लोक सेवा आयोग, सामाजिक प्रतिनिधित्व र आरक्षण


राजकिशोर रजक 

नेपालको परिवर्तित सन्दर्भमा लोक सेवा आयोगले १५ जेठमा प्रकाशित गरेको विज्ञापन सिमान्तको दृष्टिकोणवाट असंबैधानिक र समानुपातिक समावेशीको भावना विपरित छ । विज्ञापन उपर पक्ष र विपक्षमा वहस जारी छ । आयोगले करिब ८ हजार ९ सय ४४ सिटको लागि विज्ञापन निकाल्दा ४५ प्रतिशत आरक्षित सिटको लागि ४,०२५ प्रचलित ऐन अनुसार समानुपातिक समावेशीताको लागि छुट्याउनु पर्ने थियो । आयोगले २,२६२ सिट मात्र आरक्षण कोटामा छुट्याएको छ । जसको कारण १,७६३ सिट अपहरणमा परेका छन् । यसवाट प्रष्ट हुन्छ राज्य समानुपातिक समावेशीता, समानता, सामाजिक न्याय चाहदैन् । शासक जाति नेपालको शासन प्रक्रियामा दलित, मधेशी, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्तिको समानुपातिक समावेशी प्रतिनिधित्व प्रति कठोर छ । राज्यको शासन, प्रशासनलाई एकल जाति बनाई राख्न चाहन्छ ।

आरक्षण र सामाजिक लोकतन्त्र

हाम्रो सन्दर्भमा आरक्षण नयाँ विषय होईन । समाजको मुल बनौट नै आरक्षणमा आधारित छ । आरक्षण कुनै भीख होईन अधिकार हो । आरक्षण समाजिक प्रतिनिधित्वको सवाल हो । हिन्दु वर्णब्यवस्थाको अर्को नाम आरक्षण हो । वर्णव्यवस्था रुपी आरक्षण कठोर, निशेधित तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको छ । यो ब्यवस्थाले समाजलाई तोड्ने काम गरेको छ । जात, धर्म तथा लिंगको आधारमा तोडिएको समाजलाई जोड्नको लागि सामाजिक प्रतिनिधित्वको आवश्यकता पर्छ । संसार भरी राजनीति, शिक्षा र प्रशासनमा सामाजिक प्रतिनिधित्व सुनिश्चित गर्न आरक्षण, अफरमेटिभ एक्सन तथा डाइभरसिटीको नीति लिएको देखिन्छ ।
हामीलाई केवल राजनीतिक लोकतन्त्र सम्म सिमित हुनु हुदैन । राजनीतिक लोकतन्त्रलाई सामाजिक लोकतन्त्र बनाउनु पर्छ । सामाजिक लोकतन्त्रको जगमा राजनीतिक लोकतन्त्र दिगो हुन सक्छ । सामाजिक लोकतन्त्र जीवन शैली हो जसले स्वतन्त्रता, समता र भातृत्वलाई जीवनको सिद्धान्त मान्छ । स्वतन्त्रता, समता र भातृत्व एउटै त्रिभुजको तिन कोण हुन् । यसलाई अलग गर्न सकिदैन् ।

स्वतन्त्रतालाई समानतावाट अलग गर्न सकिदैन । समानतालाई भातृत्ववाट पनि अलग गर्न सकिदैन् । समानता र स्वतन्त्रताको अभावमा एउटा यस्तो ब्यवस्थाको जन्म हुन्छ जहाँ बहुजनमाथि अल्पजनले आफ्नो श्रेष्ठता र ब्रचश्व कायम गर्छ । नेपालमा समानता र स्वतन्त्रताको अभाव छ । समानता र स्वतन्त्रताको विना भातृत्वको विकास हुन सक्दैन् । स्वतन्त्रता, समानता र भातृत्वको निर्माण समाजिक लोकतन्त्रवाट हुन्छ । समाजिक लोकतन्त्रको लागि सामाजिक प्रतिनिधित्व अनिवार्य सर्त हो ।

आरक्षणको आधार जाति किन ?

