'मनु' र महिला स्वतन्त्रता

मनु शुद्रप्रति जति अनुदार थिए, महिलाप्रति पनि उनको विचार त्यति नै अनुदार थियो। उनी महिलाप्रति सदैव हीन विचार र व्यवहार राख्थे। हिन्दु धर्मको मूलशास्त्र मनुस्मृति हो, जसलाई हिन्दुको 'बाइबल' पनि भन्छ। महिलाको सन्दर्भमा मनुले विभिन्न हीन विचार निर्माण गरेका थिए।
यो संसारमा महिलाको स्वभाव पुरुषलाई मोहित गर्नु हो जसले गर्दा बुद्धिमान जन महिलाको बीचमा सुरक्षित हुँदैन् (२.२१३)। महिला यो संसारमा मुर्खलाई मात्र होइन, विद्वान्लाई पनि पथभ्रष्ट गर्न र उसलाई काम, क्रोधको दास बनाउनमा सक्षम पनि हुन्छ (२.२१४)। मनुले महिलाको सृष्टिको समयमा महिलाको शैया, स्थान र आभूषणका लागि प्रेम, वासना, क्रोध, बेइमानी, इर्श्या र दुराचरणयुक्त गरेका छन् (९.१७)। महिलालाई उसको परिवारद्वारा दिन–रात अधिनमा राख्नुपर्छ (९.२)। महिलाको रक्षा वाल्यकालमा पिताले गर्नुपर्छ, युवा अवस्थामा उसको पति, पतिको मृत्युको अवस्थामा उसको पुत्रले उसलाई रक्षा गर्नुपर्छ। महिला कहिले स्वतन्त्र रहन सक्दैनन् (९.३)।
महिलाको रक्षा विशेष गरेर दुष्प्रवृत्तिका लागि गर्नुपर्छ चाहे जति नै नगण्य किन नहोस्। यदि महिलाको रक्षा गर्न सकेन भने दुवै परिवार (पिता र पति) क्लेशको कारण बन्छ। (९.५)। यी केही हीन विचार यहाँ प्रस्तुत गरिएको छ। यस्ता कैयौ हीन विचार मनुद्वारा महिला स्वतन्त्रता, विवाह, सम्पत्ति, शिक्षा र धर्मको विषयमा निर्माण गरिएका छन्। हिन्दु समाजमा आजको महिलाको समस्याको मूल स्रोत मनु नै हो।
विवाहको सन्दर्भमा पति आफ्नो पत्नीको एक एकाइका रूपमा बस्नुपर्छ। यसको अर्थ महिला विवाहित भइसकेपछि कुनै किसिमको विच्छेद हुन सक्दैन्। महिलालाई पूर्णरूपमा नियन्त्रण गरिएको थियो। महिलाको यौनिकता, गतिशीलता, प्रजनन्, सम्पत्ति, शिक्षा आदि सबैलाई नियन्त्रण गरिएको थियो।
मनुभन्दा अगाडिको समयमा महिलाको अवस्था कस्तो थियो त्यस विषयमा चर्चा गरौँ। अथर्व वेदबाट के प्रष्ट हुन्छ भने महिलाको आफ्नो उपनयनको अधिकार थियो। महिला व्रह्मचार्यको अवस्था पूरा गरिसकेपछि विवाहका लागि योग्य हुन्थे। स्रोत सूत्रबाट प्रष्ट हुन्छ कि महिला वेद मन्त्रको अनुपाठ गर्न सक्थे र उनलाई वेदको अध्ययन गर्ने शिक्षा पनि दिइन्थ्यो।
पाणिनिको अष्टाध्यायीबाट प्रमाणित हुन्छ कि महिला गुरुकूल पनि जान्थे र वेदको पनि अध्ययन गर्थे। पतञ्जलिको महाभष्यको कथन छ कि महिला शिक्षित हुन्थे र बालिकालाई वेदको अध्ययन गराइन्थे। धर्म, अध्यात्म आदि कठिन विषयमा पुरुषको साथसाथ महिलाले शास्त्रार्थ गर्ने गरिन्थ्यो। जनक र सुलभ, याज्ञवल्क्य र गार्गी, याज्ञवल्क्य र मैत्रेयी तथा शंकराचार्य र विद्याधरीको बीचमा शास्त्रार्थको घटनाबाट प्रमाणित हुन्छ कि मनुभन्दा अगाडि महिला शिक्षा र ज्ञानको उच्च शिखरमा पुगिसकेका थिए।
मनुभन्दा अगाडि महिलालाई धेरै सम्मान दिइन्थ्यो। प्राचीनकालमा राजाको राज्याभिषेकको समयमा जुन महिलाको विशेष भूमिका हुन्थ्यो त्यसमा रानी पनि हुन्थिन्। राजाले रानीलाई पनि वर प्रदान गर्थे। राज्यभिषेकपछि राजाले आफ्नो शासनाधिकारी पत्नीलाई पनि अभिवादन गर्थे।
कौटिल्यको समयमा महिला १२ वर्षको अवस्थामा र पुरुष १६ वर्षको अवस्थामा वयस्क मानिन्थे। यो उमेरलाई विवाहको समय मानिन्थ्यो। बौद्धायनको गृह सूत्रका अनुसार कन्यावयःसन्धिपछि विवाहयोग्य हुन्थे। कौटिल्यको अर्थशास्त्रअनुसार महिला र पुरुषको बीचमा सम्भोगका लागि कुनै नियम बनाइएको थिएन। कारण विवाहवयःसन्धि पछि हुने गर्थ्यो। विवाह, सम्बन्ध विच्छेद, स्त्री धन आदि विषयमा कौटिल्यको अर्थशास्त्रमा समन्यायको विचार र सिद्धान्त स्थापित भएको थियो।
