जाति, विवाह र पितृसत्ता

नेपालमा नारीवादी आन्दोलनलाई झट्ट हेर्दा बलियो र सक्रियजस्तो देखिन्छ । विकासको क्षेत्रमा महिला अधिकार, लैंगिक समानता, नारीवाद, पितृसत्ता आदि जस्ता विषयमा बहस, विचार गोष्ठी, तालिम, विमर्श दिनहुँ चलिरहेको देखिन्छ । यस्ता खालका कार्यक्रमहरू अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पत्रपत्रिका, सञ्चार माध्यममा राम्रै कभरेज छ । तर, यी विकासे बहसहरूमा जाति र पितृसत्ताबीचको अन्तरसम्बन्ध वा दृष्टिकोणबाट बहस भएको देखिँदैन । यो लेखबाट पितृसत्तालाई ब्राह्मणवादी पितृसत्ताको दृष्टिकोणवाट विश्लेषण गर्ने प्रयास गरिएको छ ।
ब्राह्मणवादी पितृसत्ता
ब्राह्मणवादी पितृसत्तालाई बुझ्नका लागि विवाह पद्धतिलाई बुझ्न जरुरी छ । ब्राह्मणवादी पितृसत्ताको अधार स्तम्भ ब्राह्मणवादी विवाह पद्धति हो । पिताले कन्यादानबाट छोरीको विवाह सजातीय पुरुषसँग गरिदिन्छ । ब्राह्मणवादी पितृसत्तामा महिलाको यौनिकताको पुरुष र पुरुषको जाति दुवैले गर्छन्। 
ब्राह्मणवादी धर्म ग्रन्थ जातिभन्दा बाहिर विवाहको अनुमति दिँदैन । जाति र विवाह एउटै सिक्काका दुई पाटा हुन् । जसले रोटी सम्बन्धमा परहेज र बेटी व्यवहारमा बन्देज गर्छ । बेटी व्यवहारमा पाबन्दीको मतलब समाजिक परिधिलाई संकुचित गर्नु हो । जातको चौखटभित्र सामाजिक अन्तरघुलनलाई निषेध गर्छ । सामाजिक परिधिलाई संकुचित गर्नुको तात्पर्य अन्तरजातीय खानपान र अन्तरजातीय विवाह सम्बन्धमा धार्मिक प्रभाव रहेको ब्राह्मणवादी पितृसत्तालाई वैधानिकता प्रदान गर्नु हो।
जैक डोरसे ट्विटरको सिइओ छन् । १८ नोभेम्बर २०१८ मा भारत भ्रमणको क्रममा महिला पत्रकार र सामाजिक कार्यकर्तासँग बैठक थियो । उक्त बैठकबाट ट्विटरको प्रयोगको अनुभवको बारेमा जान्न चाहन्थे । त्यो बैठकमा दलित सामाजिक कार्यकर्ताले उनलाई एउटा पोस्टर दिए, जसमा लेखिएको थियो, ‘ब्राह्मणवादी पितृसत्तामाथि प्रहार गरौँ ।’ ट्विटरमा त्यो फोटो भाइरल भयो । सवर्णले त्यो फोटोमाथि आक्रोशपूर्ण कमेन्ट्स गरे।
तर, त्यो कुनै नौलो विषय थिएन । इतिहासको विभिन्न कालखण्डमा सवर्णबाट यस्ता किसिमको कन्ट्रोभर्सियल घटना भएका छन् । यस्ता खालको विरोध कैथरिन मेयोको किताब मदर इन्डिया, पेरियारको किताब ‘रामायण : द ट्रु रिडिङ’को हिन्दी अनुवाद १९७० को दशकमा ललइसिंह यादवद्वारा प्रकाशित ‘सच्ची रामायण’ र काँचा इलैया हिन्दुमुक्त भारतमाथि सवर्णले गर्दै आइरहेका छन्। 
यी किताबहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्राह्मणवादी पाखण्डको पोल खोलिदिएका छन् । यी किताबमा ब्राह्मणवादी पितृसत्तालाई खुलमखुल्ला चुनौती दिन्छ । यस्ता खालका किताबको विरोध त्यो बेला पनि भएको थियो र आज पनि भइरहेको छ।
जाति शुद्धता र यौनिकता
ब्राह्मणवादी पितृसत्ताको मूल चरित्र रोटीबेटी सम्बन्धमा छ । जाति शुद्धता र यौनिकताको विचार रोटीबेटी सम्बन्धको बुनियादमा निर्माण हुन्छ । जाति शुद्धताको गारेन्टी त्यतिबेला मात्र सम्भव हुन्छ जतिबेला महिलाको विवाह आ–आफ्नो जातिभित्र हुन्छ । अर्थात् महिलाको यौनिकतामाथि पूर्ण नियन्त्रण र आ–आफ्नो जातिको महिलाको जीवनमाथि नियन्त्रण कायम गर्नु र उक्त नियन्त्रणलाई पवित्र कर्तव्यका रूपमा घोषणा गर्नु हो । 
