कति शताब्दीसम्म चाहिन्छ सवर्णलाई आरक्षण ?

-राजकिशोर रजक

नेपाल प्रतिनिधि सभा र प्रदेश सभा चुनावको संघारमा छ । चुनावमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । प्रतिनिधि सभामा जम्मा २७५ प्रतिनिधि रहने व्यवस्था गरिएको छ । पहिलो हुने निर्वाचित हुने प्रक्रियाबाट १६५ र समानुपातिक प्रतिनिधित्वबाट ११० गरी जम्मा २७५ सदस्यीय प्रतिनिधि सभाको व्यवस्था गरिएको छ ।
यो निर्वाचन प्रणाली पहिलो संविधान सभा निर्वाचन प्रणालीभन्दा प्रतिगमनकारी छ । पहिलो संविधान सभा निर्वाचन प्रणालीमा ४० प्रतिशत पहिलो हुने निर्वाचित हुने र ६० प्रतिशतभन्दा बढी समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था गरिएको थियो । त्यसैकारण नेपाली इतिहासमा सबभन्दा बढी समावेशी प्रतिनिधित्व पहिलो संविधान सभामै भएको थियो । र, समाजको बनौटअनुसारको हाराहारीमा संविधान सभाको बनौट भएको थियो । यस्तो सुन्दर समावेशी निर्वाचन प्रणाली शासक जातिलाई मन परेन ।
खस–आर्यलाई ३१.२% आरक्षण !
‘कम दुःखले आर्जेको मूलुक होइन’ भनी दाबी गर्ने शासक जाति संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल २०७२ को संविधानबाट प्रतिक्रान्ति गर्न सफल भएको छ । समानुपातिक निर्वाचन प्रणालीमा अब ऐतिहासिक तथा प्रणालीगत रूपमा विभेद, अन्याय, बहिष्करणमा पारिएका मधेशी, दलित, आदिवासी जनजाति, मुस्लिम समुदायका हक अधिकारलाई अझै कटौती गरिएको छ । र, दुनियाँलाई नै लाज लाग्नेगरी समानुपातिक निर्वाचन प्रणालीमा अन्य कम प्रतिनिधित्व हुनेको हाराहारीमा राखी खस–आर्य समुदायलाई ३१.२% आरक्षण सुनिश्चित गरिएको छ ।
यसरी राजनीतिक आरक्षणको अलावा सरकारी जागिर, निजामती सेवा, न्यायपालिका, मिडिया, निजी क्षेत्रमा खस आर्य समुदायका लागि आरक्षण लागू गरिने सम्भावना बढेको छ । सबभन्दा बढी रोजगार उपलब्ध गराउँदै आएका प्रशासनिक र गैरप्रशासनिक क्षेत्रमा ८० प्रतिशभन्दा बढी मात्रामा खस आर्य समुदायकै नियन्त्रण छ ।
यहाँ वेलावेला नेपाल किन बनेन भन्ने मौसमी बहस हुने गरेको छ । नेपाल नबन्नुको कारण के हो ? देश नबन्नुमा कोही न कोही त जवाफदेही हुनु पर्छ कि पर्दैन ? दलित बहुजनले नेपाल नबन्नुमा जवाफदेही छ त ? कदापि छैन । जसले यहाँको राज्यसत्तामा वर्चस्व कायम गर्दै आए, त्यसैले नेपाल नबन्नुको जवाफदेहिता लिनुपर्छ । यहीँनिर सवर्ण हिन्दु शासकहरूको कार्यक्षमताको परीक्षण हुन्छ ।
यदि सबभन्दा योग्यता र गुण भएको, कार्यक्षमता पनि भएको भए नेपाल विकसित राष्ट्रको सुचीमा हुन्थ्यो होला । सवर्णहरूको कथित कार्यक्षमता व्यवहारतः असफल भइसकेको छ । अब त यो तथ्य सवर्ण हिन्दुहरूले पनि स्वीकार्नुको विकल्प छैन ।
