जात–व्यवस्थाविरुद्ध किन भएन विद्रोह ?

काठमाडौँ
जतिबेला संसार कोभिड–१९ महामारीवाट जुधिरहेको छ त्यतिबेला नै नेपालका सवर्ण समाज र सत्ता मनुवादी जातीय हिंसा, बलात्कार तथा हत्याको साक्षी बन्दैछ। भनिन्छ, आपत्ले समाजमा स्थापित मूल्य तथा मान्यतालाई हल्लाइदिँदोरहेछ तर उक्त भनाइ मनुवादमा आधारित अमानुस जाति–व्यवस्थाको मानसिकतालाई हल्लाउन सकेको छैन्। बरु उल्टै जात–व्यवस्थामा आधारित क्रमिक असमानतालाई कोभिड–१९ ले झन मजबुत बनाउने काम गर्दैछ। रुकुमको अन्तरजातीय प्रेमकै कारण जातीय हत्या काण्ड, रूपन्देही देवदहकी १३ वर्षीया बालिकालाई बलात्कार गरेका व्यक्तिलाई गैरकानुनीरूपमा जिम्मा लगाउनु र केटा पक्षबाट हत्या हुनु अनि सिरहामा यौन सम्बन्धको प्रस्ताव अस्वीकार गर्दा सार्वजनिकरूपमा कुटपिट गर्नुबाट के प्रमाणित हुन्छ कि कोभिड–१९ जस्तो महामारीले जातीय मानसिकतालाई झन बलियो बनाउँदैछ।
समानता र असमानताको भाषामा भन्नुपर्दाब्राह्मण कसैको दास हुन सक्दैन तर उसलाई कुनै पनि वर्णको व्यक्तिलाई दास बनाउन सक्ने अधिकार हुन्छ। शुद्रलाई सबैले दास बनाउन सक्छन् तर शुद्रले अरु कसैलाई दास बनाउन सक्दैन्।
देश बन्दाबन्दीमा छ तर जातीय पितृसत्ताले राज्य र सवर्ण समाजको संरक्षणमा खुलेआम हत्या–हिंसा र बलात्कारका घटना हुँदैछ। संसारमा कुनै समय अस्तित्वमा रहेको दास–प्रथा अन्त्य भइसक्यो तर दक्षिण एसियामा खासगरी भारत र नेपालमा जात–व्यवस्थामा आधारित दास–प्रथा किन अन्त्य हुन सकेन ? जात–व्यवस्थाविरुद्ध विद्रोह नहुनुको अधारभूत कारण के हो ? जात–व्यवस्थाले निर्माण गरेको क्रमिक असमानतालाई दलित आन्दोलनले ठोस–ठोसरूपमा बुझ्न किन सकेन ? यी प्रश्नका वरिपरि रहेर यो आलेख तयार पारिएको छ।
असमानता कि क्रमिक असमानता ?  