दक्षिण ऐसियामा आरक्षणको शुरुवात सन् १९३२ मा डाँ अम्बेडकर र गान्धीको विचमा भएको पुना पैक्टवाट भएको हो । भारत र नेपालको सामाजिक बनौट समान छन् । आरक्षण नीतिको आधार सामाजिक तथा शैक्षणिक पिछडापन हो । दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम आदिको उत्पीडन तथा बहिष्कारणको आधार जाति धर्म छ । आज पनि समाजका सम्पुर्ण कार्य जातिको आधारमा तय हुन्छ । समाजमा सम्मान तथा योग्यताको आधार जाति छ । योग्यताको पर्यायवाचि जाति बनेको छ । दलित, मधेशी, मुस्लिमको नेतृत्व आज पनि स्वीकार्य छैन् । समाजिक जीवनलाई जातिब्यवस्थाले नियन्त्रण गरेको छ । जबसम्म जातिको विनाश हुँदैन तब सम्म जाति आधारित सामाजिक प्रतिनिधित्वको विकल्प छैन् ।

डा अम्बेडकर आफ्नो किताब ‘कांग्रेस र गान्धिले अछुतको लागि के गर्यो?’ मा आरक्षणको विषयमा लेख्छ, ‘गुलाम वर्ग द्धारा आरक्षणको माग गर्नुको अर्थ हो शासक वर्गको सत्तालाई नियन्त्रण गर्नु हो । आरक्षण संविधान र सामाजिक संस्थामा सामन्जस्य कायम गर्नु भन्दा बढी केहि गर्दैन । सत्ताको पुर्ण रुपमा शासक जातिको हाथमा जानवाट थोरै भए पनि रोक्ने प्रयास हो ।’

आरक्षणको आधार आर्थिक हुनु हुदैन्

आरक्षण ब्यवस्था गरिबी निवारण कार्यक्रम होईन । आरक्षण ब्यवस्थाको मुल उदेश्य हजारौ बर्षदेखि जातको आधारमा शोसित शासितलाई विकासको मुख्य धारामा ल्याउनको लागि राज्यको हरेक निकायमा भागिदारि सुनिश्चत गर्ने ठोस उपाय हो । आर्थिक आधारमा आरक्षण कसरी संभव छ भने कुराको कुनै ठोस योजना आज सम्म सवर्णले दिन सकेका छैन् ।

यदि जाति आधारित आरक्षण ब्यवस्थामा व्यक्तिको मेरिटको अपमान हुन्छ भने, आर्थिक आधारित आरक्षण ब्यवस्थामा पनि कथित मेरिटको अपमान हुन्छ । कसरी आर्थिक आधारित आरक्षण ब्यवस्थामा योग्य व्यक्तिले प्राथमिकता पाउछन् ? यदि जाति आधारित आरक्षण ब्यवस्थावाट संविधान द्धारा प्रदत समानताको मौलिक अधिकारको उलंघन हुन्छ भने आर्थिक आधारमा आरक्षण ब्यवस्था समानताको मौलिक अधिकार अनुरुप कसरी हुन्छ ? सवर्णको यो तर्क बिरोधाभाषपुर्ण देखिन्छ ।

जाति आधारित क्रमिक असमानता कायम रहे सम्म आर्थिक आधारमा लागु भएको आरक्षण ब्यवस्थाको लाभ दलित, आदिवासी जनजाति, मधेशी र मुस्लिमले कहिले पाउन सक्दैन । आरक्षणको लाभ कसलाई दिने, कसलाई नदिने भने निर्णय निर्णायक तहमा बसेको अधिकारीको जातिय मानसिकताले तय गर्छन् । सवर्ण जातिय मानसिकता भन्दा माथि उठन सकेको छैन् । उसको हरेक निर्णयमा जातिय मानसिकताको प्रभाव रहदै आएको छ ।

