नगरिकता संसोधन ऐन पछाडी लुकेको हिन्दुत्व राजनीति

राजकिशोर रजक 

अयं निजः परोवेति, गणना लघु चेतसाम् ।
उदार चरितानानन्त, वसुधैव कुटुम्बकम् ।।

“यो व्यक्ति मेरो हो, यो मेरो होइन” भन्ने भनाई संकुचित मस्तिष्क भएको व्यक्तिले मात्र भन्न सक्छ । उदार चरित्रको व्यक्तिको लागि पुरा विश्व एउटा परिवार जस्तै हो ।

माथिको श्लोक भारतीय संसद भवनको भित्तामा लेखिएको छ । उक्त श्लोक भारतीय लोकतन्त्रको आधारभुत मूल्यको परिचय दिन्छ । त्यस कारण सन् २०१० मा अमेरिकाको राष्ट्रपति बराक ओबामा भारतीय संसदको संयूक्त सत्रलाई संबोधन गर्दा उक्त श्लोकलाई अंग्रेजीमा अनुवाद गरि उच्चारण गरेको थियो । बराक ओबामालाई संस्कृत भाषासँग कुनै लगाब थिएन बरु भारतीय लोकतन्त्र र भारतीय संविधानको आधारभुत मूल्य प्रति गहिरो सम्मान प्रकट गरेको थियो ।

भारतीय लोकतन्त्र र संविधान प्रति जुन सम्मान भारत बाहिर छ त्यो सम्मान राष्ट्रिय संवमसेवक संघ (आरएसएस) तथा भारतीय जनता पार्टि (बिजेपि) को मोदि नेतृत्वको सरकारसँग किन छैन ? आरएसएस÷बिजेपिलाई वर्तमान संविधान देखि किन समस्या छ ? नोट बंदी, आर्टिकल ३७०, राम मंदिर, सिएए, एनआरसि भारतीय जनताको मुदा होईन् । यी मुदाहरु आरएसएस÷बिजेपिको लाईफलाईन हुन् । संघ परिवारले आफ्नो मुदालाई सदैब तताएर राख्नमा सफल भएका छन् ।

विश्व एउटा परिवार हो भन्नेले आफ्नै देशलाई परिवार बनाउस सकेन । आज पनि जातिय भेदभाव, नारी सुरक्षा र मूक्ति, सम्प्रदायिक दंगा, असहिष्णुता संघ परिवारको अध्यात्मिक फासिवादवाट निर्देशित छ । यो कुरा तब झन भयान हुन्छ जब संघ परिवारद्धारा पोषित ‘हिन्दुत्व’ आन्दोलनको विचार सत्ता संरक्षणमा मुखरित हुन्छ । हिन्दुत्वको मतलब सारमा सवर्ण ब्राद्मणवाद हो ।

हिन्दुत्ववादी विचारधारा र सावरकर

हिन्दु राष्ट्रवादको विऊ १९औँ शताब्दिमा भएको धार्मिक तथा सामाजिक सुधार आन्दोलन देखि नै अंकुरित भएको थियो । आर्य समाज जस्ता कयौ संगठन अंग्रेजी साम्राज्यवाद र ईसाई मिशनरिको बढ्दो प्रभावको विचमा भएको थियो । संगठनको प्रमुख उदेश्य हिन्दु धर्म र सामाजिक व्यवस्थाको प्रमुख आधारलाई रक्षा गर्नु थियो । समाज ब्यवस्था आधारित परम्परामा सुधार गर्नु थियो ।

हिन्दुत्व र हिन्दु राष्ट्रवादको अध्ययन विनायक दामोदर सावरकर र माधव सदाशिव गोलवलकरको विचारको अध्ययन विना अधुरो हुन्छ । हिन्दुत्व शब्दको प्रयोग सबभन्दा पहिला सावरकरले अंडमान र रत्नागिरी जेलमा छदाँ लेखिएको पुस्तक र लेखमा गरेको थियो । सावरकर इटलीको राष्ट्रवादवाट ज्याँदै प्रभावित थियो । खिलाफलत आन्दोलनको समयमा गांधीको नेतृत्वमा कांग्रेसले मुस्लिमलाई साथ सहयोग गर्न शुरु गरे । सावरकरलाई लाग्यो कांग्रेसको सहयोगमा मुस्लिम यो देशलाई इस्लामिस्तान बनाउने सपना देखिरहेका छन् । यहि विन्दुमा सावरकरको मन–मस्तिष्कमा हिन्दु राष्ट्रवादको जन्म हुन्छ । हिन्दु राष्ट्रवादको प्रेम जाग्छ र हिन्दुत्वको रुपमा संगठित हुन आहृवान गर्छ । खिलाफत आंदोलनवाट भारतीयहरु एकताबद्ध हुने क्रममा सवर्ण हिन्दु मुस्लिम बिरुद्धको आन्दोलनलाई गति दिन थाल्छ ।

