कति शताब्दीसम्म चाहिन्छ सवर्णलाई आरक्षण ?

-राजकिशोर रजक

नेपाल प्रतिनिधि सभा र प्रदेश सभा चुनावको संघारमा छ । चुनावमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । प्रतिनिधि सभामा जम्मा २७५ प्रतिनिधि रहने व्यवस्था गरिएको छ । पहिलो हुने निर्वाचित हुने प्रक्रियाबाट १६५ र समानुपातिक प्रतिनिधित्वबाट ११० गरी जम्मा २७५ सदस्यीय प्रतिनिधि सभाको व्यवस्था गरिएको छ ।
यो निर्वाचन प्रणाली पहिलो संविधान सभा निर्वाचन प्रणालीभन्दा प्रतिगमनकारी छ । पहिलो संविधान सभा निर्वाचन प्रणालीमा ४० प्रतिशत पहिलो हुने निर्वाचित हुने र ६० प्रतिशतभन्दा बढी समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था गरिएको थियो । त्यसैकारण नेपाली इतिहासमा सबभन्दा बढी समावेशी प्रतिनिधित्व पहिलो संविधान सभामै भएको थियो । र, समाजको बनौटअनुसारको हाराहारीमा संविधान सभाको बनौट भएको थियो । यस्तो सुन्दर समावेशी निर्वाचन प्रणाली शासक जातिलाई मन परेन ।
खस–आर्यलाई ३१.२% आरक्षण !
‘कम दुःखले आर्जेको मूलुक होइन’ भनी दाबी गर्ने शासक जाति संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल २०७२ को संविधानबाट प्रतिक्रान्ति गर्न सफल भएको छ । समानुपातिक निर्वाचन प्रणालीमा अब ऐतिहासिक तथा प्रणालीगत रूपमा विभेद, अन्याय, बहिष्करणमा पारिएका मधेशी, दलित, आदिवासी जनजाति, मुस्लिम समुदायका हक अधिकारलाई अझै कटौती गरिएको छ । र, दुनियाँलाई नै लाज लाग्नेगरी समानुपातिक निर्वाचन प्रणालीमा अन्य कम प्रतिनिधित्व हुनेको हाराहारीमा राखी खस–आर्य समुदायलाई ३१.२% आरक्षण सुनिश्चित गरिएको छ ।
यसरी राजनीतिक आरक्षणको अलावा सरकारी जागिर, निजामती सेवा, न्यायपालिका, मिडिया, निजी क्षेत्रमा खस आर्य समुदायका लागि आरक्षण लागू गरिने सम्भावना बढेको छ । सबभन्दा बढी रोजगार उपलब्ध गराउँदै आएका प्रशासनिक र गैरप्रशासनिक क्षेत्रमा ८० प्रतिशभन्दा बढी मात्रामा खस आर्य समुदायकै नियन्त्रण छ ।
यहाँ वेलावेला नेपाल किन बनेन भन्ने मौसमी बहस हुने गरेको छ । नेपाल नबन्नुको कारण के हो ? देश नबन्नुमा कोही न कोही त जवाफदेही हुनु पर्छ कि पर्दैन ? दलित बहुजनले नेपाल नबन्नुमा जवाफदेही छ त ? कदापि छैन । जसले यहाँको राज्यसत्तामा वर्चस्व कायम गर्दै आए, त्यसैले नेपाल नबन्नुको जवाफदेहिता लिनुपर्छ । यहीँनिर सवर्ण हिन्दु शासकहरूको कार्यक्षमताको परीक्षण हुन्छ ।
यदि सबभन्दा योग्यता र गुण भएको, कार्यक्षमता पनि भएको भए नेपाल विकसित राष्ट्रको सुचीमा हुन्थ्यो होला । सवर्णहरूको कथित कार्यक्षमता व्यवहारतः असफल भइसकेको छ । अब त यो तथ्य सवर्ण हिन्दुहरूले पनि स्वीकार्नुको विकल्प छैन ।