असमानताको सिद्धान्तलाई सहजै बुझ्न सकिन्छ। असमानता संसारको लगभग सबै समाजमा छ। समान्यतः समाजको अध्ययन गर्ने विद्यार्थी समानता र असमानताबीचको अन्तर पढेर सन्तुष्ट हुने चलन छ। कसैले अनुभवसम्म गर्दैन कि समानता र असमानताका अतिरिक्त क्रमिक असमानता (ग्रेडेड इनइक्वालिटी) जस्तो चिज पनि समाजमा छ।
असमानताको तुलनामा क्रमिक असमानता बढी खतरनाक र हानिकारक हुन्छ। असमानतामा विनाशको बीउ अन्तरनिहित हुन्छ। असमानता धेरै दिन अस्तित्वमा नरहन पनि सक्छ। जहाँ असमानता हुन्छ त्यहाँ दुईटा विचारले काम गरेको हुन्छ। पहिलो, असमानतामा असन्तुष्टि हुन्छ र असन्तुष्टि क्रान्तिको बीउका रूपमा काम गर्छ। दोस्रो, उत्पीडितलाई समान सत्रु र समान कष्टका विरुद्ध संगठित हुने मौका प्रदान गर्छ।
क्रमिक असमानताको प्रकृति र परिस्थिति समानताभन्दा फरक हुन्छ। यसमा अन्यायकोविरुद्ध असन्तुष्टि उत्पन्न हुँदैन जसका कारण विद्रोहको संभावना ज्याँदै कम हुन्छ। भए पनि विद्रोहले आमरूप लिँदैन। क्रमिक असमानताको कारण समान शत्रु र समान कष्टका विरुद्ध दलित बहुजन आजसम्म संगठित हुन सकेको छैन। क्रमिक असमानतामा लाभ र हानिको सिद्धान्तले काम गरेको हुन्छ। उत्पीडित मान्छे लाभ र हानि दुवै मामलामा असमान हुन्छ। जातीय लाभ र हानिको कारण अन्यायविरुद्ध विद्रोह हुने सम्भावना कम हुन्छ। यसलाई बुझ्नका लागि ब्राह्मणको विवाहसम्बन्धी नियमलाई उदाहरणका रूपमा बुझ्ने प्रयास गराँै।  
ब्राह्मणलाई आफूभन्दा तल्लो वर्णकी महिलासँग विवाह गर्ने अधिकार हुन्छ। यस्तो विवाहलाई अनुलोम विवाह भन्छ। तर, ब्राह्मणले अरु तीन वर्णको पुरुषलाई आफ्नो छोरी दिँदैन्। यो व्यवस्था अन्यायपूर्ण छ। यो अन्याय अन्त्य गर्नका लागि बाँकी तीन वर्ण क्षत्रीय, वैश्य र शुद्र संगठित हुँदैनन्। क्षत्रीय ब्राह्मणको उक्त अधिकारबाट खुस छैन तर ब्राह्मणको अन्यायपूर्ण विवाहको नियमविरुद्ध वैश्य र शुद्रसँग संगठित हुन चाहँदैन्। किन संगठित हुन चाहँदैन ? यही विन्दुमा लाभ र हानिको सिद्धान्तले काम गर्छ।  
क्षत्रीयले ब्राह्मणको तीनै वर्णको महिलासँग विवाह गर्ने अधिकारविरुद्ध वैश्य र शुद्रसँग मिलेर विद्रोह नगर्नुको कारण क्षत्रीयलाई पनि बाँकी दुई वर्णका महिलासँग विवाह गर्ने अधिकार प्राप्त छ। क्षत्रीयलाई त्यति नोक्सान हुँदैन जति वैश्य र शुद्रलाई हुन्छ।  
यदि क्षत्रीय ब्राह्मणको अन्यायपूर्ण विवाह नियमविरुद्ध आमआन्दोलनकारीको बीचमा खडा हुन्छ भने उनीहरू ब्राह्णको स्तरमा पुग्न सक्छन् तर अर्कोतर्फ सबै वर्णको सामाजिक स्तर समान हुन जान्छ। यसको मतलब वैश्य र शुद्र पनि ब्राह्मण र क्षत्रीयको हैसियत प्राप्त गर्न सक्छन्। वैश्य र शुद्रले पनि ब्राह्मण र क्षत्रीय महिलासँग विवाह गर्ने अधिकार प्राप्त हुन्छ। यो प्रक्रियाबाट क्षत्रीय मौजुदा समाजिक हैसियतबाट तल झर्नुपर्ने हुन्छ। क्षत्रीय यही सामाजिक नोक्सानको कारण वैश्य र शुद्रसँग संगठित भएर ब्राह्मणको अन्यायपूर्ण विवाह नियमविरुद्ध विद्रोह गर्न चाहँदैन। यस्तो किसिमको प्रवृत्ति छुवाछूत, अन्तरजातीय विवाह, सहभोज, सामाजिक बहिष्करण जस्ता उदाहरणलाई लिएर क्रमिक असमानता र त्यसमा अन्तरनिहित लाभ र हानिको सिद्धान्तले कसरी समाजलाई पंगु बनाएको छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ।
पश्चिम रुकुमको घटना यसको ज्वलन्त उदाहरण हो। दलितको छोरा र ठकुरीको छोरीबीच प्रेम सम्बन्ध थियो। उनीहरू प्रेमलाई विवाहमा परिवर्तन गर्न चाहन्थे। जात–व्यवस्थामा प्रेम अपराध हो। क्षत्रीयको जातीय अहंकारका कारण प्रेमीको समूहलाई सामूहिक हत्या गरियो। कुनैबेला माओवादको आधार इलाका भएको रुकुममा माओवादको सांस्कृतिक क्रान्तिको नेतृत्व गर्ने कमान्डरले हकाहाकी हत्या काण्ड अस्वीकार गरे। स्वजनलाई बचाउन राज्य शक्तिको दुरूपयोग गर्दैछन्।
क्रमिक असमानताका कारण जात–व्यवस्थाविरुद्ध आमआन्दोलन हुन सकेन। यो लुट–खसोटमा हिस्सा हुने प्रणाली हो जहाँ आफ्नो वर्चश्व बनाइराख्नका लागि समर्थन प्राप्त हुन्छ। यस्तो प्रणालीलाई घटिया दर्जाको प्रणाली भनिन्छ जसबाट अन्यायलाई आजसम्म कायम राखिएको छ। लुट–खसोटको व्यवस्था अरु केही नभएर अन्यायको हिस्सेदार बन्नका लागि जातीय स्वजनलाई आमन्त्रण गर्छ। 
क्रमिक असमानता र दासत्व  
मनुले वर्णलाई वंशानुगतमा रूपान्तरण गरी जातीय दास–प्रथालाई मान्यता दिएको थियो तर क्रमिक असमानताको सिद्धान्त दास–प्रथाको आधार बन्न सक्छ कि सक्दैन सुनिश्चित गर्न सकेको थिएन। क्रमिक असमानताको सिद्धान्तले ब्राह्मण पनि शुद्रको दास बन्न सक्ने संदेह वा शंकालाई याज्ञवल्क्यले सदाका लागि अन्त्य गरिदिए। याज्ञवल्क्यले दासत्वको आधार वर्णको अवरोही क्रम हो न कि आरोही क्रम। मतलव ब्राह्मण र शेष वर्णमा दासत्वको आधार अवरोही क्रममा अनुलोम्येन हुन्छ। समानता र असमानताको भाषामा भन्नुपर्दाब्राह्मण कसैको दास हुन सक्दैन तर उसलाई कुनै पनि वर्णको व्यक्तिलाई दास बनाउन सक्ने अधिकार हुन्छ। शुद्रलाई सबैले दास बनाउन सक्छन् तर शुद्रले अरु कसैलाई दास बनाउन सक्दैन्।
क्रमिक असमानताको सिद्धान्तलाई प्रतिपादन गरेर ब्राह्मणवादले समाजलाई वंशानुगतरूपमा सधैँका लागि असंगठित, असहिष्णु, गैरबराबरी, भातृत्व, समता तथा करुणाको विनाश गरे। समाजलाई पंगु बनाउनका लागि क्रमिक असमानता भन्दा अर्को घृणित तथा खराब काम हुन सक्दैन। क्रमिक असमानताका कारण जातीय दासत्व आजसम्म टिकेको छ।
सवर्ण शिक्षित भए तर बौद्धिक भएन  
वर्णको वंशानुगत प्रक्रियाबाट समाजलाई टुक्रा–टुक्रामा विभाजन गरे। चतुर्वर्णको बौद्धिक प्रणाली आदर्श बन्न सकेन। चतुर्वर्ण प्रणालीभित्रको प्रत्येक परिवर्तन कुटिलपूर्ण थियो। भिक्षुको बौद्ध संघ र ब्राह्णको वैदिक प्रणाली एउटा समान उद्देश्यका लागि बनेको थियो। हरेक समाजमा मान्छेलाई सही दिशानिर्देश गर्नका लागि एउटा विशिष्ट वर्गको निर्माण भएको हुन्छ।  
