जातिप्रथाभित्र बिमार अन्तरजातीय विवाह

राजकिशोर रजक
हिन्दूसमाज र जात–व्यवस्था


हिन्दू समाज एकैसाथ १६औँ र २१औँ शताब्दीको अन्तरविरोधमा बाँचिरहेको छ । यसले एकातिर जात–व्यवस्था, सजातीय विवाह, छुवाछूत, उँचनीच र परम्परालाई संरक्षण गर्नमा गौरव गर्दछ भने अर्कोतिर लोकतन्त्र, समानता, प्रेम विवाह र आधुनिकताको पनि दलिल दिन्छ ।
बाबासाहेब डा. भीमराव अम्बेडकरका अनुसार “हिन्दू समाज एउटा मिथक मात्र हो । हिन्दू नाम पनि विदेशी नाम हो । यो नाम मुसलमानले सवर्णलाई आफूभन्दा अगल राख्नका लागि दिएको नाम हो । मुसलमानले भारतबर्षमा आक्रमण गर्नुभन्दा पहिले लेखिएको कुनै पनि संस्कृत ग्रन्थमा हिन्दू शब्दको उल्लेख भएको पाइँदैन (अम्बेडकर सन् २०१६) ।” त्यसैले हिन्दू समाज नामको कुनै चीज छँदै छैन । हिन्दू समाज विभिन्न जातजातको समूह हो । प्रत्येक जात आफ्नो जातीय अस्तित्वबाट परिचित छन् । जातिवादी सोच, मानसिकता र मनोविज्ञान आधुनिक समयमा पनि बलवान् तथा प्रभुत्वशाली छन् । जातले केवल जातमात्र पाल्दैन उँचनीचको भावना पनि पाल्छ । पवित्र अपवित्रको संस्कार मान्छ । मानव समुदायबीचमा अलगावको बीउ रोप्छ र पृथक छिमेकपनको निर्माण गर्छ ।
नेपालमा खासगरी मधेशमा जातप्रथाको विषयमा गहिरिएर मानवशास्त्रीय ढ¨बाट अध्ययन अनुसन्धान भएको जस्तो लाग्दैन । अध्ययन भएको हो भने जात–व्यवस्थाको विषयमा के कस्ता जानकारी प्राप्त भएका छन् भन्ने सम्बन्धमा तथ्यगत कुरा तथ्याङ्क विभागमा नै थन्किएको छ । चाहिने जति प्रकाशमा आएको देखिन्न । विचारणीय पक्ष के हो भने लाखौं खर्च गरेर प्राप्त भएका यी तथ्यलाई सही ढंगबाट प्रकाशित गर्ने चलन पनि छैन । यो रुढिवादी हिन्दू पण्डित तथा पुरोहितको कल्पनाभन्दा बाहिरको कुरा हो । उनीहरू जात–व्यवस्थालाई स्वाभाविक र हानिरहित मान्दछन् र त्यसमाथि गर्व गर्दछन् । यसमा कुनै समस्या देख्दैनन् । सार्वजनिक रूपमा यस विषयमा खुलेर बहस गर्न चाहँदैनन् । उनीहरूलाई के डर छ भने बाहिरी संसारमा हिन्दू सवर्णभित्रको अमानुषीकरण, दयनीय र विषैली सामाजिक व्यवस्थाको पोल नखुलिहालोस् । यस्तो अवस्थामा जात–व्यवस्थाको जटिलता र रहस्यको विषयमा इतिहासका विद्यार्थी तथा आजको युवा पुस्ताले आफ्नो कल्पनाशक्ति र व्यावहारिक ज्ञानमा आधारित भएर आवश्यक अध्ययन अनुसन्धानको ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्छ । तथ्यलाई समाजको अगाडि ल्याउनैपर्छ ।
जातीय समस्या व्यावहारिक तथा सैद्धान्तिक रूपमा जेलिएको विकराल समस्या हो । यो समस्या जति व्यावहारिक रूपमा जेलिएको छ त्यति नै सैद्धान्तिक रूपमा इन्द्रजालजस्तो रहस्यमय छ । यसरी बाहिरबाट हेर्दा जात–व्यवस्था एउटा स्थानीय समस्याजस्तो देखिए पनि यसको परिणाम भयावह छ । यसै सन्दर्भमा डा. अम्बेडकर लेख्छन्,“जबसम्म हिन्दू समाजमा जात–व्यवस्था विद्यमान रहन्छ, तबसम्म हिन्दूमा अन्तरजातीय विवाह तथा बाह्य मान्छेसँग समागम सम्बन्ध हुन सक्दैन । यदि हिन्दू पृथ्वीको अन्य भागमा गयो भने जातपातको समस्या विश्वको समस्या भइहाल्छ (अम्बेडकर २०१६) ।” जात–व्यवस्था आज स्थानीय समस्या रहेन । यसको विश्वव्यापीकरण द्रुत गतिमा भइरहेको छ । हिन्दू समाज, खासगरी सवर्णहरू जातीय मनोविज्ञान, सोच र चिन्तन आफूसँगै लिएर संसारभरि फैलिँदै छन् । संसारभरि जातीय संगठन निर्माण गरिरहेका छन् । संसारभरि मूर्तिपूजा गर्न थालेका समाचार पढ्न पाइन्छ ।
जात–व्यवस्थाको विषयमा विद्वान्हरू इमाईल सेनार, जोन सि. नेसफील्ड, सर एच. रिजले र डा. एस.भि. केतकरलगायतकाले आ–आफ्ना दृष्टिकोण र परिभाषा दिएका छन् । डा.एस.भि. केतकरले दिएको जातको परिभाषा अध्ययन योग्य छ । उनले दक्षिण भारतको परिवेशमा जातको परिभाषा यसप्रकार गरेका छन्–
“दुई लक्षण भएको सामाजिक समूह (क) उनीहरूको सदस्यता त्यो व्यक्तिसम्म सीमित हुन्छ जुन जन्मबाट निर्धारित हुन्छ अथवा यसरी जन्म लिने सदस्यहरू सामिल हुन्छन्, (ख) कठोर सामाजिक कानुनद्वारा सदस्य आफ्नो जातभन्दा बाहिर विवाह गर्न वर्जित हुन्छ (केतकर, कास्ट : ४) ।”
यस परिभाषालाई गहिरिएर विचार गर्दा जात–व्यवस्थाको सम्बन्धमा विवेचनात्मक तथा सटीक दृष्टिकोण देखिन्छ । केतकरले जात–व्यवस्थाको विश्लेषण जात–व्यवस्थाको आधार संरचनाबाट गरेको छ । केतकरले रोटीबेटीको व्यवहारमा भेदभावको विचारलाई प्रमुख रूपमा उठाएका छन् । जात–व्यवस्था मूल रूपमा रोटी सम्बन्धमा परहेज र बेटी व्यवहारमा बन्देज गर्छ । त्यसैले जात–व्यवस्था एउटै सिक्काका दुई पाटा हुन । बेटी व्यवहारमा पाबन्दीको मतलब यसले सामाजिक परिधिलाई संकुचित गर्छ । जातको चौखटभित्र सामाजिक अन्तरघुलनलाई परहेज तथा निषेध गर्छ । सामाजिक परिधिलाई संकुचित गर्नुको तात्पर्य अन्तरजातीय खानपान र अन्तरजातीय विवाह सम्बन्धलाई धार्मिक प्रभाव रहेको जात–व्यवस्थालाई वैधानिकता प्रदान गर्नु हो ।
दक्षिण एसिया, त्यसमा पनि मूलतः भारत र नेपालमा जात–व्यवस्थाको मूल चरित्र रोटीबेटी सम्बन्धमा देख्न सकिन्छ । रोटी भनेको खानपान अथवा छुवाछूत हो भने बेटी भनेको रगतलाई आफ्नो जातभित्रै संकुचित गर्नु हो । मधेशमा विभिन्न जातजातिका समुदाय बसोबास गर्छन् । उनीहरूको सतहमा सांस्कृतिक एकता देखिन्छ । सांस्कृतिक एकता सजातीय समाजको मापदण्ड हो । सांस्कृतिक एकताभित्र जातीय विषमता नै जात–व्यवस्थाका लागि नयाँ समस्या सिर्जना गर्छ । यसलाई संस्थागत गर्ने काम बेटी व्यवहारबाट हुन्छ । बेटी व्यवहार सजातीय विवाह प्रथाबाट हुनेगर्छ । विवाह सजातीय भए पनि सहगोत्र भने हुँदैन ।
सजातीय बनाम बहिर्गोत्र विवाह