सावरकरले हिन्दु शब्दको ब्याख्या, ‘कहिले युद्ध त कहिले मिलन, कहिले परस्पर सहकार्यको रुपमा हिन्दु जातिले जे जति गरेका छन् त्यो सबै कुरा ‘हिन्दुत्व’ मा समाहित छन् । सावरकर हिन्दु हुनुको प्रमुख तिन लक्षण–भुगोल, रगतको समानता र संस्कृति मान्छ । यसको अलावा सावरकर ‘पुण्य भुमि’ शब्दको पनि प्रयोग गर्छ । मतलब हिन्दु त्यो व्यक्ति मात्र हो जसले भारतलाई पितृभक्तिको साथ साथै पुण्य भुमि पनि मान्छ । सावरकर मुस्लिम तथा ईसाईमा हिन्दुत्वको अन्य लक्षण हुँदाहुदै पनि एउटा महान लक्षणको अभाव देख्छ । उनीहरु हिन्दुस्तानलाई आफ्नो पुण्य भुमि स्वीकार गर्दैन । पुण्य भुमिको सवाल उठाएर सावरकर मुस्लिम तथा ईसाईको निष्ठा माथि प्रश्न उठाउछ । उसले भन्छ उनीहरुको पुण्य भुमि यहाँ भन्दा टाढा अरब तथा फिलिस्तीनमा छ । उनीहरुको निष्ठा पनि विभाजित छ ।

सवारकरको हिन्दुत्वको मुख्य आधार नै मुस्लिम बिरोधी देखिन्छ । मुस्लिमको बिरुद्ध हिन्दुको संख्या बढाउनको लागि बौद्ध, जैन तथा सिखलाई हिन्दु धर्मको अंग मान्छ । वेदको प्रमाण नभए पनि बौद्ध र जैनलाई हिन्दु मान्छ । ईसाई र मुस्लिमको लागि कठोर सर्त राख्दै भन्छ, “तिमी आफ्नो हृदयको सम्पूर्ण अनुरक्ति, पितृभुमि मात्र होईन पुण्य भुमि मानेर वंदना गर र यो महान हिन्दु संघमा पुनः प्रविष्ट गर । हिन्दु जाति नितान्त प्रसन्नतासहित तिमीलाई हार्दिक अभिनंदन गर्नेछ ।” यहाँ सावरकर ईसाई र मुस्लिमको लागि यति कठोर सर्त किन राख्छ ? कुनै ईसाई तथा मुस्लिम आपूmलाई हिन्दु किन मान्छन् ?

यी प्रश्नको उत्तर सावरकरको स्वराज्यको कल्पनामा भेट्न सकिन्छ । सवारकर अंग्रेजवाट स्वराज्य चाहन्थ्यो तर स्वतन्त्र भारतको कल्पना हिन्दु राष्ट्रको रुपमा गथ्र्यो । गैर–हिन्दुको अस्तित्व स्वतन्त्र भारतमा सावरकरको लागि असहनीय थियो । यहि कारण सावरकर ईसाई र मुस्लिमको लागि कठोर सर्त राख्दै भन्छ, तिमीहरु यो देश छाडेर जाऊ या दास्रो श्रेणिको नागरिक भएर बस । यहाँ तिमीलाई कुनै मौलिक अधिकार हुँदैन ।

नागरिकता संसोधन ऐन 

हिन्दुत्ववादी स्वतन्त्रता आन्दोलन देखि भारतलाई एउटा हिन्दु राष्ट्र निर्माणको लागि आरएसएस÷बिजेपि लागि परेका छन् । सन् २०१४ देखि सत्तामा आए देखि हिन्दु राष्ट्रको लक्ष्यतिर अग्रसर छ । आरएसएसलाई थाहा थियो कुनै पनि ईसाई वा मुस्लिम हिन्दु हुने कुनै पनि सर्त स्वीकार्नु त परै जाओस त्यसको बारेमा सोच्न पनि सक्दैन । यस्तो अवस्थामा सावरकर ईसाई वा मुस्लिमलाई दोस्रो दर्जाको नागरिकता दिन चाहन्थ्यो र त्यसैको कार्यान्वयण गर्नको लागि नागरिकता संसोधन ऐन २०१९ दुबै सदनवाट पास गराएको छ ।

तर, वर्तमान नागरिकता संसोधन ऐन हिन्दु वनाम मुस्लिमको सवाल मात्र होईन । सावरकर भारतीय बौद्धलाई हिन्दु मान्छ तर चीन, जपान आदि देशको बौद्धलाई हिन्दु मान्दैन कारण उनीहरुको पुण्य भुमि भारत भए पनि पितृभूमि भारत होईन । पुण्य भुमिको आधारमा चीन, जपान, कोरिया, श्रलंका ईत्यादि सबै देशको बौद्ध हिन्दु हुनु पर्ने हो । सावरकरको अनुसार नेपालको नागरिकको पितृभुमि भारत होईन तर पनि बहुसंख्यक हिन्दु धर्म मान्छन् । वहाँको परिभाषा यहाँ पनि बिरोधाभाष देखिन्छ ।