सवर्ण हिन्दुको मूल दर्शन मनुवादी जातव्यवस्था हो । त्यसैले कार्यक्षमताको प्रश्न वंश परम्परासँग जोडिएको हुन्छ । सक्षम भनिने गरिएका राजनीतिक ढाँचा पनि मनुवादी विधानद्वारा निर्देशित छ । त्यसको मूल चरित्र मानव र राष्ट्रविरोधी हुन्छ ।
कार्यक्षमताबारे सवर्ण परिभाषा
त्यसवेला मात्रै सक्षम राजनीतिक ढाँचा निर्माण हुन्छ जतिवेला राज्यमा सक्षम व्यक्तिले स्थान पाउँछ । यो तर्क सुन्दा राम्रो लाग्न सक्छ, यसको हाकाहाकी विरोध गर्न सकिँदैन । कार्यक्षमताको सिद्धान्तमाथि कसैको विरोध छैन । योग्य मान्छे हुँदाहुँदै अयोग्यले ठाउँ पाउने कुरै भएन । त्यसो भए योग्यता के हो त ? योग्यताको परिभाषा कसले गर्ने ? हिन्दु समाजमा त योग्यता तथा श्रेष्ठताको आधार नै वर्णव्यवस्था हो । यस व्यवस्थाअनुसार ब्राह्मणहरूले आफूलाई सबैभन्दा श्रेष्ठ तथा योग्य परिभाषित गरेका छन् ।
यहाँ वेलावेला नेपाल किन बनेन भन्ने मौसमी बहस हुने गरेको छ । नेपाल नबन्नुको कारण के हो ? देश नबन्नुमा कोही न कोही त जवाफदेही हुनु पर्छ कि पर्दैन ? दलित बहुजनले नेपाल नबन्नुमा जवाफदेही छ त ? कदापि छैन । जसले यहाँको राज्यसत्तामा वर्चस्व कायम गर्दै आए, त्यसैले नेपाल नबन्नुको जवाफदेहिता लिनुपर्छ । यहीँनिर सवर्ण हिन्दु शासकहरूको कार्यक्षमताको परीक्षण हुन्छ ।
श्रेष्ठता तथा कार्यक्षमताको सिद्धान्तलाई कसरी हेर्ने ? के जर्मन नागरिक फ्रान्सका लागि श्रेष्ठ हुन सक्छ ? के अमेरिकी नागरिक भारतका लागि श्रेष्ठ हुन सक्छ ? के कुनै चिनियाँ जापानका लागि श्रेष्ठ हुन सक्छ ? कार्यक्षमताको मूल सिद्धान्तलाई आत्मसात् गर्दा फ्रान्स, भारत र जापान, जर्मनी, अमेरिका र चीनका नागरिकको कार्यक्षमता तथा श्रेष्ठता स्वीकार गर्नुपर्छ र आफूलाई अयोग्य र अक्षम ठान्नुपर्ने हुन्छ ।
कार्यक्षमताको सिद्धान्तलाई विश्लेषण गर्दा दुई वटा कुरालाई नजरअन्दाज गर्न मिल्दैन । एउटा, योग्य वा श्रेष्ठ मान्छे इमानदार हुन्छ भन्ने छैन । अर्को, योग्य वा श्रेष्ठ मान्छे संवेदनहीन पनि हुन सक्छ । दलित बहुजनको हकमा सवर्ण हिन्दु ‘श्रेष्ठ’ नै भए पनि इमानदार तथा संवेदनशिल छैन, यो कुरा व्यवहारमा प्रमाणित हुँदै आएको छ । योग्यता कसैको बपौती हुन सक्दैन । मनुवादमा आधारित श्रेष्ठता र योग्यतालाई आजको समाजले स्वीकार्न सक्दैन ।
अहिलेसम्म योग्य र सक्षम भनिने सवर्ण हिन्दुहरूको कार्यक्षमतालाई विश्लेषण गरौँ । आजसम्मको इतिहासमा विज्ञान र प्रविधिको आविष्कारको क्षेत्रमा उनीहरूका कार्यक्षमताको अवस्था कस्तो छ ? किन आजसम्म यस क्षेत्रमा कुनै कथित योग्य सवर्णले नोबल पुरस्कार प्राप्त गर्न सकेन ? स्वघोषित कार्यक्षमता र योग्यता प्रमाणित गर्ने अवसर किन जुराउन सकेन ? किन कुनै जीवन उपयोगी विज्ञान र प्रविधिको विकास गर्न सकेन ? किनभने उनीहरूलाई श्रममा, सीपमा, पसिनामा विश्वास थिएन ।
सबैभन्दा वैज्ञानिक दलित बहुजन !
भारतीय राजनीतिक चिन्तक कांचा इलैयाको पुस्तक ‘पोष्ट हिन्दु इण्डिया’ अनुसार दलित बहुजन सबभन्दा बढी वैज्ञानिक, सबभन्दा बढी प्राविधिक र सबभन्दा बढी जीवन उपयोगी शिक्षा प्रयोग गर्ने समुदाय हो । उदाहरणका लागि, सरसफाइको चेतना सभ्यताको शुरुवातदेखि नै धोवी जातमा थियो । धोवी जातबाटै असली नारीवादको विकास भएको थियो । खुट्टाको साइजअनुसारको जुत्ता बनाउने ज्ञान र सीप चमारहरूमा थियो । माटो र उत्पादनसँग प्रेम गर्ने ज्ञान र सभ्यता मुसहरहरूसँग थियो । ठूलाबडालाई एक ठाउँबाट अर्को ठाउँमा लान ज्ञान, सीप र बल कहार जातका मानिससँग थियो । हँसिया, हलो, खुर्पी बनाउने ज्ञान र सीप लोहार तथा बरही जातका मानिसमा थियो । भैँसी पालन गर्ने र समाजलाई दूध उपलब्ध गराउने ज्ञान र सीप गुवार जातमा थियो । ती सबै सीप, ज्ञान र श्रम निरन्तर जारी छ ।
श्रम, सीप र सौन्दर्यका विशिष्ट ज्ञान, विज्ञान र प्रविधि दलित बहुजन समुदायमा थियो । दलित बहुजनमा ज्ञान–विज्ञानको अपार सम्भावना थियो । तर सवर्ण हिन्दु भने ज्ञान–विज्ञान पक्षधर थिएन । उनीहरूमा धेरैजसो श्रमविरोधी थिए । उनीहरूले सम्पक्ति शिक्षा व्यवस्थामा एकाधिकार कायम रहेकै कारण पनि दलित बहुजनको सम्भावनालाई प्रष्फुटन हुन दिइएन । दलित बहुजनको कार्यक्षमतालाई आधुनिक शिक्षा व्यवस्थामा पहुँच भएको भए आज आईन्टाइन र माक्र्सजस्ता विद्वान् यही समाजमा पनि जन्मिन्थ्यो होला । संसारभरिका वैज्ञानिक र प्राविधिकको विकास वर्कसपमा भएका छन्, तर यहाँ त वर्कसपको विकास नै हुन पाएन ।
जब कुनै समाजमा ठूलबडालाई एक ठाउँबाट अर्को ठाउँ लान कहार जात उपलब्ध हुन्छ भने अटोमोबाइलको अविष्कार गर्ने आवश्यकतै हुँदैन । त्यस्तै लुगा धुन धोवी जात उपलब्ध हुन्छ भने वाशिङ्ग मेसिनको अविष्कार गर्ने जरुरतै हुँदैन । चर्पी सफा गर्न कुनै अमुक जातका मानिस उपलब्ध छन् भने आधुनिक शौचालयको अविष्कार गर्ने कुरै हुँदैन । जजसलाई अविष्कारको आवश्यकता थियो तिनलाई आधुनिक शिक्षाबाट वञ्चित गरियो । जसको शिक्षामा पहुँच थियो त्यसले अविष्कारको जरुरत नै ठानेन ।

मुठ्ठीभरको आरक्षणविरुद्ध बहुजनको आरक्षण 

जब जब दलित बहुजनले सामाजिक न्यायको आधारमा समतामूलक आरक्षणको माग गर्छन् सवर्ण हिन्दुहरूले कार्यक्षमताको दलिल दिन्छन् । उनीहरू भन्छन्, पढ्ने वेला हामी टुप्पी कसेर पढ्ने अनि अयोग्यले जागिर खाने ? त्यसैले दलित बहुजन समाजले आरक्षण अधिकारको दाबी गर्न सुहाउँदैन ।
सवर्ण हिन्दु समाजका धेरैजसो मानिस मूलतः वर्णव्यवस्थालाई कार्यक्षमताको आधार बनाउनेहरू निकै तल्लो स्तरसम्म जान सक्छन्, यो कुतर्कबाट त्यही कुरा प्रमाणित हुन्छ । उनीहरूले आजसम्म जुन वर्चस्व कायम गरेका छन्, त्यो कुतर्क, विभाजन र विभेदकै कारणले सम्भव भएको हो । यी सबै पाटोलाई लुकाएर उनीहरू कार्यक्षमताबारे आफ्नो भाष्य (न्यारेटिभ) प्रभावकारी ढंगबाट समाजमा स्थापित गर्न सफल भएका छन् ।
शासक जातिका मानिसहरूले के कुरा बिर्सन्छन् भने के कस्ता हर्कत गरेर उनीहरू आजको अवस्थामा आइपुगेका छन् । उनीहरूले आफ्नो हृदयलाई इमान्दारिपूर्वक सोध्नुपर्छ ः उनीहरूले जुन श्रेष्ठता समाजमा प्राप्त गरेका छन्, त्यो कुन कुन कार्यक्षमताको कारणले प्राप्त गरेका हुन् ? वास्तवमा उनीहरूको श्रेष्ठताको पृष्ठभूमिमा कार्यक्षमताभन्दा अर्कै तत्व रहेको छ ।
पाठकहरू के कुरा थाहा पाएर छक्क पर्न सक्छन् भने सवर्ण हिन्दुहरूले आफ्नो श्रेष्ठता र योग्यता यही आरक्षणका कारण प्राप्त गरेका हुन् । यसको प्रमाणका लागि मनुस्मृतिको पाना पल्टाएर हेर्दा थाहा हुन्छ । मनुस्मृतिका अनुसार पुरोहितको पद, सम्राटको कुलगुरू, प्रमुख सल्लाहकार, न्यायकर्म, दण्डाधीशको पद र सम्राटको मन्त्री पद ब्राह्मणका लागि सुरक्षित गरिएको थियो । के यो आरक्षण होइन ? त्यसैले दलित बहुजनको आरक्षणको माग र आधारलाई विरोध गर्ने नैतिकता सदीयौंदेखि आरक्षित समुदायलाई छैन ।
यी त भए मनुस्मृतिको कुरा । अर्को हिसाबले हेरौँ । हिन्दु समाजमा नाला सफा गर्ने र चर्पी सफा गर्नेहरूको जात विश्लेषण गरौँ । मठमन्दिरमा बस्ने पुजारीहरूको जात विश्लेषण गरौँ । विनोद चौधरीको छोरा जन्मँदै अर्बपति हुन्छ र कमलु मुसहर मर्दा दाहसंस्कार गर्न एक टुक्रा भूमि पनि हुँदैन । यो आरक्षण होइन भने के हो त ? आरक्षण सही हो भने सरकारी पदमा मात्रै होइन, निजी क्षेत्रमा पनि लागू गरौँ । सबै व्यवसाय र पेसामा आरक्षण लागू गरेर हेरौँ । सवर्ण हिन्दुहरूले राज्यमा मात्रै होइन, ट्वाइलेट सफा गर्ने, लुगा धुने र जुता बनाउने काममा पनि ३१.२% आरक्षण दाबी गर्ने कि ? त्यस्तो दाबी गर्ने नैतिक साहस गर्न सक्छन् कि सक्दैनन् ?
आजसम्म आरक्षणको बलमा सवर्ण हिन्दुहरूले नेपाली राज्यसत्ता र समाजमा बर्चस्व कायम गरेका छन्, यो अन्यायपूर्ण रहेको तथ्य स्पष्ट छ । दलित बहुजनले न्यायका आधारमा समतामूलक आरक्षणको अधिकारको माग गरेका हुन् । यस्तो न्यायपूर्ण माग गर्दा पनि कथित कार्यक्षमताको दलिल दिनु अवैज्ञानिक र अन्यायपूर्ण मात्रै होइन, आपराधिक मानसिकताको नमुना हो । दलित बहुजनको कार्यक्षमतामाथि प्रश्न गर्नुभन्दा सवर्ण हिन्दुवादी विचारक वा लेखकहरूले आफ्नो कार्यक्षमताको पुनर्मूल्यांकन गर्नुपर्छ । दलित बहुजनले सताब्दीयौँदेखि काय राखेका जीवन उपयोगी ज्ञान–प्रविधिसामु कार्यक्षमताको दलिल दिने नैतिक शक्ति सवर्ण हिन्दुहरूले गुमाइसकेका छन् । (लेखक सामाजिक अभियानकर्ता हुन्)

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।