हिन्दू समाजमा जात–व्यवस्थाको अर्थ समाजलाई कृत्रिम रूपमा विभाजन गर्नु हो जुन रीतीरिवाज, विवाह–शादी आदि भिन्नतामा बाँधिएको हुन्छ । जात–व्यवस्थाको मूल चरित्र सजातीय विवाह नै हो । हामीले बुझ्नुपर्ने कुरा के हो भने सजातीय विवाह किन हुन्छ ? यो प्रश्नको उत्तर पत्ता लगाउन सकियो भने जात–व्यवस्थालाई व्यावहारिक रूपबाट यसको उत्पत्तिको जरो पता लगाउन सजिलो हुन्छ ।
सवर्ण समाज आदिम समाजमध्येको एउटा समाज हो । आधुनिक समयमा पनि यसको प्रभाव समाजमा हावी छन् । विवाहको इतिहास हेर्दा आदिम समयमा पनि बहिर्गोत्र विवाहको प्रचलन थियो । युग परिवर्तनसँगै बहिर्गोत्र विवाहमा परिवर्तन भएको पाइँदैन । हिन्दू समाजमा आज पनि बहिर्गोत्र विवाह प्रथा प्रचलनमा छ । समाजमा सपिंड विवाह प्रथामा मात्र प्रतिबन्ध छैन बल्कि सगोत्र विवाह पनि अपवित्र मानिन्छ । आधुनिक समय सँगसँगै अन्तरजातीय विवाह केही हदसम्म स्वीकार भए पनि बहिर्गाेत्र विवाह कठोर रूपमा पालन गरिन्छ । सहगोत्र विवाह गरेको पाइएमा कठोर सजायको भागिदार हुुनुपर्छ ।
डा. अम्बेडकरका अनुसार सजातीय प्रथा हिन्दू समाजका लागि विदेशी प्रथा हो (अम्बेडकर सन् २०१६) । हिन्दू समाजमा बहिर्गोत्र विवाह एउटा विधानको रूपमा स्थापित छ र यसको उलंघन मुश्किल मात्र छैन, नामुमकिनै छ । जातभित्रको विवाह प्रथाको बावजुद गोत्रबाहिरको विवाह प्रथालाई कडाइपूर्वक लागू गरिन्छ । सगोत्र विवाह प्रथाको दण्ड सजाय अन्तरजातीय विवाह प्रथाभन्दा कठोर विधान हुन्छ । मतलब सगोत्र विवाहको कल्पना पनि गर्न सकिँदैन । यही बिन्दुमा आएर जात–व्यवस्थालाई नष्ट गर्न सकिन्छ । बहिर्गोत्र विवाहको विधान बनाइयो भने जात–व्यवस्थाको आधारै नष्ट हुन्छ । कारण बहिर्गोत्रको अर्थ परस्पर विलय हो । बेटी व्यवहारबाट मानव सम्बन्धमा स्नेह, करुणा, प्रेमको विकास गर्न सकिन्छ ।
बहिर्गोत्र विवाह विधानसँग जात तथा सजातको विवाहको विधान पनि जोडिएको छ । बहिर्गोत्र समाजमा सजातीय विवाह विधानको पालन सहज रूपमा सम्भव छ जुन जात–व्यवस्थाको मूल हो । यही मूल जात–व्यवस्थाको एउटा गम्भीर समस्या हो । बहिर्गोत्र विवाहको विधानको कारण सजातीय विवाह सम्भव भएको हो । अन्तरजातीय विवाह र बहिर्गोत्र विवाहको मूल उद्देश्य एक आपसमा विलय नै हो । बहिर्गोत्र विवाहको मूल चरित्र अन्तरजातीयसँग मिल्छ । यही माध्यमबाट जात–व्यवस्थालाई नष्ट गर्न सकिन्छ । समाजमा सामाजिक अन्तरघुलनको यो प्रक्रियालाई सामाजिक सुधारको माध्यमबाट गैर–बराबरीको सम्पूर्ण मानकलाई रूपान्तरण गर्न सकिन्छ । जात सामाजिक उत्पत्ति हो । जैविक दुर्घटनाको रूपमा जातको उत्पत्ति भएको हो । यो केवल दुर्घटना हो तर जात अफवाह मात्र होइन सामाजिक वास्तविकता पनि हो । दुर्घटनाको रूपमा प्राप्त प्रतिष्ठालाई हामी सबैले त्याग्नुपर्छ । यसको धार्मिक प्रभावलाई पनि अस्वीकार गर्नुपर्छ । हामी त्यो मन्दिरमा किन जाने, जहाँ दलितलाई जान दिइँदैन ? यो कस्तो भगवान हो, जसलाई मुनुष्यदेखि घृणा छ ?