बुद्धले समाजलाई सही दिशानिर्देश गर्नका लागि एउटा सर्त निर्धारण गरेका थिए जुन बुद्ध भन्दा पहिला र बुद्धपछि आजसम्म कसैले गर्न सकेको छैन्। बुद्धले समाजलाई सही दिशानिर्देश गर्ने व्यक्ति मानसिकरूपमा स्वतन्त्र हुनुपर्छ भन्ने सर्त निर्धारण गरेका थिए। यो ज्याँदै महत्वपूर्ण विचार थियो। मानसिकरूपमा स्वतन्त्र हुनका लागि निजी सम्पत्ति हुुनुहुँदैन्। यदि व्यक्तिसँग निजी सम्पत्तिको दायित्व हुन्छ भने त्यो व्यक्तिले सहीरूपमा समाजलाई नेतृत्व गर्न सक्दैन्।  
यही कारण बुद्धले भिक्षु संघको अचारसंहितामा निजी सम्पत्तिलाई निषेध गरेको थियो। तर ब्राह्मणको वैदिक प्रणालीमा यस्तो प्रकारको कुनै निषेध थिएन। ब्राह्मण निजि सम्पत्ति राख्न स्वतन्त्र थियो। निजी सम्पत्ति निषेधका कारण बौद्ध भिक्षुको वर्ग बौद्धिक भए तर अर्कोतर्फ ब्राह्मणको वर्ग बौद्धिक हुन सकेन। केवल शिक्षितमात्र भए। बौद्धिक वर्ग र शिक्षित वर्गमा ठूलो अन्तर हुन्छ। बौद्धिक मानसिकरूपमा स्वतन्त्र हुन्छ तर शिक्षित मानसिकरूपमा स्वतन्त्र हुँदैन्। शिक्षित आफ्नो वर्ग हितको पक्षपाती हुन्छ। ब्राह्मण सुरुदेखि नै केवल शिक्षित वर्ग छ। उनीहरूसँग बुद्धि छ तर स्वार्थ–प्रेरित छन्। शायद यहि कारण आजसम्म ब्राह्मण समाजमा वाल्टेयरको जन्म हुन सकेन।
क्रमिक असमानता र राष्ट्रियताको (अ) विकास
जसरी कुनै विषयको प्रभाव त्यसलाई प्रयोग गर्नेको मूल उद्देश्यसम्म सीमित हुँदैन त्यही कुरा जातिको विषयमा पनि लागु भयो। ब्राह्मणवाद ब्राह्मणका विरुद्ध गैरब्राह्मणलाई पंगु बनाउन चाहन्थ्यो तर त्यसको प्रभाव राष्ट्रियताको विकासमा सबभन्दा ठूलो हानिकारक सावित भयो। जातिको मूल चरित्र समाज विरोधीका साथसाथै राष्ट्र विरोधी पनि हुन्छ। जातरूपी विषको परिणाम ब्राह्मणवादका विरुद्ध मात्र नभएर विदेशी शक्तिविरुद्ध टाउको उठाउने शक्ति गुमाए। ब्राह्मणवादले क्रमिक असमानतारूपी जाति–व्यवस्थालाई जन्म दिएर राष्ट्रियताको विकासलाई ठूलो क्षति पु¥यायो।
तर जात–व्यवस्थाविरुद्धको विद्रोहको सबै ढोका बन्द भएको छैन्। जात–व्यवस्थालाई सवर्ण सत्ताले नाश गर्न सक्दैन्। कारण यसमा उसको हित जोडिएको छ। यसको अन्त्यका लागि व्यवस्था परिवर्तनको आन्दोलन अम्बेडकरी दृष्टिकोणबाट मूल निवासी विचारधाराका आधारमा बहुजन समाज निर्माणबाट सम्भव छ। जात–व्यवस्थाले निर्माण गरेको गैरबराबरीलाई अन्त्य गर्नका लागि शुद्रको बीचमा बहुजन एकता जरुरी छ। बहुजन एकताको आधार बहुजन हिताय बहुजन सुखाय हुनुपर्छ। जात होइन, जमात निर्माणको रणनीति लिनुपर्छ।  
(अम्बेडकरी तथा बहुजन अध्येता)

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार