संस्कृतिको नकारात्मकताको समर्थक छन् । भारत र नेपालमा हिन्दू धार्मिक पहिचान एकदमै नयाँ छ तर यो धर्मको आधारमा मौजुदा ब्राह्मणवाद पुरानो चिज हो । हिन्दू धर्म फैलिने धर्म होइन । किनभने गैर–हिन्दूलाई हिन्दू बनाउनु प¥यो भने कुन वर्ण वा जातमा राख्ने भन्ने समस्या छ । वर्ण र जात जन्मसँग जोडिएको छ । ब्राह्मणले रुढिवादी आध्यात्मिक–तन्त्रको हिन्दू पहिचानको श्रेय मुस्लिम विद्वान्लाई दिन्छ।
७१२ ई. मा मुस्लिम आक्रान्ता मुहम्मद विन कासिम ब्राह्मण राजा दाहिरलाई परास्त गरेर सिन्धलाई आफ्नो उपनिवेश बनाउँछन् । त्यतिबेला भारतमा बहुदेववादको झण्डा बुलन्द भएको देख्छन् । बहुदेववादको बीजारोपण गरेका आर्य–ब्राह्मणलाई मूर्तिपूजक कुफ्र वा काफिर नाम दिन्छन् । यसरी मन्दिर निर्माण गरेर कथित देवताको मूर्ति प्रस्थापित गरेर धर्मको धन्धा चलाउने बहुदेववादीलाई हिन्दू नाम दिइएको थियो जसको अर्थ हो काफिर । यसको श्रेय मुस्लिम विद्वान् अल–बेरुनीलाई जान्छ जसले आफ्नो प्रसिद्ध पुस्तक ‘अल–हिन्द’ लेखे र हिन्दू शब्द आफूभन्दा अलग गर्न गालीका रूपमा प्रयोग गरे । आठौँ शताब्दी ई.पूर्वको कुनै भाषामा हिन्दू र हिन्दूस्तान शब्दको प्रयोग भएको पाइँदैन । भारतमा हिन्दू शब्दको प्रयोग १२औँ शताब्दीको अन्ततिर राजा पृथ्वीराज चौहानका दरबारी कवि चन्द्र वरदाईको ‘पृथ्वीराज रासो’मा भएको देखिन्छ । तर, अरब र फ्रान्समा यो शब्दको प्रयोग पर्याप्त पूर्वकालदेखि नै हुँदै आइरहेको थियो।
कार्य–स्थल वा क्षेत्रको वि–लैंगिकीकरण महिला र पुरुषको सम्बन्धमा रूपान्तरण ल्याउनुको साथै समाजलाई पनि नयाँ शिराबाट व्यवस्थित गर्छ । हिन्दू–ब्राह्मण धर्मले नारी–सौन्दर्यको धारणालाई साडी–ब्लाउजको वरिपरि निश्चित गरेको छ । जब धर्ममा आध्यात्मिक लोकतन्त्रको स्थान हुँदैन र मान्छेको चेतनालाई लगातार आध्यात्मिक तानाशाहीबाट प्रशिक्षित गर्छ तब नारी मुक्तिका सबै बाटा बन्द हुन्छन् । हिन्दू ब्राह्मण धर्मबाट आध्यात्मिक लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन । ब्राह्मणहरू केवल असमानताबाट मात्र सन्तुष्ट भएन, त्यसैले उनीहरूले चर्तुवर्ण व्यवस्थाको निर्माणबाट क्रमिक असमानताको सिद्धान्त निर्माण गरे।
हिन्दू अध्यात्मले नारी शरीरलाई केवल पुरुषको यौन सन्तुष्टि क्षेत्रका रूपमा देख्छ । तर, बहुजन नारीवाद उनीहरूको कार्यक्षेत्रको उत्पादन नैतिकताबाट प्रभावित हुन्छ । बहुजन नारीत्वले आफ्नो उत्पादनको नैतिक बलबाट पितृ–व्यवस्थालाई लोकतान्त्रिक बनाएको छ । बहुजन नारीवाद श्रम र उत्पादनद्वारा वि–लैंगिकीकरण गरेको छ । पितृसत्ताको मूल चरित्र उनीहरूमा छैन । मूल चरित्र मनुवादमा छ जसलाई ब्राह्मणहरूले विभिन्न शास्त्र निर्माण गरेर कडाइपूर्वक लागू गरे । पितृसत्ताको मूल स्रोत ब्राह्मणवाद हो । मनुवादी नारीवाद पितृसत्ताको विरोध गर्छ तर ब्राह्मणवादको विरोध गर्दैन । हिन्दू धार्मिकतन्त्रको निर्माण नै यस्तो छ कि नारीलाई केवल यौनवस्तुका रूपमा देख्छन् । यो ब्राह्मण संस्कृतिको हिस्सा हो।
बाबासाहेव डा. अम्बेडकरको विचारधाराअनुसार नारीत्वको परिधि, गुण, व्यवहार, उनीसँग जोडिएको भूमिका तथा मौलिक कर्तव्यबाट समाज निर्माण भएको छ । हामीले वास्तविक नारीत्वको संज्ञान निस्पक्ष दृष्टिकोणबाट गर्नुपर्छ । समाजमा सबभन्दा पहिला नारीत्वको निर्धारण प्राकृतिक दृष्टिकोणबाट भएको हो । प्रकृतिले आफ्नो प्राकृतिक सन्तुलन कायम राखिराख्न यौन कर्तव्यको भिन्नतालाई छाडेर नारीको जुन कर्तव्य निर्धारित ग-यो, त्यसैको समानान्तरमा पुरुषको भूमिका पनि निर्धारण ग-यो । यही विन्दुबाट वास्तविक नारीत्वको निर्माण हुन्छ।