आर्थिक आधार कसरी सुनिश्चित हुन्छ ? व्यक्तिको आर्थिक हैसियत पता लगाउने तरीका के हो ? स्पष्ट छैन् । सवर्णले आर्थिक आधारमा समाजिक समुहको वर्गिकरण गर्न सकेको छैन् । आयको आधारमा समुहको निर्धारण केवल सरकारी तथा गैरसरकारी कर्मचारी परिवारलाई मात्र गर्न सकिन्छ । यो समुह जनसंख्याको अनुपातमा ज्याँदै कम छन् । व्यपार तथा निजि ब्यवसायमा संलग्न व्यक्तिको आर्थिक हैसियत मापन गर्ने आधार आयकर विवरण मात्र हो । यो देशमा आयकर चोरी एउटा धर्म नै बनिसकेको छ । जुन देशमा कुल राष्ट्रीय आयमा लगभग तिन चौथाई भाग काला धन हुन्छ त्यहा आम्दानीको आधारमा आरक्षणको कुरा गर्नु पागलपन हो ।

आरक्षण र मेरिट (योग्यता) को प्रश्न्

जब जब आरक्षणको मुद्दा चर्चामा आउछ सवर्ण आरक्षण प्राबधानको बिरुद्धमा मेरिटको प्रश्न उठाई कुतर्क गर्न थाल्छन् । सवर्णको तर्क आरक्षणको नाममा योग्यतालाई दरकिनार गरि अयोग्य मान्छेलाई प्राथमिकता दिनु हो । के इतिहासमा व्यक्तिको सम्मान योग्यताको आधारमा भएको हो? आज भन्दा करिब ४ हजार बर्ष अगाडी आर्य भारतबर्षमा आए र वर्णव्यवस्थाको निर्माण गरे । के वर्णव्यवस्था व्यक्तिको योग्यताको आधारमा निर्माण भएको हो ? दशरथ जातक कथा रामायणमा शम्बुुक हत्या र महाभारतमा एक्लब्यको अंगुठा काटिनु योग्यताको अपमान हो कि होईन?

सवर्णको आरोप आरक्षणले अयोग्य मान्छेलाई सार्वजनिक प्रतिष्ठानमा भर्ना गर्छ । यो मेरिटोरियसको नश्लवादी भाषा हो । यस प्रवृतिमा गम्भीर आरोपको गँध देखिन्छ । यो तर्कको पछाडी आरक्षणको कारण दलित बहुजन राज्यको शासनमा आयो भन्ने सामाजिक प्रतिष्ठान रसातलमा पुगी हाल्छ । यो भाषा पुरै समुदायलाई अयोग्य बनाउने गाली हो ।

मेरिटको प्रश्न गलत धारणामा आधारित छ । आरक्षण ब्यवस्थामा छनौट प्रक्रियाको समयमा वञ्चित समुदायको सहभागिता सुनिश्चित गर्नको लागि निश्चित सिट आरक्षित हुन्छ । तर, उसको न्युन्तम योग्यता उपर कुनै गडबडी हुँदैन । सिट अथवा स्थानको आरक्षण गर्नुको कारण जाति आधारित भेदभाव हुने समाजमा विना आरक्षण जाति ब्यवस्थावाट पिडीत समुदायको प्रवेश हुन सक्दैन् । कथित मेरिटको आधारमा शोसित तथा शासित समुदाय राज्यको शासन प्रक्रियामा सहभागि हुन सक्दैन ।

शिक्षण संस्थाको सम्बन्धमा योग्यताको प्रश्न झन निरर्थक तथा कुतर्क हुदोरहेछ । शिक्षण संस्थाको प्रवेश प्रक्रिया माथि विचार गर्दा स्थीति झन भयावह देखिन्छ । खास गरि मेडिकल र इन्जिनियरिङ्ग प्रवेशमा लाखौ रुपिया डोनेशन गरि मैनेजमेन्ट कोटावाट भर्ना गरिन्छ । यो विषयमा मेरिटको वकालत गर्ने आरक्षण बिरोधीको तर्क कहि कतै सुनिदैन् ।

