हिन्दु समाजमा शुद्धता सम्बन्धि विचार



राजकिशोर रजक


फरक बिचार

हिन्दु समाजमा जात व्यवस्था उत्पतिको मानवशास्त्रीय अध्ययन अनुसन्धान भएको जस्तो लाग्दैन्, यदि भएको हो भने त्यो कहाँ छ ? र के के जानकारी प्राप्त गरेका छन् ? तर विचारणीय कुरा के छ भन्ने हामीले यसको खोजि किन गरेनौं ? पुरानो रुढीवादी हिन्दु वा पण्डित पुरोहितहरुले यसको खोजीको कल्पना पनि गर्न सक्दैनन् । किनकी वहाँहरु जातीय ब्यवस्था, शुद्ध–अशुद्ध, छुवाछुत तथा उच–नीच आदिलाई स्वभाविक मान्दै आएको अवस्था छ । यस प्रति वहाँहरुको कुनै पछुतो पनि छैन् । तर आजका हिन्दु यूवा पुस्ताले ऐतिहासिक गल्तिलाई स्वीकारे पनि सार्वजनिक रुपमा यस विषयमाथि खुलेर छलफल गर्न तयार भएको देखिदैन् । उनीहरुलाई डर छ कि अरु वाहिरी संसारमा हिन्दु सभ्यता भित्रको अमानुषीकरण, निन्दनीय र बिषैली समाजिक ब्यवस्थाको पोल न खुलोस् । प्रश्न आज पनि उत्तिकै महत्वपूर्ण छ कि ईतिहासको विद्यार्थीले के गर्ने ? उनीहरु हातमा हात मात्रै राखेर कहिले सम्म पर्खी बस्ने ? पंक्तिकारको विचारमा यस्तो अवस्थामा ऐतिहासिक जिम्मेवारी पुरा गर्नको लागि उनीहरुले आफ्नो कल्पना शक्ति र अंतःदृष्टिवाट काम लिनु पर्छ ।
प्राचीन कालमा मानवले अशुद्धिका कारण कुनै विशेष सामाजिक घटना, वस्तु तथा व्यक्तिसँगको सम्पर्कलाई मान्थ्यो । जीवनका प्रमुख घटनाहरु जन्म, दिक्षा संस्कार, वयसंधि, विवाह, यौन सम्वन्ध, मृत्यू आदिलाई अशुद्ध मान्थ्यो । शुद्ध र अशुद्धको भावना वस्तुसँग मात्र सिमित थिएन । समाजका केही यस्ता व्यक्तिहरु थिए जसलाई अपवित्र सम्झिन्थ्यो । कुनै व्यक्ति अरु कुनै विशिष्ट व्यक्तिलाई छोएको खण्डमा अशुद्ध मानिन्थ्यो र उनीहरुलाई एकान्तवास हुन्थ्यो । समाजमा केही यस्ता मान्यताहरु थिए कि सामान्य अशुद्ध व्यक्तिहरु अरु भन्दा टाढा बस्नु पर्ने, सजातीयलाई विजातीयभन्दा अलग रहनु बाट के स्पष्ट हुन्छ भन्ने समाजमा अशुद्धिको कारण वस्तु तथा निश्चित समुदायलाई पृथक राखिन्थ्यो ।
अशुद्धिवाट चोखिनका लागि पानी र रगतको प्रयोग गरिन्छ । जुन वस्तु वा मान्छे अशुद्ध भएको खण्डमा उसलाई पानी र रगतको छिटावाट पवित्र गरिन्थ्यो । पवित्र वनाउने विभिन्न अनुष्ठान मध्ये लुगा फेर्नु, कपाल खौर्नु,नङ्ग काट्नु, पसिना निकाल्नु, आगो ताप्नु, धुप जलाउनु आदि गर्ने गरिन्छ । यसको साथ साथै अशुद्धिवाट बच्नको लागि एउटाको अशुद्धि अरु जो पहिला देखि वर्जित वा बहिष्करणमा पारिएका थिए उनीहरुमा थोपार्ने पनि चलन थियो । यसरी हेर्दा अशुद्धिको वारेमा हिन्दु र प्राचीन समाजमा कुनै भेद थिएन् । हिन्दु शास्त्रमा मनुले मानव जीवनका तिन घटना जन्म, मृत्यू र मासिक धर्मलाई अशुद्धिको मुल