हिन्दू समाजको सुधार र अन्तरजातीय विवाह
जबसम्म हिन्दू सामाजिक व्यवस्था रूपान्तरण हुँदैन तबसम्म आमूल रूपमा सांस्कृतिक परिवर्तन गर्न सकिँदैन । समाजमा जात–व्यवस्थाको जगमा कुनै रचनात्मक निर्माण कार्य सम्भव छैन । जात–व्यवस्थाको जगमा राष्ट्र निर्माण गर्न पनि सकिँदैन । कारण जात–व्यवस्था राष्ट्रविरोधी विचार हो । यसको जगमा तपार्इं नैतिकताको पनि निर्माण गर्न सक्नुहुन्न । समानता, भाइचारा, न्याय र स्वतन्त्रताजस्ता मानवमूल्य जात–व्यवस्थाको जगमा निर्माण असम्भव प्रायः नै छ । जात–व्यवस्था रक्त–सम्बन्धको परिधिमा मात्र संकुचित हुन्छ । रक्त–सम्बन्धको हित नै सर्वोपरि हित कहलिन्छ । त्यसो भए हिन्दू समाजलाई कसरी सुधार गर्न सकिन्छ त ? जात–व्यवस्थालाई कसरी नष्ट गर्न सकिन्छ त ? यस सन्दर्भमा अन्तरजातीय विवाहको भूमिका कस्तो हुन्छ ? हिन्दू समाज जात–व्यवस्थामा मात्र विभाजित छैन । जातभित्र पनि उप–जात छन् । उप–जातभित्र पनि सोपानक्रम निर्धारण गरिएको छ ।
जात–व्यवस्थाका दुई पक्ष हुन्छन् । पहिलो पक्ष मनुष्यलाई अलग अलग समुदायमा विभाजन गर्नु हो । दोस्रो पक्षमा अलग अलग समुदायलाई सोपानक्रममा दर्जा निर्धारण गर्नु हो । प्रत्येक जात तथा उपजात आपूm अर्को कुनै जातभन्दा श्रेष्ठ भएकोमा गर्व गर्छन् । यसको चरित्र ‘उपर चाटो, निचे काटो’को व्यवहारमा आधारित हुन्छ । प्रत्येक जातले आपूmभन्दा माथिको जातलाई चापलुसी गर्ने र आपूmभन्दा तलको जातलाई दुव्र्यवहार तथा तल्लो स्तरको ठान्ने मनोविज्ञान बोकेको हुन्छ ।
जात–व्यवस्थाको सोपानक्रममा बाह्य लक्षणको रूपमा सामाजिक र धार्मिक अधिकारको पनि श्रेणीकरण गर्नु हो । सोपानक्रमलाई शास्त्रीय रूपमा अष्टाधिकार संस्कार पनि भनिन्छ जहाँ जुन जातको दर्जा जति माथि हुन्छ त्यति नै बढी सामाजिक तथा धार्मिक अधिकार प्राप्त हुन्छ । जुन जातको दर्जा जति तल हुन्छन् त्यति नै कम अधिकार उसलाई प्राप्त हुन्छन् । मतलब अधिकार जति सवर्णको भागमा र कर्म जति दलित-बहुजनको भागमा पर्छ । जात–व्यवस्थाको यस्तो सोपानक्रमले गर्दा जात–व्यवस्थाको विरुद्धमा सामूहिक मोर्चा खोल्न प्रायः असम्भव बनेको छ । हरेक जातले एक अर्कालाई घृणा गर्ने संस्कृतिको विकास गरेका छन् । यसले समाजलाई खण्ड खण्डमा विभाजन गरेको छ । त्यसैले खण्डित मनोविज्ञानले पाखण्डलाई मलजल गर्छ ।
जात–व्यवस्थालाई समाप्त गर्ने एउटा अर्को कार्यक्रम नेपालमा सञ्चालन भएको देखिन्छ । त्यो हो अन्तरजातीय खानपानको आयोजनाबाट जात–व्यवस्थालाई समाप्त पार्ने । यसलाई सहभोज भनिन्छ । सहभोज कार्यक्रम हिन्दू समाजमा विभिन्न कालखण्डमा हुँदै आएको छ । यो विषयमा समान्य अनुभव कस्तो छ भने यो जातको भावना र जात–बोधलाई समाप्त गर्ने सवालमा सफल भएको छ । सहभोजले अन्तरजातीय खानपानको निषेधलाई थोरै भए पनि तोडेको देखिन्छ तर जात–व्यवस्थाको मानसिकतालाई हल्लाउन सकेको देखिँदैन । जात–व्यवस्था समाप्त गर्न अन्तरजातीय विवाह नै सबभन्दा उपयुक्त उपाय हो । रक्त–सम्बन्धले मात्र रिश्ताको भावना पैदा गर्न सक्छ । स्नेह र प्रेमको भावनाको विकास गर्न सक्छ । रक्त–सम्बन्धमा करुणाको भाव उत्पन्न हुन्छ ।