बहुजन नारीवादी आन्दोलन अम्बेडकर विचारधाराबाट प्रभावित छ । अम्बेडकरी अन्दोलनमा मानवताको परिधिको निर्माण दुई समान त्रिज्या (स्त्री–पुरुष) योगको व्यासबाट हुन्छ । मूलनिवासी बहुजनको इतिहासको केन्द्र न त मातृसत्तात्मक थियो न त पितृसत्तात्मक नै थियो । समाजको संरचना लैंगिक समता तथा समतुल्यतामा आधारित थियो । मातृसत्तात्मक तथा पितृसत्तात्मक दुई विचारधारामध्ये कुनै एउटा हुनुको मतलब असमानताको नै प्रतिनिधित्व गर्नु हो ।
मूलनिवासी बहुजन समाज जातिवादको शोषणबाट पीडित छन् तर बहुजन महिलाहरू जातिवादको सँगसँगै मनुवादको गैरबराबरी व्यवस्थाबाट पनि पीडित छन । विधवा विवाह नहुनु, समयको एउटा कालखण्डसम्ममा सति प्रथा, बालविवाह, घुँघट प्रथा, बुर्का प्रथाबाट महिलाहरू किन पीडित छन् ? यी प्रथाको विरुद्धमा मनुवादी नारीवादीहरू किन आवाज उठाउँदैनन् ? यसको मूल कारण महिला सम्पत्तिको अधिकारबाट वञ्चित हुनु हो । महिलाको सम्पत्ति छैन बरु महिला स्वयं पुरुषको सम्पत्ति हुन् यो विचारधारा मनुवादी विचारधारा हो।
नेपालको नारीवादी आन्दोलन जातव्यवस्थाको श्रेष्ठताबाट संक्रमित छ । आन्दोलनको नेतृत्व सवर्ण वर्चश्ववादीले गरिरहेका छन । बहुजन महिलालाई प्रतीकका रूपमा राखेका छन । सवर्ण महिलाले बहुजन महिलासँग छुवाछूत, उचनीचको व्यवहार, सामाजिक विभेद गर्छन् । सवर्ण शास्त्र, परम्परा, स्वजातीय विवाह, जातव्यवस्था, कन्यादान आदि विषयमा आमूल परिवर्तनकारी दृष्टिकोण राख्दैनन् । पितृसत्ताको मूल स्रोत हिन्दू–ब्राह्मण शास्त्रलाई नकार्ने र सामाजिक रूपमा बहिष्कार गर्ने दृष्टिकोण र कार्यक्रम छैन । ब्राह्मणवाद रहेसम्म पितृसत्तालाई रूपान्तरण गर्न सकिँदो रहेनछ भन्ने कुरा व्यवहारबाट प्रमाणित भएको छ । जब कुनै दलित महिला हिंसामा पर्छ, छुवाछूतको शिकार हुन्छ, जातीय विभेदको शिकार हुन्छ तब मनुवादी नारीवाद कहीँकतै देखिँदैन।
बहुजन नारीवादको आन्दोलनको शब्दावली पुरुष वर्चश्ववादी हुनु हुँदैन । महापुरुषको सट्टा महानायक र महिलाको हकमा महानायिका शब्दको प्रयोग गर्नुपर्छ । बहुजन पुरुषभित्र जुन पुरुषवाद छ त्यो ब्राह्मण पुरुषबाट आयातित हो । त्यो उसको मूल प्रवृत्ति होइन । त्यस्तै वर्तमानमा बहुजन नारीमा जुन नारीवाद छ त्यो पनि ब्राह्मण नारीबाट आयातित छ । बहुजन नारीहरूमा जसले आफ्नै नारीलाई शोषण गर्छन्, जजसले शोषण भोगेका छन्, उनीहरूले त्यो प्रवृत्ति सवर्ण महिलाबाट सिकेका हुन् । नारी उत्पीडनको प्रवृत्ति बहुजनको मूल प्रवृत्ति थिएन।
नक्कलको सन्दर्भमा गैबरिल टार्डेले वैज्ञानिक अध्ययन गरेका छन् । उनकाअनुसार नक्कल गर्ने प्रवृत्तिलाई तीन भागमा विभाजन गरी विश्लेषण गरेको छ । उनको तीन नियममध्ये एउटा नियम ‘तलकाले माथिको नक्कल’ गर्छन् । उनकै शब्दमा ‘अवसर मिल्दा दरबारी सधैँ आफ्नो नायक, आफ्नो राजा, अधिपतिको नक्कल गर्छ र आम जनता आफ्नो सामन्तको नक्कल गर्छन् (डा. अम्बेडकर, भारत में जातिप्रथा)’।
नारी आफैं धेरै शक्तिशाली छन् किनभने नारीले नै पुरुषको जन्म दिन्छ । पुरुषलाई जन्म दिने भएको हुनाले पुरुषवादलाई पनि नारीले नै खत्तम गर्न सक्छन् । नारीको आजादी वि–हिन्दूकरणसँग जोडिएको छ।
(अम्बेडकरी तथा बहुजन अध्येता)

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

Why Student’s Day Celebrations Don’t Make Sense

वाम एकताको विभ्रम