देशको सम्पुर्ण राज्य शक्ति गैरआरक्षितको हातमा छन् । प्रथम तथा उच्च श्रेणीको नोकरशाह लगभग ९५ प्रतिशत भन्दा बढि सवर्ण छन् । देशको राजनीतिक, आर्थिक तथा सामाजिक संसाधनमाथि खस आर्यको एकलौटी कब्जा छन् । देशको लागि नीति निर्माण गर्ने पदमा उसको सतप्रतिशत एकाधिकार छन् । स्वघोषित योग्य पनि छन् तर देशको दुर्दशा हामी सबैको अगाडी छ । सवर्णको योग्यता व्यवहारत असफल भएको देखिन्छ ।
आरक्षण र क्रिमी लेयरको प्रश्न

आरक्षण विरोधीले आरक्षण ब्यवस्थालाई समाप्त गर्नको लागि क्रिमी लेयरको मुद्दा उठाउने गरेका छन् । यो सामाजिक प्रतिनिधित्वलाई समाप्त गर्ने खडयन्त्र हो । उनीहरुको आरोप दलित, आदिवासी जनजाति, मधेशी र मुस्लिमको वर्ग भित्र पनि साधन सम्पन्न व्यक्ति छन् उनीहरुलाई आरक्षणको आवश्यकता छैन् ।
कुनै पनि समुदायको नेतृत्व उक्त समुदायको शिक्षीत व्यक्तिले गर्छन् । आर्थिक रुपमा सम्पन्न व्यक्तिले गर्छन् । सिमान्त समुदायको शिक्षित व्यक्तिलाई आरक्षण अधिकारवाट अलग गरेमा सिमान्त समुदायको आरक्षणको आन्दोलन कमजोर हुन जान्छ र आरक्षण ब्यवस्थालाई नै समाप्त हुन्छ । आरक्षणको ब्यवस्था सामाजिक असमानता हटाउनको लागि गरिएको हो । क्रिमी लेयरको प्रश्न शासक जातिको पुर्वाग्रह मानसिकताको परिणाम हो ।

अन्तमा समानताको मौलिक अधिकार र आरक्षण ब्यवस्थाको सम्बन्धमा कुरा गर्दा समानताको सिद्धान्तलाई मानविय समाजको सन्दर्भमा हेर्नु पर्छ । समानताको अधिकारलाई तिन भागमा बुझनु पर्छ । पहिलो अवसरमा समानता, दोस्रो व्यवहार वा वरतावमा समानता र तेस्रो परिणाममा समानता ।

अवसर र व्यवहारमा समानताले समाजको शक्तिशाली वर्गलाई फाईदा हुन्छ । सिमान्तले केवल अवसर र व्यवहारमा समानतावाट सन्तुष्ट हुनु हुँदैन् । समाजको समतावदी विकासको आधार परिणाममा समानता हुनु हो ।
यसलाई एउटा उदाहरणवाट बुझने प्रयास गरौ । मानौ कुनै अस्पतालमा एउटै रोगवाट पिडीत दुई जना व्यक्ति भर्ना भए । एउटा कमजोर शरिरको छ र अर्को बलियो शरिरको छ । यसवाट प्रष्ट हुन्छ की डाक्टरले कमजोर शरिर भएको व्यक्तिको उपचारमा अलि बढि ध्यान दिनु पर्छ । उसको लागि विषेस औषधी तथा टानिकको ब्यवस्था गर्नु पर्छ । यदि दुबै जनालाई डाक्टरले समान जाँच गर्यो भने कमजोर शरिर भएको ब्यक्तिसँग अन्याय हुन जान्छ । उसको मृत्यु पनि हुनसक्छ । आरक्षण ब्यवस्थाको मुल उदेश्य समानताको मौलिक हकलाई परिणामा समानता खोज्नु हो ।
@Raj62M

(रजक अम्बेडकरी तथा बहुजन अध्ययता हुन्)

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार

चम्चा युग