जबसम्म सजातीयताको भावनालाई सर्वोच्च स्थान दिइन्छ तबसम्म जात–व्यवस्थाबाट विकसित पृथकता अथवा परायापनको भावनालाई नष्ट गर्न सकिँदैन । हिन्दू समाजमा अन्तरजातीय विवाह सामाजिक जीवनमा आमूल रूपान्तरण ल्याउन सक्छ । गैर–हिन्दूमा अन्तरजातीय विवाह त्यति आवश्यक छैन किनभने गैर–हिन्दू समाजमा सम्बन्ध सुसंगठित हुन्छ र विवाह भन्ने कुरा एक सामान्य घटना भएर जान्छ । तर हिन्दू समाजमा मानव सम्बन्ध छिन्न–भिन्न छ । सम्बन्धलाई मानवीय बनाउन अन्तरजातीय विवाह बाध्यकारी शक्तिको रूपमा स्थापित हुन सक्छ । जात–व्यवस्थालाई नष्ट गर्न अन्तरजातीय विवाह अनिवार्य सर्त हो । रक्त–सम्बन्ध दुनियाँमा सबभन्दा शक्तिशाली र प्रभावकारी सम्बन्ध हो । यसका लागि अन्तरजातीय विवाह नै प्रमुख र निर्विकल्प गोरेटो हो ।
जात–व्यवस्था नष्ट गर्न जात–विलयजस्तो उपायका अतिरिक्त अरु कुनै उपाय प्रभावकारी सिद्ध हुन सक्दैन । सामाजिक अत्याचारको तुलनामा राजनीतिक अत्याचार केही पनि होइन । जबसम्म समाजमा असमानता रहन्छ राजनीतिमा पनि असमानता हुन्छ । राजनीति समाजको दर्पण हो । समाजमा जात छ त्यसैले राजनीतिमा पनि जात छ । सामाजिक सुधार राजनीतिक सुधारको प्रमुख सर्त हो । समाजको प्रतिविम्ब राजनीतिमा पनि पर्छ । कारण जुन कुवाको पानी हामीले खाएका छौँ त्यही कुवाको पानी राजनीतिक नेतृत्वले पनि खाएको छ । समाजभन्दा पृथक् राजनीतिक नेतृत्व हुन सक्दैन । व्यक्तित्व निर्माणमा समाजको प्रमुख तथा प्रभावकारी भूमिका हुन्छ ।
रोटीबेटीको सम्बन्ध जब सामान्य व्यवहार बन्छ तब जात–व्यवस्था नष्ट हुन्छ । तर अधिकांश हिन्दू रोटीबेटीको सम्बन्ध जातको चौखटभन्दा बाहिर बनाउन चाहँदैनन् ? रोटीबेटीको सम्बन्ध आज पनि किन लोकप्रिय हुन सकेको छैन त ? कारण रोटीबेटीको सम्बन्ध हिन्दू धार्मिक आस्थाको विरुद्धमा छ जसलाई हिन्दूले अपवित्र मान्छ । यस सन्दर्भमा डा. अम्बेडकर भन्छन्, ‘जात कुनै पर्खालको इँटाजस्तो वा काँडेतारजस्तो छैन जसले हिन्दूलाई मेलमिलाप गर्नबाट रोक्छ’ (अम्बेडकर सन् २०१६) । जात–व्यवस्था मानसिक धारणा हो । मानसिक स्थिति हो । त्यसैले जात–व्यवस्थालाई नष्ट गर्नु भनेको भौतिक रुकावट होइन । यो वैचारिक तथा मानसिक रूपान्तरणको विषय हो ।
हिन्दूशास्त्रले मान्छेको मस्तिष्कलाई नियन्त्रण गरेको छ । हिन्दूशास्त्रलाई अस्वीकार नगरेसम्म मस्तिष्क स्वतन्त्र हुन सक्दैन । मस्तिष्कको विकास नै मानव अस्तित्वको अन्तिम उद्देश्य हुनुपर्छ । मस्तिष्कको विकास भनेको वस्तुलाई तर्कको आधारमा छनौट गर्नु हो । यो कुरा मानव सम्बन्धका सबै पक्षमा लागू हुन्छ ।