कारण मान्थ्यो । मृत्युवाट हुने असुचिता व्यापक र टाढा टाढा सम्म फैलाइन्थ्यो । मनुले अशुद्धिलाई तिन तरिकावाट व्याख्या गरेका थिए । एउटा शारीरिक अशुद्धि, दोस्रो मानसिक तथा मनोवैज्ञानिक अशुद्धि र तेस्रो नैतिक जुन मनमा गलत विचारलाई स्थान दिँदावाट हुन्छ । मानसिक तथा शारीरिक अशुद्धिवाट मुक्त हुनको लागि पानी, माटो, गाईको मुत्र, कुश र भष्मको प्रयोग गर्ने गरिन्छ र पछि गएर मानसिक अशुद्धिवाट मुक्त हुनको लागि पंच गब्य (गोमुत्र, गोबर, दुध, दहि र घिऊ) सबभन्दा वढी प्रयोग भएको देखिन्छ ।
व्यक्तिगत असुचिताको वाहेक हिन्दु समाजमा प्रादेशिक तथा जातिगत अशुद्धि र त्यसलाई शुद्ध गर्नु पर्छ भन्ने विश्वास पनि थियो र यस्तो खाले प्रचलन रोमको वस्तीमा पनि थियो । हिन्दु समाजमा विद्यमान छुवाछुत यति भयानक र अत्यास लाग्दो छ कि ईतिहासमा यसको कुनै तुलना छैन् । गैरहिन्दु समाजमा सुचिता नियमको जन्म, विवाह र मृत्यू आदि विशेष घटनामा लागू हुन्छ भन्ने हिन्दु समाजमा अस्पृश्यता स्पष्टतः निराधार छ । गैरहिन्दु समाज जुन अपवित्रतालाई मान्थ्यो त्यो केही समय मात्र अस्थित्वमा रहन्थ्यो र खानपिन तथा शारीरिक कार्यसम्म मात्र सिमित रहन्थ्यो र अशुद्धिको समय सक्ने वित्तिकै पुनः शुद्ध भैहाल्थ्यो । तर हिन्दु समाजमा यो अशुद्धि जीवन भर तथा जीवनोपरान्त पनि अशुद्ध भईरहन्छन् । जसरी हिन्दु संस्कारमा जन्मे हुर्केको मान्छेले जानी वा नजानी कुकर्म गर्दा पापबाट मुक्ति दिलाउने नाममा अशुद्धिवाट मुक्त गर्नको लागि विभन्न अनुष्ठान गरी शुद्ध गर्ने गरिन्छन् तर यस्तो कुनै संस्कार वा अनुष्ठान बनाएन जसवाट एउटा हिन्दु संस्कारमै जन्मे हुर्केको कथित दलित जसलाई गर्भबाट भुईमा पाईलोृ टेकेदेखी मृत्यु बरण हुदासम्म पनि अछुत वा अपवित्रनै मानियो । अहिलेको यूवा पुस्ता वा परिवर्तनको पक्षमा क्रियासिल अन्य प्रौढ ब्यक्तिहरुले अब हिन्दु धर्मभित्रको गलत चिन्तनका कारण हो भन्ने बुझाई सहित यस्तो अनुष्ठान गरी दलितहरुलाई जीवनभर अछुतबाट पवित्र वनाउन सकियोस ।
“गैरहिन्दुले कोही व्यक्ति अपवित्र भैसकेको अवस्थामा केही समयको लागि अलग गरिन्थ्यो तर हिन्दु समाजको आदेश थियो कि अछुतको छुट्टै बस्ती होस्, प्रत्येक हिन्दु गाउँको वाहिर अछुतको बसोवास होस ।” यसै कारण आज पनि दलितहरुको वस्तीहरु गाउँ वाहिर रहेको पाईन्छ । गाउको पूर्वी दिशामा विरलै दलितको बस्ती भेटिन्छन् “हिन्दु अतिबादीहरुको मान्यता यो पनि हुनसक्छ कि सूर्यको किरण पनि अछुतहरुलाई छोएर नझुल्कियोस वा नअस्ताओस ।” अछुतहरुको वस्ती गाउँको वाहिर किन भए भन्ने विषयमा कसैको कुनै सिद्धान्त छैन् तर यो त हिन्दु शास्त्रको मत छ र मनुको भनाई छ कि “चण्डाल र खपचोँको बास गाउँ भन्दा बाहिर हुनुपर्छ, उनीहरुलाई अपपात्र बनाउनु पर्छ र उनीहरुको धन कुत्ता र गधा होस (१०.