सवर्ण हिन्दुको मूल दर्शन मनुवादी जातव्यवस्था हो । त्यसैले कार्यक्षमताको प्रश्न वंश परम्परासँग जोडिएको हुन्छ । सक्षम भनिने गरिएका राजनीतिक ढाँचा पनि मनुवादी विधानद्वारा निर्देशित छ । त्यसको मूल चरित्र मानव र राष्ट्रविरोधी हुन्छ ।
कार्यक्षमताबारे सवर्ण परिभाषा
त्यसवेला मात्रै सक्षम राजनीतिक ढाँचा निर्माण हुन्छ जतिवेला राज्यमा सक्षम व्यक्तिले स्थान पाउँछ । यो तर्क सुन्दा राम्रो लाग्न सक्छ, यसको हाकाहाकी विरोध गर्न सकिँदैन । कार्यक्षमताको सिद्धान्तमाथि कसैको विरोध छैन । योग्य मान्छे हुँदाहुँदै अयोग्यले ठाउँ पाउने कुरै भएन । त्यसो भए योग्यता के हो त ? योग्यताको परिभाषा कसले गर्ने ? हिन्दु समाजमा त योग्यता तथा श्रेष्ठताको आधार नै वर्णव्यवस्था हो । यस व्यवस्थाअनुसार ब्राह्मणहरूले आफूलाई सबैभन्दा श्रेष्ठ तथा योग्य परिभाषित गरेका छन् ।
यहाँ वेलावेला नेपाल किन बनेन भन्ने मौसमी बहस हुने गरेको छ । नेपाल नबन्नुको कारण के हो ? देश नबन्नुमा कोही न कोही त जवाफदेही हुनु पर्छ कि पर्दैन ? दलित बहुजनले नेपाल नबन्नुमा जवाफदेही छ त ? कदापि छैन । जसले यहाँको राज्यसत्तामा वर्चस्व कायम गर्दै आए, त्यसैले नेपाल नबन्नुको जवाफदेहिता लिनुपर्छ । यहीँनिर सवर्ण हिन्दु शासकहरूको कार्यक्षमताको परीक्षण हुन्छ ।
श्रेष्ठता तथा कार्यक्षमताको सिद्धान्तलाई कसरी हेर्ने ? के जर्मन नागरिक फ्रान्सका लागि श्रेष्ठ हुन सक्छ ? के अमेरिकी नागरिक भारतका लागि श्रेष्ठ हुन सक्छ ? के कुनै चिनियाँ जापानका लागि श्रेष्ठ हुन सक्छ ? कार्यक्षमताको मूल सिद्धान्तलाई आत्मसात् गर्दा फ्रान्स, भारत र जापान, जर्मनी, अमेरिका र चीनका नागरिकको कार्यक्षमता तथा श्रेष्ठता स्वीकार गर्नुपर्छ र आफूलाई अयोग्य र अक्षम ठान्नुपर्ने हुन्छ ।
कार्यक्षमताको सिद्धान्तलाई विश्लेषण गर्दा दुई वटा कुरालाई नजरअन्दाज गर्न मिल्दैन । एउटा, योग्य वा श्रेष्ठ मान्छे इमानदार हुन्छ भन्ने छैन । अर्को, योग्य वा श्रेष्ठ मान्छे संवेदनहीन पनि हुन सक्छ । दलित बहुजनको हकमा सवर्ण हिन्दु ‘श्रेष्ठ’ नै भए पनि इमानदार तथा संवेदनशिल छैन, यो कुरा व्यवहारमा प्रमाणित हुँदै आएको छ । योग्यता कसैको बपौती हुन सक्दैन । मनुवादमा आधारित श्रेष्ठता र योग्यतालाई आजको समाजले स्वीकार्न सक्दैन ।
अहिलेसम्म योग्य र सक्षम भनिने सवर्ण हिन्दुहरूको कार्यक्षमतालाई विश्लेषण गरौँ । आजसम्मको इतिहासमा विज्ञान र प्रविधिको आविष्कारको क्षेत्रमा उनीहरूका कार्यक्षमताको अवस्था कस्तो छ ? किन आजसम्म यस क्षेत्रमा कुनै कथित योग्य सवर्णले नोबल पुरस्कार प्राप्त गर्न सकेन ? स्वघोषित कार्यक्षमता र योग्यता प्रमाणित गर्ने अवसर किन जुराउन सकेन ? किन कुनै जीवन उपयोगी विज्ञान र प्रविधिको विकास गर्न सकेन ? किनभने उनीहरूलाई श्रममा, सीपमा, पसिनामा विश्वास थिएन ।
सबैभन्दा वैज्ञानिक दलित बहुजन !