कौटिल्यले विवाहका सन्दर्भमा एक विवाह प्रथा व्यवस्था गरेका थिए। पुरुष केही विशेष अवस्थामा मात्र दोस्रो विवाह गर्न पाउँथे। जब महिलाले सन्तान जन्म दिन नसकेको खण्डमा मात्र पुरुषले अर्को विवाह गर्न पाउँथ्यो। यदि कोही महिलाले मृत बालकको जन्म दिएमा १० वर्षसम्म प्रतीक्षा गर्नु र छोरीमात्र जन्म दिएका अवस्थामा १२ वर्षसम्म प्रतीक्षा गर्नु भन्ने व्यवस्था उनको अर्थशास्त्रमा गरिएको थियो। मनुको भन्दा फरक कौटिल्यको युगमा महिला आफ्नो पतिका साथ वैर वा घृणाका कारण विवाह विच्छेद गर्न सक्थे।
यसका अलावा कौटिल्यले महिलाको भरणपोषण, विधवाको पुनर्विवाहको सन्दर्भमा महिलाको पक्षमा न्यायसंगत व्यवस्था गरेको देखिन्छ। विवाहित महिलाको आर्थिक स्वाधीनता सुनिश्चित गरिएको थियो। कौटिल्यको अर्थशास्त्रमा पत्नीको स्थायी निधि र उसको भरणपोषण सम्बन्धमा जुन व्यवस्था गरिएको थियो त्यसबाट प्रष्ट हुन्छ कि महिलाको जीवन कौटिल्यको समयमा स्वतन्त्र र न्यायपूर्ण थियो।
महिला मुक्तिका सन्दर्भमा दक्षिण एसियामा बाबासाहेव डा. भीमराव अम्बेडकरको भूमिका महत्वपूर्ण छ तर उहाँको योगदानलाई नारीवादीहरूले सम्झेका देखिँदैन्। अम्बेडकर केवल राजनीतिकर्मी, दलित अधिकारकर्मी, शिक्षाकर्मी, अर्थशास्त्रीमात्र नभएर एक सच्चा नारीवादी पनि थिए। भारत स्वतन्त्रताको पहिलो मन्त्रिपरिषद्मा जब कानुन मन्त्री बने त्यतिबेला हिन्दु कोड बिल ल्याएका थिए। त्यो बिलमार्फत अम्बेडकरले हिन्दु समाजलाई क्रान्तकारी सुधार गर्न चाहेका थिए।
महिलाको तलाक अधिकार, पैत्रिक सम्पत्तिमाथि छोरासरह छोरीको अधिकार, प्रजनन् स्वास्थ्यको अधिकार आदि सचेतरूपमा हिन्दु कोड बिलमार्फत ल्याउन चाहन्थे। महिला र पुरुषबीचको असमानता अन्त्य गर्न अम्बेडकरले एतिहासिक भूमिका निर्वाह गरेका थिए तर दुर्भाग्यवस हिन्दु पुरोहित, भारतीय काँग्रेसका नेता नेहरुलगायतले त्यो बिल पास हुन दिएनन्।
महिला आन्दोलन समानता र सामाजिक न्यायको अन्दोलन हो। मानवताको आन्दोलन हो। तर समसामयिक महिला आन्दोलन सबै महिलाको आन्दोलन हुन सकेको छैन्। महिला आन्दोलनले सबै महिलाको मुद्दा समेट्न सकेको छैन्। महिला विविधता सम्बोधन हुने तहमा महिला आन्दोलन पुग्न सकेको छैन्। महिला आन्दोलनभित्र वर्गीय, जातीय, उचनीच, रंगभेद, क्षेत्रीयता र प्रजातीयताका मुद्दाबीच साझापन विकास हुन सकेको छैन् जसले गर्दा जुनरूपमा महिलाले स्वतन्त्रता, न्याय र समानता पाउनुपर्ने हो पाउन सकेका छैनन्।
महिलाको मुद्दा केवल पितृसत्ता हुँदै होइन्। एक गैरदलित महिला दलित महिलालाई विभेद गर्छिन्। एक आर्य महिला मङ्गोलियन महिलालाई विभेद गर्छन्। एक गोरी महिला काली महिलालाई विभेद गर्छिन्। एक सपाङ्ग महिला अर्की अपाङ्ग महिलालाई विभेद गर्छिन्। यसको मूल कारण पितृसत्ता होइन्। जातिवादी, रंगभेदी, प्रजातीय र क्षेत्रीय चिन्तनले पनि यसमा काम गरेका छन्।
त्यसैले एक छोराको पुरुषत्व निर्माणमा बुबाबाहेक आमाको पनि योगदान छ। त्यस्तै एक छोरीको नारित्व निर्माणमा आमाबाहेक बुबाको पनि योगदान छ। त्यसैले नारीवाद भनेको जैविक नभएर वैचारिक पक्ष हो। महिला पितृसत्तात्मक पनि हुन सक्छन्, पुरुष नारीवादी पनि हुन सक्छन्। नयाँ संसार निर्माणमा समानता र न्यायमा आधारित मूल्य निर्माण गर्न नयाँ पुरुष र नयाँ महिलाको आवश्यकता छ।
http://www.nagariknews.com/news/15713/
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/2929-nagarik-09-mar-2017/2-nagarik-epaper.html


Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

Why Student’s Day Celebrations Don’t Make Sense

वाम एकताको विभ्रम