यो कुराको उल्लेख अम्बेडकरले १९१६ मा कोलम्बिया विश्वविद्यालयमा आफ्नो शोधपत्रमा गरेका थिए । अम्बेडकरको अनुसार जाति व्यवस्थाको प्राण सजातीय विवाहमा छ । सजातीय विवाहमा महिलाको यौनिकतामाथि पतिको नियन्त्रणको साथै पूरै जातिको पनि नियन्त्रण कायम हुन्छ । यसैलाई ब्राह्मणवादी पितृसत्ता भनिन्छ । जाति शुद्धता महिलाको यौनिकतासँग जोडिएको छ।
जाति र पितृसत्ताबीचको सम्बन्ध
जाति र पितृसत्ताको बीचमा के सम्बन्ध छ भन्ने विषयमा समाजशास्त्री÷मानवशास्त्रीले आमजनले बुझ्ने भाषामा उपलब्ध गराउन सकेका छैन । यो गहन विषयलाई आधुनिक समयमा फुले दम्पती–जोती राव फुले र सावित्री वाइफुलेले पहिचान ग¥यो । 
जाति व्यवस्थाको दृष्टिकोणबाट महिलाको स्थितिलाई व्याख्या गर्न सवर्ण बौद्धिक वा सवर्ण नारीवादीले गर्न सकेको छैन । दलित बहुजन चिन्तक, समाज सुधारकले अनुभूत ज्ञानको खोजबाट महिलाको पराधीनता र जातिको बीचको गठबन्धनलाई स्पष्ट रूपमा बाहिर ल्याउन सफल भएको छ । 
जोति राव फूलेले शुद्र, अतिशुद्र र महिलाको स्थितिलाई ब्राह्मणी पितृसत्ताको सामाजिक ढाँचाबाट विश्लेषण गरे । फुलेले जाति र महिला एउटै सिक्काको दुइटा पाटाको रूपमा व्याख्या गरे । दुवैलाई सामाजिक आन्दोलन तथा संघर्षको निशाना बनाए । फुलेले हिन्दु समाज व्यवस्थालाई समग्रतामा बुझे र सामाजिक सुधारको बाटो तय गरे । भौतिक स्रोत, ज्ञान र जेन्डरलाई अन्तरसम्बन्धका रूपमा व्याख्या गरे। जसका कारण गेल ओमवेटले फुलेलाई जातिको पहिलो ऐतिहासिक भौतिक सिद्धान्तकारको श्रेय दिए।
फुलेपछि पेरियार दोस्रो दलित बहुजन चिन्तक थियो जसले महिला र जातिबीचको सम्बन्धलाई बुझेका थिए । पेरियारले पुरुष वर्चश्ववादी मूल्यको कटु आलोचक थिए । ब्राह्मणवादले जसरी दलित बहुजनलाई शुद्रता वा निम्नताको स्थितिमा राख्यो, त्यसरी नै विवाहको माध्यमबाट महिलालाई दास बनायो । कन्यादानको माध्यमबाट महिलालाई पुरुषको भौतिक सम्पत्ति बनाए।
समाधान
ब्राह्मणवादी पितृसत्ताको बुनियादी सर्त जन्मदेखि मृत्युसम्म महिलालाई पुरुष र जातिको अधीनमा राख्नु हो । ब्राह्मणवादी पितृसत्तालाई नाश गर्नका लागि पूmले, पेरियार र डा अम्बेडकरले ब्राह्मणवादी विवाह पद्धतिलाई खारेज गरे । फुलेको सत्यशोधक विवाह पद्धति, पेरियारको आत्मभिमान विवाह पद्धति र अम्बेडकरको हिन्दु कोड बिलमा नयाँ ढंगबाट विवाह पद्धतिको प्रावधानलाई समावेश गरेको थियो । यी तिनटै विवाह पद्धति आज पनि विभिन्न समुदायमा लागू छन्।
सत्यशोधक विवाह पद्धति
जोति राव फुलेले २४ सेप्टेम्बर १८७३ सत्यशोधक समाजको गठन गरे । सत्यशोधक समाजले सत्यशोधक विवाह पद्धतिको सुरुवात गरे । यो विवाह पद्धतिमा महिला र पुरुष जीवनको सबै क्षेत्रमा समान हुन्छ । अधिकार र कर्तव्यमा पनि समानता हुन्छ । कुनै पनि सवालमा वा कुनै पनि तरिकाले महिला पुरुषभन्दा दोस्रो दर्जा हुँदैन । महिला कुनै हिसाबले पुरुषको अधीन हुँदैन । महिला पुरुष जत्तिकै स्वतन्त्र हुन्छ । फुले भन्छ, महिला र पुरुष दुवै मानव अधिकारको समान उपभोग गर्ने अधिकार राख्छ। 