दुई राष्ट्रको सिद्धान्त र मुस्लिम लीग 

प्रायः मुस्लिम लीग र त्यसको नेता जिन्ना माथि दुई राष्ट्रको सिद्धान्तको प्रतिपादकको आरोप लाग्ने गर्छ । हिन्दु र मुस्लिम दुई अलग कौमका हुन । दुई पृथक राष्ट्र हुन । वास्तवमा दुई राष्ट्रको सिद्धान्तलाई सबभन्दा पहिला सावरकरले नै प्रतिपादित गरेको थियो । बाबासाहेब डाँ अम्बेडकर भन्छ, “सावरकरद्धारा हिन्दु राष्ट्रको कुरा गर्नु नै उसको दृष्टिमा भारतमा मुस्लिम पृथक राष्ट्र थियोे ।” माधव सदाशिव गोलवलकरले यहि सिद्धान्तलाई पालन पोषण गरे । हिन्दुत्ववादीको यहि विचारको कारण मुस्लिम लीगले मुस्लिमलाई पृथक राष्ट्र मान्न शुरु गरे । पृथक राष्ट्र (पाकिस्तान) को माग मुस्लिम लीगले सर्वप्रथम १९४० मा गरे । यो भन्दा पहिला १९३६ मा लण्डनमा पढिरहेको एउटा मुस्लिम छात्र रहमत अलीले निबन्ध लेखेर ‘पाकिस्तान’ को विचार प्रस्तुत गरेको थियो । मुस्लिम लीगले उक्त विचारलाई असंभव मानेर एउटा बच्चाको काल्पनिक उडानको करारको संज्ञा दिएको थिए ।
हिन्दुत्वको दर्शन कुनै धार्मिक दर्शन होईन । यो आतंकमा आधारित बहुसंख्यावाद हो । आतंकको आधार अध्यात्मिक फासिवाद हो । यो बहुसँख्यावादको कार्यप्रणालीको नमुना सन् २००२ मा गुजरातमा दक्षिण एसिया मात्र होईन विश्वले देखि सकेका छन । गोधराकांड पछि लाखौ मुस्लिमलाई नर संहार गर्यो । मोदी सरकारको सम्पूर्ण शासनतन्त्र नपुंसक जस्तै तमाशा देखि राख्यो ।

हिन्दुत्व विचारधारावाट बहुसँख्यकलाई मुस्लिम बिरोधीको नाउमा एक सुत्रमा बाँधेर एका–तीर राजनीतिक सत्ता प्राप्त गर्ने उदेश्य छ भने अर्को तिर देशको दलित बहुजनलाई धार्मिक उन्मादमा फसाएर उनीहरुमा आईरहेका सामाजिक, आर्थिक तथा राजनीतिक अधिकार प्राप्तीको चेतनालाई दबाएर वा नष्ट गरेर उनीहरुमाथि सवर्ण ब्राद्मणवादको बर्चश्व कायम राखि राख्ने ।

वर्तमान सीएए तथा एनआरसी बिरुद्धको आन्दोलन जनआन्दोलनको रुप लिदै छ । सीएए तथा एनआरसीको पछाडी जुन हिन्दुत्व राजनीति लुकेको छ त्यो मुस्लिमलाई अलग थलग मात्र गर्दैन बरु द्विजवादी वर्चस्वको बिरुद्धमा उठिरहेको विरोधलाई पनि दमन गर्नु रहेको छ । संघ र भाजपाको भारतलाई हिन्दु राष्ट्र बनाउने एजेण्डा नायँ होइन र यसलाई लागु गर्नको लागि पुरै तागत गलाएको छ । वर्तमान राष्ट्रपति र प्रधानमन्त्रि संघको स्वयंमसेवक हुन । लोकसभामा प्रचण्ड बहुमत र राज्य सभामा प्राविधिक बहुमत प्राप्त छ । यस्तो अबस्थामा भाजपा आफ्नो सपनालाई सकार पार्नमा विलम्ब गर्न चाहदैन । यसैको लागि भाजपाले अनुच्छेद ३७० व ३५ ए पास गरे । नागरिकता संशोधन बिल २०१९ पास गरे । यसको एउटै उदेश्य भारतलाई सवर्ण–पुरुष वर्चस्व वाला ‘हिन्दु राष्ट्र’ बनाउने महत्वपूर्ण तथा खतरनाक कदम हो ।

(रजक अम्बेडकरी तथा बहुजन अध्येता हुन)

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार

चम्चा युग