जात–व्यवस्था हिन्दू धर्मसँग जोडिएको विषय हो । हिन्दू समाजले जातपात मान्नुको मुल कारण उनीहरू अत्यधिक धार्मिक हुनु हो । जात–व्यवस्था मान्नुमा मान्छे दोषी छैन धर्म र धर्मशास्त्र दोषी छन् । तिनकै कारण मान्छे जातपात मान्न बाध्य छन् । यसबाट प्रस्ट हुन्छ, जात–व्यवस्थालाई नष्ट गर्न जातपात मान्ने व्यक्तिसँग मोर्चाबन्दी गर्नुभन्दा पनि हिन्दूशास्त्रलाई व्यावहारिक रूपमै अस्वीकार गर्नुपर्छ । हिन्दूशास्त्रले नै मनुष्यलाई जातपातको शिक्षा प्रदान गरेको छ । अन्तरजातीय विवाह र अन्तरजातीय खानपिनका लागि कुनै जात समूहलाई दोष दिनुभन्दा हिन्दूशास्त्रबाट मान्छेको आस्था र विश्वासलाई हटाउनुपर्छ । शास्त्रसत्तालाई विरोध नगरीकन जात–व्यवस्थालाई नष्ट गर्न सकिँदैन । जात–व्यवस्थामाथि धार्मिक प्रभावलाई हटाउन रक्त–सम्बन्धमा रूपान्तरण अनिवार्य सर्त हो । रक्त–सम्बन्धमा रूपान्तरण अन्तरजातीय विवाहबाट मात्र सम्भव छ ।
मान्छेले तबसम्म आफ्नो आचरणमा सुधार गर्दैन जबसम्म उसले शास्त्रको पवित्रतामा विश्वास गरिरहन्छ । मान्छेको आचरण शास्त्रबाट निर्देशित छ । विवाह धर्मशास्त्रको प्रभावबाट मुक्त हुनुपर्छ । यसको लागि दलित÷बहुजनको नेतृत्वमा सामाजिक सुधारको आन्दोलनको शुरुवात गर्नुपर्छ । आन्दोलनको मुख्य उद्देश्य प्रत्येक महिला र पुरुषलाई हिन्दूशास्त्रको बन्धनबाट मुक्त गराउने हुनुपर्छ । शास्त्रद्वारा प्रतिष्ठापित हानिकारक धारणाबाट मस्तिष्कलाई मुक्त गर्नुपर्छ । त्यसपछि प्रत्येक महिला पुरुषले अन्तरजातीय खानपिन र अन्तरजातीय विवाहको आयोजन गर्न थाल्छन् ।
सामाजिक सुधारको बाटो राजनीतिक सुधारभन्दा चुनौतीपूर्ण हुन्छ । यो आन्दोलनमा मित्रभन्दा आलोचक र शत्रु बढी हुन्छन् । यसले मान्छेको मन र आत्मालाई शास्त्रको प्रभावबाट मुक्त गर्नुपर्छ । मन र आत्माको मुक्ति जनताको राजनीतिक विस्तारका लागि पहिलो आवश्यकता हो । अन्तरजातीय विवाहलाई धार्मिक प्रभावबाट मुक्त गर्नुपर्छ । विवाह समारोहमा धार्मिक संस्कारलाई अस्वीकार गर्नुपर्छ । हिन्दूशास्त्रको जगमा निर्माण भएको पितृसत्तालाई चुनौती दिन सक्नुपर्छ । पण्डित पुरोहितलाई बहिष्कार गर्नुपर्छ । सवर्ण जातीय पितृसत्ताको सम्पूर्ण अवशेषलाई नष्ट गरी अन्तरजातीय विवाहलाई अभियानको रूपमा लागू गर्नुपर्छ । राजनीतिक तथा सामाजिक अभियन्ता रामरिझन यादवले स्वयंबाट सुधारको जुन अभियान सञ्चालन गर्नुभएको छ त्यो स्वागतयोग्य छ । अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्चको दिन श्री रामरिझ यादव जीआफ्नो छोरी शिखाकिरणको अन्तरजातीय बिहेको आयोजन नितान्त गैरधार्मिक विधिबाट गरिरहनुभएकोमा हार्दिक शुभकामना तथा बधाई ।
लेखक सामाजिक अभियानकर्ता हुन् । अम्बेडकरी मुभमेन्ट विचारको नजिक छन् । माथि उल्लेखित विचार लेखकको निजी विचार हो ।

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।