फुले पुरुष र महिलाका लागि अलग–अलग नियमको विरोधी थिए । महिला आफैँमा सम्पूर्ण मानव हुन् र सम्पूर्ण मानव अधिकार प्रयोग गर्नुपर्छ । ब्राह्मणवादी पितृसत्तामा कन्यादान हुन्छ तर सत्यशोधक विवाह पद्धतिमा महिलाको अनुमतिविना विवाह हुन सक्दैन । महिला र पुरुष सहमतिमा मात्रै विवाह हुन्छ । विवाहमा ब्राह्मणवादी मन्त्र उच्चारण हुँदैन। फुलेले संस्कृत मन्त्रको सट्टा मराठीमा मन्त्र निर्माण गरे । त्यो मन्त्र समानतामा आधारित थियो । यसमा बिचौलिया पुरोहितको कुनै स्थान हुँदैन।
आत्मभिमान विवाह पद्धति
रमासामी पेरियार ब्राह्मणवादको विनाश र शुद्र, अति–शुद्र, महिला तथा द्रबिड समाजको सम्मानका लागि आत्मसम्मान आन्दोलन चलाएको थियो । आन्दोलनको बीचबाट आत्मसम्मान विवाह पद्धतिको सुरुवात गरेको गरे जसलाई आत्मभिमान नाम दिएको थियो ।
आत्मभिमान विवाह पद्धति अवधारणाको विकास १९२९ मा गरेको थियो । ब्राह्मणवादी पितृसत्ताको विरुद्धमा आत्मभिमान विवाह पद्धति मास्टर स्ट्रोक थियो । यस विवाह पद्धतिमा जाति, वर्ग र धर्मको स्थान थिएन । पुरोहितको पनि कनै स्थान थिएन।
विवाहमा केवल केटा र केटीबीचको सहमति प्रमुख पक्ष हुन्थ्यो । अभिभावक अनुमति अनिवार्य थिएन । विवाह सधैंका लागि पवित्र बन्धन न भई दुई एडल्ट बीचको सम्झौता थियो । जसलाई दुईमध्ये कोही एउटाले कुनै पनि समय समाप्त गर्न सक्थ्यो। विवाह कुनै ईश्वरद्वारा नभई, दुई पक्षको परस्पर सहमति तथा सम्झौताबाट हुन्थ्यो । महिला र पुरुषबीचमा समानता थियो । आज पनि यो विवाह पद्धति कायम छ।
हिन्दु कोड बिल र विवाह पद्धति
डा. अम्बेडकरले हिन्दु कोड बिल (५ फब्रुअरी १९५१) मा ब्राह्मणवादी विवाह पद्धतिलाई कानुनी रूपमा खारेज गर्ने प्रस्ताव संसद्मा पेस गरे। उक्त बिलमा कुनै पनि बालिग महिला वा पुरुष अभिभावकको सहमतिविना विवाह गर्न सक्थ्यो । बिलमा महिला र पुरुषलाई समान स्थान दिएको थियो । विवाह जन्मभरिको बन्धन मानेको थिएन । तलाकको प्रावधान थियो । विवाहमा जातिको कुनै भूमिका थिएन। कानुनतः कुनै पनि जातको केटा कुनै पनि जातको केटीसँग विवाह गर्न पाउने व्यवस्था थियो । विवाह दुई बालिग बीचको निजी मामला थियो । बिलमा महिलालाई पैतृक सम्पत्तिमा पनि अधिकार थियो । तर, दुर्भाग्यवश ब्राह्मणवादी शक्ति हिन्दु कोड बिललाई पास हुन दिएन । हिन्दु समाज सुधारको ऐतिहासिक अवसरबाट भारत वञ्चित भए । अम्बेडकरले कानुन मन्त्रीबाट राजीनामा दिए।
मान्छेको मन–मस्तिष्कलाई शास्त्रको प्रभावबाट मुक्त गर्नुपर्छ । सवर्ण शास्त्रअनुसार महिलाको कुनै जात हुँदैन। महिला जोसँग विवाह गर्छ, उसैको जात हुन्छ। यही विन्दुमा दलित बहुजन र महिला आन्दोलनको मिलन विन्दु प्राप्त हुन्छ। साँचो अर्थमा महिला मुक्ति भनेको ब्राह्मणवादी पितृसत्ताबाट मुक्तिका साथसाथै जात÷वर्णव्यवस्थाबाट पनि मुक्तिको प्रश्न हो । शास्त्रअनुसार महिला शुद्र हो। पितृसत्ताको प्राण ब्राह्मण सत्तामा छ।

Comments

Popular posts from this blog

चम्चा युग

तीज

Why Student’s Day Celebrations Don’t Make Sense