भारतीय राजनीतिक चिन्तक कांचा इलैयाको पुस्तक ‘पोष्ट हिन्दु इण्डिया’ अनुसार दलित बहुजन सबभन्दा बढी वैज्ञानिक, सबभन्दा बढी प्राविधिक र सबभन्दा बढी जीवन उपयोगी शिक्षा प्रयोग गर्ने समुदाय हो । उदाहरणका लागि, सरसफाइको चेतना सभ्यताको शुरुवातदेखि नै धोवी जातमा थियो । धोवी जातबाटै असली नारीवादको विकास भएको थियो । खुट्टाको साइजअनुसारको जुत्ता बनाउने ज्ञान र सीप चमारहरूमा थियो । माटो र उत्पादनसँग प्रेम गर्ने ज्ञान र सभ्यता मुसहरहरूसँग थियो । ठूलाबडालाई एक ठाउँबाट अर्को ठाउँमा लान ज्ञान, सीप र बल कहार जातका मानिससँग थियो । हँसिया, हलो, खुर्पी बनाउने ज्ञान र सीप लोहार तथा बरही जातका मानिसमा थियो । भैँसी पालन गर्ने र समाजलाई दूध उपलब्ध गराउने ज्ञान र सीप गुवार जातमा थियो । ती सबै सीप, ज्ञान र श्रम निरन्तर जारी छ ।
श्रम, सीप र सौन्दर्यका विशिष्ट ज्ञान, विज्ञान र प्रविधि दलित बहुजन समुदायमा थियो । दलित बहुजनमा ज्ञान–विज्ञानको अपार सम्भावना थियो । तर सवर्ण हिन्दु भने ज्ञान–विज्ञान पक्षधर थिएन । उनीहरूमा धेरैजसो श्रमविरोधी थिए । उनीहरूले सम्पक्ति शिक्षा व्यवस्थामा एकाधिकार कायम रहेकै कारण पनि दलित बहुजनको सम्भावनालाई प्रष्फुटन हुन दिइएन । दलित बहुजनको कार्यक्षमतालाई आधुनिक शिक्षा व्यवस्थामा पहुँच भएको भए आज आईन्टाइन र माक्र्सजस्ता विद्वान् यही समाजमा पनि जन्मिन्थ्यो होला । संसारभरिका वैज्ञानिक र प्राविधिकको विकास वर्कसपमा भएका छन्, तर यहाँ त वर्कसपको विकास नै हुन पाएन ।
जब कुनै समाजमा ठूलबडालाई एक ठाउँबाट अर्को ठाउँ लान कहार जात उपलब्ध हुन्छ भने अटोमोबाइलको अविष्कार गर्ने आवश्यकतै हुँदैन । त्यस्तै लुगा धुन धोवी जात उपलब्ध हुन्छ भने वाशिङ्ग मेसिनको अविष्कार गर्ने जरुरतै हुँदैन । चर्पी सफा गर्न कुनै अमुक जातका मानिस उपलब्ध छन् भने आधुनिक शौचालयको अविष्कार गर्ने कुरै हुँदैन । जजसलाई अविष्कारको आवश्यकता थियो तिनलाई आधुनिक शिक्षाबाट वञ्चित गरियो । जसको शिक्षामा पहुँच थियो त्यसले अविष्कारको जरुरत नै ठानेन ।

मुठ्ठीभरको आरक्षणविरुद्ध बहुजनको आरक्षण 

जब जब दलित बहुजनले सामाजिक न्यायको आधारमा समतामूलक आरक्षणको माग गर्छन् सवर्ण हिन्दुहरूले कार्यक्षमताको दलिल दिन्छन् । उनीहरू भन्छन्, पढ्ने वेला हामी टुप्पी कसेर पढ्ने अनि अयोग्यले जागिर खाने ? त्यसैले दलित बहुजन समाजले आरक्षण अधिकारको दाबी गर्न सुहाउँदैन ।
सवर्ण हिन्दु समाजका धेरैजसो मानिस मूलतः वर्णव्यवस्थालाई कार्यक्षमताको आधार बनाउनेहरू निकै तल्लो स्तरसम्म जान सक्छन्, यो कुतर्कबाट त्यही कुरा प्रमाणित हुन्छ । उनीहरूले आजसम्म जुन वर्चस्व कायम गरेका छन्, त्यो कुतर्क, विभाजन र विभेदकै कारणले सम्भव भएको हो । यी सबै पाटोलाई लुकाएर उनीहरू कार्यक्षमताबारे आफ्नो भाष्य (न्यारेटिभ) प्रभावकारी ढंगबाट समाजमा स्थापित गर्न सफल भएका छन् ।
शासक जातिका मानिसहरूले के कुरा बिर्सन्छन् भने के कस्ता हर्कत गरेर उनीहरू आजको अवस्थामा आइपुगेका छन् । उनीहरूले आफ्नो हृदयलाई इमान्दारिपूर्वक सोध्नुपर्छ ः उनीहरूले जुन श्रेष्ठता समाजमा प्राप्त गरेका छन्, त्यो कुन कुन कार्यक्षमताको कारणले प्राप्त गरेका हुन् ? वास्तवमा उनीहरूको श्रेष्ठताको पृष्ठभूमिमा कार्यक्षमताभन्दा अर्कै तत्व रहेको छ ।
पाठकहरू के कुरा थाहा पाएर छक्क पर्न सक्छन् भने सवर्ण हिन्दुहरूले आफ्नो श्रेष्ठता र योग्यता यही आरक्षणका कारण प्राप्त गरेका हुन् । यसको प्रमाणका लागि मनुस्मृतिको पाना पल्टाएर हेर्दा थाहा हुन्छ । मनुस्मृतिका अनुसार पुरोहितको पद, सम्राटको कुलगुरू, प्रमुख सल्लाहकार, न्यायकर्म, दण्डाधीशको पद र सम्राटको मन्त्री पद ब्राह्मणका लागि सुरक्षित गरिएको थियो । के यो आरक्षण होइन ? त्यसैले दलित बहुजनको आरक्षणको माग र आधारलाई विरोध गर्ने नैतिकता सदीयौंदेखि आरक्षित समुदायलाई छैन ।
यी त भए मनुस्मृतिको कुरा । अर्को हिसाबले हेरौँ । हिन्दु समाजमा नाला सफा गर्ने र चर्पी सफा गर्नेहरूको जात विश्लेषण गरौँ । मठमन्दिरमा बस्ने पुजारीहरूको जात विश्लेषण गरौँ । विनोद चौधरीको छोरा जन्मँदै अर्बपति हुन्छ र कमलु मुसहर मर्दा दाहसंस्कार गर्न एक टुक्रा भूमि पनि हुँदैन । यो आरक्षण होइन भने के हो त ? आरक्षण सही हो भने सरकारी पदमा मात्रै होइन, निजी क्षेत्रमा पनि लागू गरौँ । सबै व्यवसाय र पेसामा आरक्षण लागू गरेर हेरौँ । सवर्ण हिन्दुहरूले राज्यमा मात्रै होइन, ट्वाइलेट सफा गर्ने, लुगा धुने र जुता बनाउने काममा पनि ३१.२% आरक्षण दाबी गर्ने कि ? त्यस्तो दाबी गर्ने नैतिक साहस गर्न सक्छन् कि सक्दैनन् ?
आजसम्म आरक्षणको बलमा सवर्ण हिन्दुहरूले नेपाली राज्यसत्ता र समाजमा बर्चस्व कायम गरेका छन्, यो अन्यायपूर्ण रहेको तथ्य स्पष्ट छ । दलित बहुजनले न्यायका आधारमा समतामूलक आरक्षणको अधिकारको माग गरेका हुन् । यस्तो न्यायपूर्ण माग गर्दा पनि कथित कार्यक्षमताको दलिल दिनु अवैज्ञानिक र अन्यायपूर्ण मात्रै होइन, आपराधिक मानसिकताको नमुना हो । दलित बहुजनको कार्यक्षमतामाथि प्रश्न गर्नुभन्दा सवर्ण हिन्दुवादी विचारक वा लेखकहरूले आफ्नो कार्यक्षमताको पुनर्मूल्यांकन गर्नुपर्छ । दलित बहुजनले सताब्दीयौँदेखि काय राखेका जीवन उपयोगी ज्ञान–प्रविधिसामु कार्यक्षमताको दलिल दिने नैतिक शक्ति सवर्ण हिन्दुहरूले गुमाइसकेका छन् । (लेखक सामाजिक अभियानकर्ता हुन्)

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार