जातव्यवस्था नदेख्ने राजनीति

आइतबार, २९ असोज २०७४, ०९ : १४ | राजकिशोर रजक नेपालमा हुँदै आएका राजनीतिक परिवर्तनले यहाँका विशिष्ट सामाजिक मुद्दालाई पक्रन सकेका छैनन् । मुख्य राजनीतिक परिवर्तनको ऐतिहासिक विकासक्रम राणाशासन, संवैधानिक राजतन्त्र, पञ्चायत, फेरि संवैधानिक राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा केवल राजनीतिक परिवर्तन भए । यी राजनीतिक परिवर्तनले सामाजिक सुधारको मुद्दालाई सम्बोधन गर्न सकेका छैनन् । त्यसैले नेपालको सामाजिक बनौट र मनोविज्ञानमा खासै परिवर्तन ल्याउन सकेको पाइँदैन ।सामाजिक सुधारको बाटो राजनीतिक सुधारभन्दा चुनौतीपूर्ण छ । सामाजिक सुधारको मार्ग स्वर्गको मार्ग समान भए पनि ज्यादै कठिन हो । सामाजिक सुधारको बाटोमा मित्रभन्दा आलोचक र शत्रु बढी हुन्छन् । एउटा समयमा सामाजिक कुशलताविना अरू कार्यक्षेत्रमा प्रगति असम्भव थियो, तर आज सबथोक नियन्त्रण गर्ने राजनीति सामाजिक समस्याबाट कोसौँ टाढा छ । नेपाली राजनीति यहाँको समाजसँग जोडिएको छैन । कुप्रथाको कारण फैलिएको अन्धविश्वास र संस्कारले हिन्दू समाजको कार्यकुशलतालाई समाप्त पारिसकेको छ । यस्तो अवस्थामा सामाजिक सुधारको कार...