५१), मुर्दाको कपडा उनीहरुको बस्त्र होस्, उनीहरु टुटेफुटेको वर्तनमा खाना खावोस्, उनीहरुको गहना कालो फलामको होस र उनीहरु विभिन्न ठाउमा घुमि घुमि जीवन वितावोस (१०.५२) । यसवाट दुईवटा अर्थ लगाउन सकिन्छ, एउटा अछुतहरु पहिलादेखि नै गाउँ भन्दा वाहिर वस्दै आईरहेका थिए र अस्पृश्यताको कलंक लागेपछि गाउँमा आउन पूर्णतः निषेध गरियो । अर्को उनीहरु गाउँ भित्र बस्दै आईरहेका थिए र पछि अस्पृश्यताको कलंक लागेपछि गाउँवाट वाहिर निकालियो । दोस्रो तर्क किन पनि संभव लाग्दैन भने पुरै हिन्दु समाजमा अछुतहरुलाई बलपूर्वक वाहिर लखेट्नु लगभग असम्भव नै लाग्छ वा संभव भए पनि यसको लागि चक्रवर्ती राजाको आवश्यकता हुन्थ्यो होला तर पूरै भारत बर्षमा यस्तो चक्रवर्ती राजा भएको जस्तो लाग्दैन् । यो दोस्रो संभावनालाई एक छिन थाति राखेर विचार गर्दा फेरी पनि प्रश्न उठ्छ कि अछुतहरु शुरु देखि नै गाउँको वाहिर वस्दै आईरहेका थिए त ?
आदिम समाज रक्त सम्बन्धमा आधारित कविला समुह थियो भने वर्तमान समाज नश्ल समुहमा रुपान्तरण भएका छन् । उनीहरु खानाबदोस (खाना खोज्दै हिड्ने ) जाति समुह थियो भन्ने वर्तमान समाज स्थायी बस्तीमा रुपान्तरण भैसकेका छन् र यहि क्रममा अछुतहरु किन गाउँ भन्दा बाहिर बसे भने प्रश्नको उत्तर भेटाउन सक्छौँ । आदिम समाज पशुपालनको क्रममा टाढा टाढा सम्म जान्थ्यो । यस क्रममा कविला समुह र जाति समुहहरुको विचमा पशु र स्त्रीहरणको लागि एक आपसमा युद्ध हुन्थ्यो । युद्धको क्रममा जो समुह हाथ्र्यो उनीहरु टुक्रा टुक्रा भई यताउती घुमिरहन्थ्यो र त्यहाँ हरेक व्यक्तिको अस्थित्व कविला भएर गुज्रिन्थ्यो र एउटा कविलाको सदस्य अर्को कविलामा सामेल हुन पाउदैन्थ्यो । यसरी छितरा (टुक्रा टुक्रा) व्यक्तिको जन्म भई गहिरो समस्याको शिकार भए । बस्तुमा सिमित शुद्ध अशुद्धको विचार हिन्दु समाजमा वर्णको निर्धारण एक समुदायका लागि जन्म जन्मान्तर सम्मको लागि तय गरियो र आज पनि यो ब्यवस्था विद्यमान छ ।
                                   
                                                                                              प्रतिक्रियाका लागी rajak.raj62@gmail.com
                                                                                              लेखक दलित अभियानकर्ता हुनुहुन्छ
                                                                                              यो लेखकको ब्यक्तिगत बिचार हो

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।